नेपालगञ्ज– साविक विजेता रुपन्देही–११ तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको हो। प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीले नेपालगञ्जलाई सुुरुदेखि नै दबाबमा राखेको थियो। खेलको १५ मिनेटमा फोनाको गोलले रुपन्देहीले अग्रता लिएको थियो। एक मिनेटको अन्तरमा २१ र २२ मिनेटमा स्याला र ग्लोरी जोनले एक÷एक गोल थपेपछि रुपन्देही पहिलो हाफमा ३–० को अवस्थामा पुगेको थियो।
घरेलु दर्शकको साथ पाएको नेपालगञ्जले मध्यान्तरपछि भने आक्रमक खेल प्रस्तुत गर्यो। दोस्रो हाफको सुरुवातमै नेपालगञ्जका कर्ण लिम्बुले गोल गरेर टिमको लागि पहिलो गोल गरे। त्यसको लगत्तै नेपालगञ्जका किपर प्रितम खड्काले रुपन्देहीका ग्लोरीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिए। उक्त अवसरलाई रुपन्देहीका जनक कार्कीले गोलमा परिणत गरेका थिए।
३ गोलले पछि परेको अवस्थामा नेपालगञ्ज थप आक्रमणको प्रयासमा थियो। जसअनुरुप नेपालगञ्जका विभुषण केसीले सुन्दर गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याईपुर्याए। नेपालको राष्ट्रिय टीमबाट खेलिसकेका कर्ण लिम्बुलाई खेलाएको नेपालगञ्जले केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुनपुग्यो।
प्रतियोगिताअन्तर्गत आज दोस्रो सेमिफाइनलमा सीएमजी संकटा क्लव र सुदूरपश्चिम–११ भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।