काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्षसम्म नढल्ने दाबी गरेका छन्। दिगो सरकार बनेकाले ढुक्क रहन पनि उनले आग्रह गरे।
बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रियामा बोल्दै उनले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दिगो र बलियो सरकार स्थापना गरिएको बताए। सरकार लोकतान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे।
'सरकार कसैले हिल्याएर हिल्दैन,' उनले भने, 'विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनुपरेको हो।'
जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न २ पार्टीबीच एकीकरण गर्नुपरेको उनको भनाइ थियो। विकास, समुन्नति र सुशासनको माध्यमबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौती हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।