विश्वका १ सय ९३ राष्ट्रले संयूक्त रुपमा अँगालेको १५ वर्षे (सन् २०१६–२०३०) विश्वव्यापी योजना ‘दिगो विकास लक्ष्य’अन्तर्गत नमूना गाउँ नेपालमा बन्दैछ। दिगो विकास लक्ष्य नमूना गाउँ नेपालको प्रदेश २ अन्तर्गत सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर–२, बबरगंजलाई बनाइनेछ ।
के हो दिगो विकास लक्ष्य नमूना गाउँको अवधारणा?
सन् २०३० सम्ममा विश्वबाट सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना बोकेको १५ वर्षे योजना हो दिगो विकास लक्ष्य। दिगो विकास लक्ष्यलाई एकीकृत रुपमा 8, परिवार र व्यक्तिगत जीवनमा प्रत्यक्ष अनुभूती हुनेगरी एकीकृत विकासको अवधारणालाई अँगाल्दै मानवता र समानता सहितको सबल र दिगो नमूना गाउँ बनाउने अभियानका रुपमा बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजना अगाडि बढाइएको छ।
दिगो विकासका १७ वटा लक्ष्य, १ सय ६९ सहायक लक्ष्य र २ सयभन्दा बढी सूचकहरु तय गरिएको छ। दिगो विकास लक्ष्य कार्यक्रम सेप्टेम्बर २०१५ मा राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्र सम्मिलित साधारणसभाको शिखर सम्मेलनले पारित गरी जनवरी २०१६ देखि लागू भएको छ। विश्वभरका सरकार तथा करोडौं नागरिकलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएका हुन्।
दिगो विकास लक्ष्यका ५ स्तम्भ
पृथ्वीः पृथ्वीमा रहेका प्राकृतिक साधन–स्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने।
मानवः सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवं समानता कायम गर्ने।
समृद्धिः प्रकृतिसँग सामन्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितता गर्ने।
शान्तिः शान्तिपूर्ण, न्यायसंगत र समावेशी 8को निर्माण गर्ने।
साझेदारीः सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका एजेन्डाहरुको कार्यान्वयन गर्ने।
योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनका लागि शासन संरचना कस्तो हुनेछ?
विश्वकै पहिलो बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँका लागि सबल र प्रभावकारी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनका लागि चार किसिमको शासन संरचना तय गरिएको छ। राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयहरु, दातृ निकायहरु, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्राज्ञिक लगायतका क्षेत्रहरु समेट्ने गरी १५ सदस्यीय सल्लाहकार समूह काठमाडौंमा हुनेछ।
त्यसैगरी, स्वास्थ्य, शिक्षा, कृषि, निमार्ण, अर्थ, रोजगारी, व्यापार, संस्कृति, सञ्चार, भिएफएस, अनुसन्धान, अभिलेखन, लैंगिक, समता र सामाजिक समावेशीकरण, महिला सशक्तीकरण, गरिबी निवारण, बजारीकरण, वन तथा जलवायु परिवर्तन, वातावरण, ऊर्जा, सूचना प्रविधि, पोषण, सरसफाइ, ज्ञान व्यवस्थापन आदि गरी विभिन्न विषयगत विज्ञहरु सम्मिलित ३१ सदस्य प्राविधिक विज्ञ समूह पनि गठन गरिनेछ।
बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजनाको कुशल र प्रभावकारी सञ्चालनका लागि चन्द्रनगर गाउँपलिका प्रमुख संरक्षण, प्रमुख प्रशासकीय अधिकृत सल्लाहकार तथा वडा अध्यक्षको अध्यक्षता रहेको १५ सदस्यीय नमूना गाउँ योजना सञ्चालन समिति गठन गरिएको छ। साथै, बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँबारे जागरण ल्याउन तथा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै यस अभियानमा थप उर्जा प्रदान गर्न चार जना नेपालका ख्यातिप्राप्त कलाकार र व्यक्ति सद्भावना दूतका रुपमा यस अभियानमा जोडिनेछन्।
माथि उल्लेखित शासन संरचनालाई पूर्णता दिने काम अघि बढिसकेको छ। यसैक्रममा १७ वटा लक्ष्य तथा १ सय ६९ वटा सहायक लक्ष्य र २ सयभन्दा बढी सूचकमध्ये स्थानीय स्तरमा लागू गर्न सकिने लक्ष्य र सूचकहरुको छनौट गर्दै बबरगंज गाउँको अवस्था विश्लेषण र आधारभूत सर्वेक्षण गरिनेछ।
त्यस्तै, अगामी ५ वर्षका लागि विस्तृत लागतसहितको रणनीतिक योजना तयार गरी बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजनाको कार्यान्वयन द्रूत गतिमा अगाडि बढाइनेछ।
यसरी तयार गरिएको लागतसहितको ५ वर्षे रणनीतिक योजना कार्यान्वयनमा स्थानीय, प्रादेशिक र संघीय गरी तिनै तहको सरकार, समुदाय, दातृ निकाय तथा निजी क्षेत्र समेतले बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजनामा लगानी गर्ने आशा तथा विश्वास गरिएको छ।
बबरगंज दिगो विकास लक्ष्य नमूना गाउँ योजना नेपालमा मात्रै नभई विश्वमा नै एक मात्र भएकाले विश्वसामु नेपाललाई चिनाउने, एकीकृत विकासको मोडेल प्रस्तुत गर्ने र नेपालमा भर्खर लागू भएको संघीयतासहित स्थानीय सरकारको सफल सञ्चालनका लागि मार्ग दर्शनका रुपमा साबित हुने आशा गर्न सकिन्छ।
(महतो एसडिजी नमूना गाउँको प्राविधिक संयोजक हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।