चार वर्ष अघि मलेसियाको क्वालालम्पुरबाट बेइजिङको लागि २ सय ३९ यात्रु लिएर उडेको मलेसियन एयरलाइन्सको ‘एमएच ३७०’ विमान हराएको चार वर्ष बितिसक्दा पनि हालसम्म यसको अवस्थाबारे केही थाहा हुन सकेको छैन।
विभिन्न राष्ट्र सम्मिलित संयुक्त खोजीकार्य गत वर्ष नै सकिए पनि एक निजी कम्पनी, ओसियन इन्फिनिटीले भने यसको खोजीकार्य जारी राखेको थियो। तर मंगलबारदेखि यसले पनि आफ्नो खोजी अभियानलाई पूर्णविराम लगाइदिएको छ।
हिन्द महासागरको दक्षिण क्षेत्रमा जारी रहेको उक्त खोजीकार्यले केही पनि पत्ता लगाउन सकेन। उता आफन्तहरु अझै पनि विमानको खोजीकार्य सञ्चालनमा रहिरहोस् भन्ने चाहन्छन्।
‘मानिसहरुले अझै पनि सोच्छन् होला, किन यो कुरालाई सुगा रटाई बनाइरहनु पर्यो? चार वर्ष बितिसकेको छ। तर मानिसहरुले यो कुरा बुझ्नु जरुरी छ कि ‘एम एच ३७०’ हराएको घटना इतिहास होइन, जो भुल्दै जान मिलोस्।’, ८ मार्च २०१४ देखि हराइरहेको विमानमा सवार ग्रेस नाथानकी आमाले दि गार्जियनलाई भनिन्।
अहिलेसम्मको घटनाक्रम
८ मार्च २०१४ : मलेसियन एयरलाइन्सको ‘एमएच ३७०’ क्वालालम्पुरबाट बेइजिङको लागि उड्यो। उडान भरेको एक घण्टापछि विमानसँगको सम्पर्क टुट्यो। न त पाइलटले केही गडबढीको जानकारी गराए न त कुनै सिग्नल नै पठाए। विमान हराएको दिनदेखि नै विमानको खोजीकार्य ‘साउथ चाइना सी’मा सुरु भयो।
१५ मार्च २०१५ : विमान दक्षिणतर्फ गएको देखिएपछि खोजीकार्य हिन्द महासागरको दक्षिणतर्फ मोडियो।
जुलाइ २०१५ : मादागास्करस्थित हिन्द महासागरको पूर्वतर्फ रहेको रियुनियन टापुमा विमानका केही भग्नावशेष फेला परे। खोजी झन् तीव्र बनाइयो।
जनवरी २०१७ : अष्ट्रेलिया, मलेसिया र चीनले अन्तिम पटक विमान देखिएको भनिएको ठाउँमा आफुले गरिरहेको खोजीकार्य रोक्ने घोषणा गरे। उनीहरुले त्यस क्षेत्रमा केही पनि फेला नपारेकोले खोजी कार्य रोक्न लागेको स्पष्ट पारे।
जनवरी २०१८ : विमानमा सवार यात्रुका आफन्तको दबाबमा मलेसिया सरकारले अमेरिकी कम्पनी ‘ओसियन इन्फिनिटी’सँग खोजीकार्यलाई पुनः सुचारु गर्ने सहमति गर्यो। उक्त कम्पनीले विमानको अवशेष फेला पारेमा मात्रै ७० मिलियन अमेरिकी डलर पुरस्कार स्वरुप दिने नभए खोजीको लागि पैसा नदिने मलेसियाली सरकारसँग गरिएको सहमतिमा उल्लेख छ।
मे २०१८ : प्रतिकुल मौसमका कारण खोजी गर्न कठिनाई उत्पन्न भएपछि ओसियन इन्फिनिटीले खोजीकार्य अन्त्यको घोषणा गर्यो। साथै मलेसियाले पनि अब यसलाई निरन्तरता नदिने प्रष्ट पार्यो।
तर विमानको अवस्थाबारे जवाफ कोहीसँग पनि छैन। विमानको भग्नावशेष वा यसका थप टुक्राले विमानबारे जानकारी दिन सक्नेमा विज्ञहरु अझै पनि आशावादी छन् तर विमानको अन्तिम समयको अवस्थाबारे निकै कम जानकारी भएका कारण खोजीकार्य र विमानको अवस्थाबारे केही टिप्पणी गर्नु निकै कठिन भएको छ।
विमान अन्तिम समयसम्म पनि पाइलटको नियन्त्रणमा थियो वा समुद्रमा खस्यो भन्नेबारेमा थारै मात्र पनि जानकारी, खोजी एवम् विश्लेषणमा संलग्न कुनै पनि देशसँग छैन।
विमानको खोजीकार्य जारी रहँदा चालकले विमान जानाजान समुद्रमा खसाएको दावी गरिदैं आएको थियो। तर पनि अष्ट्रेलियाली खोजी एवम् अनुसन्धानकर्ताले भने उक्त दावीको खण्डन गर्दै विमान हराउनुअघि चालक पनि होसमा नरहेको दावी गरेका छन्।
यसका अलावा प्राविधिक गडबढीका कारण पनि विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भएपनि यसलाई प्रमाणित गर्ने कुनै ‘थ्योरी’ नरहेकाले यसबारे धेरै दावी र छलफल गरिएको छैन।
खोजी अन्त्यको घोषणा पछि अब के हुन्छ?
मलेसियाली यातायात मन्त्री एन्थोनी लोकले विमानको खोजीकार्य जारी रहँदाको समयमा प्राप्त जानकारीहरु सम्मिलित रिपोर्ट छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन्। तर उनले मिति भने खुलाउन नचाहेको बिबिसीमा उल्लेख छ।
यता अष्ट्रेलिया, मलेसिया र चीनले पनि आफुहरु खोजी कार्य पुनः सुरु गर्न तयार रहेको तर यसका लागि केही ठोस प्रमाण चाहिने सर्त अघि सारेका छन्।
मलेसियाली सरकारले निजी तहमा खोजीकार्य बन्द गर्ने घोषणा गरेपनि भावी प्रधानमन्त्रीको रुपमा हेरिएका अनवार इब्राहिमले यस विषयमा थप खोजी गरिने एक अष्ट्रेलियाली पत्रिकालाई अर्न्तवार्ताका क्रममा बताएका छन्।
‘एमएच ३७०’ जस्तै हराइरहेका र अहिलेसम्म अवस्था अज्ञात रहेका विमान
–सन् १९३७ मा अमेरिकी महिला पाइलट एमिलिया इयरहर्ट इलेक्ट्रा विमानमा चढेर विश्व परिक्रमा गर्ने क्रममा हराएकी थिइन्। त्यसअघि उनले एटलान्टिक समुद्रको सफल परिक्रमा गरिसकेकी थिइन्। तर पनि उनी हाउल्याई टापुमाथि पुगेपछि बेपत्ता भएकी थिइन्। त्यस समयदेखि उनको अवस्था अज्ञात छ। केही मानिसहरूले उनलाई एलिएनले अपहरण गरेर लगेको समेत बताउने गरेका छन्।
–१९३० को दशकपछि ४० को दशकमा फेरी त्यस्तै घटना भयो। सन् १९४५, डिसेम्बर ५ मा अमेरिकी राज्य फ्लोरिडाबाट अमेरिकी नौसेनाको पाँचवटा विमान आफ्नो तालिमका क्रममा उडे। तर बर्मुडा ट्र्याङ्गलबाट हराएका भनिएका ती पा“च विमानको अवस्था हालसम्म अज्ञमत छ। त्यो घटनालाई ‘फ्लाइट नाइनटिन’को नामले पनि चिनिन्छ।
–‘फ्लाइट नाइनटिन’ घटनापछि सन् १९६२ मा फेरी अर्को रहस्यमय घटना घट्यो। ‘फ्लाइङ टाइगर लाइन फ्लाइट सेभेन थ्री नाइन’ नामले चिनिने घटनामा एक अमेरिकी सैन्य जहाज अलप भयो।
–सन् १९६२ मार्च १६ मा ग्वाम भन्ने ठाउ“बाट इन्धन भरेर भियतनामतर्फ उडेको विमान पनि वेपत्ता भयो। आठ दिनको खोजी तथा अनुसन्धानपछि पनि विमानको बारेमा केही थाहा पाउन नसकेपछि त्यसमा सवार सबै १ सय ७ यात्रु र चालक दलका सदस्यलाई मृत घोषित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।