हिजोआज पनि उत्तीकै चर्चामा छन् प्रमोद खरेल। बजारमा आइरहेकै थिए उनका गीत। तथापि, पछिल्लो समय सुरभन्दा बढी ‘टुर’मा व्यस्त भएजस्तो लाग्थ्यो उनी।
स्टेज कार्यक्रमका लागि उनी देशविदेश घुमिरहन्छन्। स्टेज कार्यक्रममा व्यस्त गायक खरेल गीत पनि त्यसैका लागि उपर्युक्त हुने छानिरहेका थिए सायद। अर्थात् उनी पछिल्लो समय बजारलाई पछ्याउँदै ‘डान्सिङ’ गीतहरु नै बढी गाइरहेका थिए।
‘भर्सटायल’ स्वर हुनुको लाभ मिलेको पनि छ उनलाई। त्यसैले त्यस्ता खालका गीत पनि चर्चित नभएका होइनन्। तर, ‘म बिना कसै–कसैलाई’, ‘याद गर्न पनि’जस्ता गीतबाट बढी प्रभावित भएकाहरु उनका ती गीतबाट उतिसारो खुसी थिएनन्। चर्चाकै फेरोमा घुमिरहँदा गायक खरेललाई पनि त्यो महशुस भयो कि!
त्यही महशुस दिलाउने नयाँ गीत ‘पृथ्वी’ बजारमा आएको छ। पृथ्वी गोलो भएकाेले पनि हाेला, उनी घुम्दै पुरानो गायकीका फ्यानलाई खुसी तुल्याउन संगीतको आफ्नै ‘जमिन’मा फर्केका छन्। यस गीतबाट उनले पुनः श्रोेतामाझ आफ्नो सर्वप्रिय गायकी पस्किने प्रयास गरेका छन्।
त्यसकारण, प्रमोद खरेलको मन छुने मेलोडीका पारखीका लागि ‘पृथ्वी’ प्रिय गीत बन्न सक्छ।
अरुकै शब्द र संगीतमा गाईरहँदा सँधै आफूलाई सन्तुष्टि मिल्ने गरी गाउन पाउने सुविधा न्युन रहन्छ। तर यसमा आफ्नै रचना र संगीत यसैको उपज हुन सक्छ।
आँखा चिम्लेर गीतको गर्भमा पुग्नेहरुका लागि अचेल कमै गाइन्छन्। गीत पनि हेर्ने जमाना जो छ। गीतको लोकप्रियता मापन गर्ने कसी पनि ‘युट्युब भ्युज’ भएको छ। यो सुखद कुरा होइन तर सर्जक यसैमा रमाइरहेका छन्।
‘पृथ्वी’को पनि सुन्दर म्युजिक भिडियो बनेको छ। भिडियोका निर्देशक सुव्रतराज आचार्यका केही ‘टिटबिट्स’हरुले एक हदसम्म शब्दको गहिराई महशुस गराउँछन्। भिडियो कथाको ‘कन्सेप्ट’ अनुसार अभिनयमा सारा सिरपाइली र फिरोज तिमिल्सिना फिट छन्।
तर, यो हेर्ने गीत होइन। यो गीतका बारेमा पहिलोपल्ट जानकारी पाइएको हो भने म्युजिक भिडियो हेर्नुअघि गीत मात्रै सुन्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।