काठमाडौं- विश्वमा सन् १९९० को दशकमा शीतयुद्ध अन्त्य भयो। युएसएसआर विघटन भएसँगै अन्त्य भएको शीत युद्धताका विश्वमा शक्तिका लागि विभिन्न राष्ट्रबीच हतियारको होडबाजी नै चल्यो। अहिले पनि त्यो समयको प्रतिस्पर्धाले निरन्तरता पाएको छ र सन् २०१७ मा शीत युद्ध यताकै ठूलो धनराशी रक्षा बजेटका लागि विश्वका ३ राष्ट्रले छुट्याए।
स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय रक्षा बजेट १ दशमलव १ प्रतिशतले बढ्दै १ दशमलब ७३ ट्रिलियन अमेरिकी डलर पुग्यो।
सार्वजनिक गरिएको सूचीको पहिलो स्थानमा ६१० अर्ब अमेरिकी डलर सैन्य बजेटसहित अमेरिका छ र अमेरिकाले आफ्नो स्थान अघिल्ला वर्षहरु जस्तै यथावत राखेको छ। अझ यो वर्ष पनि अमेरिकाले आफ्नो रक्षा बजेट बढाउने आँकलन गरिएको छ।
दोस्रो स्थानमा २२८ अर्ब अमेरिकी डलरसहित चीन छ। अन्तर्राष्ट्रिय रक्षा थिंक ट्यांकका रुपमा रहेको उक्त संस्थाले चीनले सन् २००८ यता आफ्नो रक्षा बजेट १३ प्रतिशतले बढाइसकेको उल्लेख गरेको छ।
सैन्य र रक्षा बजेटको आधारमा सन् २०१७ मा साउदी अरेबिया रसियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। साउदी अरेबियाले सन् २०१७ मा ६९ दशमलव ४ अर्ब अमेरिकी डलर रक्षा र सैन्य क्षेत्रमा खर्च गरेको छ।
यता, रसियाले भने आफ्नो सैन्य र रक्षा खर्च २० प्रतिशतले घटाएको छ। सन् १९९८ यताको पहिलो कटौती पछि रसियाको रक्षा बजेट ६६ दशमलब ३ अर्ब अमेरिकी डलर पुगेको छ। स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले घट्दै गएको तेलको मूल्यका कारण रसियाको रक्षा बजेट घटेको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
गत वर्ष भारतले पनि फ्रान्सलाई पन्छाउँदै पाँचौं स्थान ओगटेको छ। भारतले सन् २०१७ मा ६४ अर्ब अमेरिकी डलर रक्षा बजेट छुट्याएको छ।
सन् २०१७ मा फ्रान्सको रक्षा बजेट भने ५७ दशमलब ८ अर्ब अमेरिकी डलर, बेलायतको ४७ दशमलब २ अर्ब डलर, जापानको ४५ दशमलब ४ अर्ब डलर, जर्मनीको ४४ दशमलब ३ अर्ब डलर र दक्षिण कोरियाको ३९ दशमलब २ अर्ब डलर छ।
सन् २०१७ मा नेटोमा आबद्ध रहेका राष्ट्रहरुले ९ सय अर्ब अमेरिकी डलर सैन्य खर्चको रुपमा छुट्याएका छन्, जुन विश्वको रक्षा बजेटको ५२ प्रतिशत भएको स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले जनाएको छ।
सैन्य शक्तिको आधारमा शक्तिशाली मानिएका राष्ट्रहरु
सैन्य शक्तिका आधारमा विभिन्न देशको वर्गीकरण गर्दै आएको ग्लोबल फायर पावरले सन् २०१८ को वर्गीकरण पनि सार्वजनिक गरेको छ। विभिन्न ५५ आधारलाई मध्यनजर गर्दै वर्गीकरण गरिएका विभिन्न १ सय ३६ राष्ट्रमध्ये सबैभन्दा शक्तिशाली संयुक्त राज्य अमेरिका छ।
सन् २०१८ को सूचीमा दोस्रो स्थानमा रसिया छ भने तेस्रो स्थानमा चीन, चौथोमा भारत र पाँचौंमा युरोपको सैन्य र शक्ति केन्द्र मानिएको फ्रान्स छ। पहिलो ५ स्थानमा रहेका राष्ट्रहरुको सूचीमा केही परिवर्तन भएको छैन तर त्यसपछिका ५ अर्थात् नम्बर ६ देखि १० सम्म भने यो वर्ष परिवर्तन देखिएको छ।
यो वर्षको वर्गीकरणमा बेलायत छैठौं स्थानमा उक्लिएको छ भने सातौं स्थानमा दक्षिण कोरिया आएको छ। यो वर्षको वर्गीकरणमा ओरालो लागेका जापान आठौं, टर्की नवौं र जर्मनी दसौं स्थानमा छन्।
इटाली भने ११औं स्थानमा यथावत छ। मध्यपूर्वको सैन्य शक्ति केन्द्र मानिएको इजिप्ट ओरालो लाग्दै १२औं स्थानमा पुगेको छ भने सूचीको १३औं स्थानमा इरान उक्लिएको छ। इरानलाई पछ्याउँदै ब्राजिल १४औं स्थानमा उक्लिएको छ भने १५औं स्थानमा इन्डोनेसिया, १६औं मा इजरायल, १७औं मा पाकिस्तान क्रमशः सूचीमा घट्दो क्रममा छन्।
सन् २०१७ मा विभिन्न आणविक परीक्षण गरी सफलता हासिल गरेको उत्तर कोरिया सूचीको १८औं स्थानमा उक्लिएको छ। स्पेनले पनि आफ्नो सामर्थ्य बढाउँदै १९औं स्थानमा पुगेको छ। यो वर्ष भियतनाम भने २०औं स्थानमा झरेको छ।
सार्कमा सम्मिलित राष्ट्रहरुको वर्गीकरण गर्ने हो भने पहिलो स्थानमा भारत आउँछ। १ सय ३६ राष्ट्रको नाम उल्लेखित सूचीमा भारत चौंथो स्थानमा आउँछ भने सार्क क्षेत्रमै दोस्रो नम्बरमा आउने पाकिस्तान सूचीको १७औं स्थानमा छ।
सार्क क्षेत्रमै तेस्रो स्थानमा रहेको बंगलादेश समग्रमा ५६औं स्थानमा छ भने सार्कमा चौंथो स्थानमा रहेको अफगानिस्तान समग्रमा ७१औं स्थानमा छ। सार्क क्षेत्रको पाँचौं सैन्य शक्तिशाली राष्ट्रका रुपमा रहेको श्रीलंका सूचीको ८९औं स्थानमा छ। सार्कको छैठौं शक्तिशाली राष्ट्रमा दरिएको नेपाल समग्रमा १०१औं स्थानमा छ। नेपालपछि सार्क राष्ट्रको ७औं शक्तिशाली राष्ट्र भुटान सूचीको अन्तिम अर्थात् १३६औं स्थानमा छ। सूचीमा माल्दिभ्सको नाम भने सम्मिलित गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।