बट्टार– थ्रिस्टार क्लब नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइलनमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा ललितपुरको थ्रिस्टार क्लबले घरेलु नुवाकोटलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्यो।
खेलको ८औं मिनेटमा नुवाकोटले गोल गर्दै अग्रता कायम गरेको थियो। नुवाकोटका लागि दिपेश श्रेष्ठले गोल गरेका थिए।
तर, खेलको ३८औं मिनेटमा थ्रिस्टारका अजय मार्टिनले गोल गर्दै खेल बराबरीमा ल्याए। मार्टिनले खेलको ४३औं मिनेटमा गरेको गोलले थ्रिस्टारले अग्रता लियो। ९२औं मिनेटमा विजय धिमालले थ्रिस्टारका लागि तेस्रो गोल गरे। थ्रिस्टार त्यतिमै सीमित रहेन उसका लागि अन्तिम समयमा निराजन खड्काले अर्को गोल थपे।
खेलको म्यान अफ दि म्याच थ्रिस्टारका अजय मार्टिन घोषित भए। उनलाई साकुरा नेपालका तर्फबाट १० हजार रुपैयाँ प्रदान गरियो। फाइनलमा थ्रिस्टारले पोखरा र नेपाल पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख र दोस्रो हुनेले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।