काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारमाथि ठगी हुने क्रम मासिक रुपमै बढ्दै गएको छ। सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर कम्पनी र तिनका प्रतिनिधि एजेन्टलाई निगरानी गरे पनि विदेशिने कामदार ठगिने क्रम बढ्दो छ।
दैनिक उजुरी लिएर वैदेशिक रोजगार विभागमा पुग्ने रोजगारपीडित ५ देखि १० जनासम्म हुने गरेका छन्। विभागमा चालू आर्थिक वर्ष सुरु भएको १० महिनामा व्यक्तिगत र संस्थागत गरी कुल १ हजार ७ सय ८७ उजुरी परेका छन्। विभागमा मासिक रुपमा उजुरी गर्ने पीडितको संख्या बढ्दै गए पनि ठगीमा संग्लन दोषीलाई कानुनी दायरामा ल्याई उजुरी परेअनुसार कारबाही गर्न सकिएको देखिँदैन।
विभागमा उजुरी दर्ता भएमध्ये १० महिनाको अवधिमा आधाको मात्र सुनुवाइ भएको विभागकै तंथ्याकले बताउँछ। विभागले यो अवधिमा दुवैतर्फ ९ सय १७ वटा मुद्दा मात्र फरफारक गरेको छ। विभागको पछिल्लो तंथ्याक अनुसार व्यक्तिगततर्फ जम्मा ८ सय ८९ वटा उजुरी परेका छन्। जसमा १ सय ६५ वटा उजुरीको मात्र फरफारक भएको छ। व्यक्तिगततर्फ पनि विभागमा उजुरी पर्ने क्रम निरन्तर बढेको छ। व्यक्तिगततर्फ थोरै मात्र उजुरीको फरफारक हुने गरेको देखिन्छ।
विभागको पछिल्लो तंथ्याकलाई हेर्दा वैदेशिक रोजगारीमा जाने कामदार व्यक्तिगत दलालबाटै बढी ठगिने गरेको विभागाको उजुरी शाखाले जानकारी दिएको छ। गएका १० महिनामा संस्थागत ८ सय ८९ वटा उजुरी परेका छन्। जसमा संस्थागतभन्दा व्यक्तिगत उजुरी बढी देखिन्छ।
त्यसैगरी व्यक्तिगत र संस्थागत गरी विभागमा उजुरी दाबी रकम ८३ करोड ४० लाख ७ हजार रहेको छ। विभागले १६ करोड ९३ लाख ५ हजार २ सय रुपैयाँ बिगो भराएको छ। वैदेशिक ठगी गर्ने व्यक्तिगत तथा संस्थागत गरी १ सय ७४ वटा उजुरी आदालतमा दायर भएका छन्। अदालतमा दायर भएका मुद्दा भने व्यक्तिगत तर्फका मात्र उजुरी रहेका छन्।
संस्थागत तर्फका मुद्दा विभागमै फरफारक गरिन्छ। त्यस्ता मुद्दा कम मात्र अदालत पुग्ने गरेका छन्।
गएको १० महिनामा जम्मा ९ सय १७ उजुरी मिलापत्र गराउँदा संस्थागततर्फ ७ सय ५२ उजुरी मात्र फरफारक गरिएको विभागको तंथ्याकमा उल्लेख छ। अदालतमा बिगो दाबी रकम भने २६ करोड ९२ लाख ९५ हजार २ सय रुपैयाँसहित मुद्दा दर्ता गराएको पाइन्छ। चालु आर्थिक वर्ष सुरु भएको १० महिनामा विभागले २५ लाख ५० रुपैयाँ जरिवाना पीडितलाई भराएको जनाइएको छ।
युवालाई प्रलोभनमा पारी ठगी धन्दा
विभागमा वैदेशिक रोजगारी पीडितका उजुरी सुनुवाइका लागि प्रत्येक बुधबार सार्वजनिक छलफल हुने गरेको छ। तर यसमा व्यवसायी हाबी हुने गरेको पीडितले गुनासो गर्दै आएका छन्।
मलेसिया, खाडी तथा अन्य मुलुकमा अशिक्षित व्यक्ति जाने भएका कारण पनि ठगीको धन्दा मैलाइरहेको सरोकारवालाको भनाइ छ। नेपालबाट काम गर्न जाने प्रायः अशिक्षित कामदारलाई एजेन्ट र म्यानपावर कम्पनीले रोजगारको प्रलोभनमा पारेर फसाउन गरेका छन्।
विभागमा तंथ्याक अनुसार ४० प्रतिशतभन्दा बढी पीडितको उजुरी सुनुवाइ नै हुँदैन।
वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवराज रिजाल भने व्यवसायी र तिनका एजेन्टलाई कडा कारबाही गर्न सरकार प्रतिबद्ध भएर लागिपरेको बताउँछन्। सरकारले ठगी धन्दा चलाउने दलाललाई पक्राउ गर्दै आए पनि विभिन्न प्रलोभनमा परी कामदार ठगिने घटना भइरहेको उनले स्विकारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।