सुर्खेत– नेपाली राष्ट्रिय टिमका सदस्य समेत रहेका सागर पुनले सतकको मद्दतमा त्रिभुवन आर्मी क्लबले टीकापुर क्रिकेट क्लबलाई एक सय ६७ रनको निकै फराकिलो अन्तरले पराजित गरेको छ।
सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा आर्मीले टीकापुरलाई पराजित गर्दै दोस्रो जित हासिल गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा केवल २ विकेटको क्षतिमा दुई सय २६ रन जोडेको थियो। प्रतियोगितामा यो अहिलेसम्मकै सर्वाधिक रन हो।
आर्मीका लागि ओपनर सागर पुनले ६३ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा एक सय २ रन जोडे। त्यस्तै, राजेश पुलामीले ४६, कप्तान विनोद भण्डारीले ३० र अनिल मण्डलले २२ रनको योगदान गरे।
बलिङतर्फ टीकापुरका अमर रावल र विकल्प विष्टले एक/एक विकेट लिए।
दुई सय २७ रनको विशाल लक्ष्य पछ्याएको टीकापुरले आर्मीका बलरसामु खुलेर प्रदर्शन गर्न सकेन। १५ ओभरमा ५० रन जोड्दा अलआउट हुन पुग्यो। टीकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
टीकापुरलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले ३, राजेश पुलामीले २ तथा विक्रम शोव, सुशन भारी र हरिकृष्ण झाले एक/एक विकेट लिए। खेलको म्यान अफ दि म्याच सागर पुन भए।
यो खेलसहित प्रतियोगितामा चार खेल खेलेको टीकापुरले दुई खेलमा जित र दुई खेलमा पराजय व्यहोरेको छ भने तीन खेल खेलेको आर्मीले एक खेलमा पराजय र दुई खेलमा विजय हासिल गरेको छ।
महाकालीको पहिलो जित, भेरीगंगाको तेस्रो हार
यस्तै, मंगलवार बिहान भएको अर्को खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ।
टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो। उसका लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रन जोडे।
बलिङतर्फ पारस केसी र महेन्द्र सावदले समान २/२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिङ गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए।
१ सय २३ रन लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट पूरा गर्यो। उसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए। बलिङतर्फ भेरीगंगाका शिव डाँगी र तिलक थापाले २/२ विकेट लिए। उक्त खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए।
यो खेलसँगै प्रतियोगितामा महाकाली क्रिकेट क्लबले पहिलो जित हात पार्दा भेरीगंगाले भने तीन वटा पराजय बेहोरेको छ।
बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सञ्चालन भइरहेको कर्णाली प्रिमियर लिग जेठ १२ गतेसम्म सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।