वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक सर्न सक्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।
उत्तर कोरियाले केही सर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा बस्न पनि नसिकने उनको भनाइ छ।
तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ। सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको अमेरिका भ्रमणमा गएका थिए। सोही क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिएका हुन्।
'मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिनँ, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ। तर पनि केही सर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ,' ट्रम्पले भनेका छन्।
आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा छन्। उनी मङ्गलबार नै अमेरिका पुगेका हुन्।
उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति इनका अतिरिक्त यसअघि पनि केही उच्चस्तरीय अधिकारीहरु वासिङ्टन पुगेका थिए।
दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तय गर्ने पनि ठानिएको समाचारमा जनाइएको छ।
राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गरे। तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको उनको भनाइ छ।
तर राष्ट्रपति ट्रम्पले जुन १२ मा भएन भने सो बैठक कहिले हुन्छ त भन्ने बारेमा भने केही बताएका छैनन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।