काठमाडौं– विमानस्थलबाट भएको ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुई जना पक्राउ परेका छन्। गृह मन्त्रालयको बिशेष छानबिन समितिले दुई जनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।
पक्राउ पर्नेहरुमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन्।
सिलवालले नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफर सञ्चालन गर्दै आएका छन्। मनि ट्रान्सफरको आवरणमा उनले हुन्डीको कारोबार गर्दै आएको समितिले जनाएको छ। दुबईबाट तस्करी गरेर ल्याइने सुनको उनले हुन्डीमार्फत दुबईमा भुक्तानी दिन सघाउने गरेका थिए।
त्यस्तै,पक्राउ परेका फाल्दुन भुजुङ गुरुङका चालक हुन्। भुजुङ यसअघि नै पक्राउ परि जेल चलान भइसकेका छन्। राप्रपा(प्रजातान्त्रिक)का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे। समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आफुलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन्।
माघ ९ गते हराएको साढे ३३ किलो सुन लुटपाटमा पनि उनको संलग्नताको आशंका गरिएको छ। तर, करिब २ सातासम्म सोधपुछ गर्दा पनि हराएको सुनबारे प्रष्ट जानकारी समितिले पाउन सकेको छैन। उनलाई २ साताअघि नै पक्राउ गरी अनुसन्धानमा राखिएको थियो। मुद्दा चलाउनका लागि उनलाई शुक्रबार मोरङ पठाइएको हो।
समितिले गत बैशाख सुन तस्करीको पैसा हुन्डीमार्फत पठाउने दोलखाका मोतीलाल श्रेष्ठ र झापाका बिनोद अधिकारीलाई पक्राउ गरिसकेको छ। उनीहरु जिल्ला प्रहरी कार्यालय मोरङकै हिरासतमा छन्। बिहिबार मोरङमा सनम शाक्य हत्यामा सघाउने रेवन्त आचार्य पक्राउ परेका थिए।
समितिले सुन तस्करी प्रकरणका मुख्य पात्र चुणामिण उप्रेती ‘गोरे’ लाई मंगलबार पक्राउ गरी सार्वजनिक गरिसकेको छ। त्यसअघि ३२ जना पक्राउ परेका थिए। थप दुई जना पक्राउ परेसँगै सो मुद्दामा पक्राउ अभियुक्तको संख्या ३५ पुगेको छ। ३२ जनालाई फरार अभियुक्तका रुपमा मुद्दा चलाइएको छ। जसमध्ये मोहन अग्रवाल लगायत मुख्य व्यक्तिलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।