काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले संविधान संशोधनबिनाको नीति तथा कार्यक्रम मान्य नहुने चेतावनी दिएका छन्।
संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता झाले सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा सहिदहरुप्रति विभेद गरिएको आरोप पनि लगाए। सहिद परिवारहरुको जीविकोपार्जनको कुरा थप्न जरुरी रहेको भन्दै घाइतेहरुको उपचार, उनीहरुका परिवारलाई उचित सम्मान र अवसर दिने कुरा पनि नभएको औंल्याए।
खस आर्यलाई आरक्षण राखिएकोप्रति नीति तथा कार्यक्रमले समर्थन गरेको आरोप पनि उनले लगाए।
मधेसकेन्द्रित दलहरुले संविधान संशोधनलाई पहिलो मागका रुपमा अघि सारेको तर उनीहरुको मागलाई सम्बोधन नभएकाले शान्ति र समृद्धि आउन नसक्ने उनले बताए।
‘शान्ति र समृद्धि पहिलो सर्त हो भने संविधान संशोधन पनि हाम्रो पहिलो सर्त नै हो’, झाले भने, ‘त्यसलाई समाधान नगरे कसरी अगाडि बढ्न सक्नुहोला र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।