सुर्खेत– कर्णाली प्रिमियर लिग(केपिएल) टि–२० क्रिकेट प्रतियोगितामा रोयल राइजिंग क्लब तेस्रो खेलमा पनि पराजित भएको छ। रोयल राइजिंग आफ्नो तेस्रो खेलमा आज काठमाडौं क्रिकेट ट्रेनिंग सेन्टरसँग ८ रनले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनाएको थियो। खराब सुरुवात गरेको काठमाडौंले ३२ रनको स्थितीमा आफ्ना सुरुवाती ५ खेलाडीलाई गुमाएको थियो। छैटौँ विकेटको लागि विपिन आचार्य र विवेक राना मगरले महत्वपूर्ण ७६ रनको साझेदारी गर्दै टिमको स्कोर १ सय रन पार गराएका थिए। अर्धशतक प्रहार गरेका विपिनले ५७ तथा विवेकले ४५ रनको योगदान दिए। ३९ बल खेलेका विपिनले आफ्नो पारीमा ७ चौका र १ छक्का तथा विवेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।
बलिङतर्फ रोयल राइजिंगका प्रकाश जैसीले ३ तथा विवश गिरी र विजय विस्टले समान २÷२ विकेट हात पारे।
१ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा रोयल राइजिंगले पुरा २० ओभर ब्याटिङ गरेपनि ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो। राइजिंगका लागि प्रारम्भिक ब्याट्सम्यान प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाए पनि टोलीको हार गार्न सकेनन्।
काठमाडौंका आदिल खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ जना रोयलका खेलाडीलाई पेवेलियन फर्काएका थिए। खेलको ‘प्लेयर अफ दि म्याच’ विपिन आचार्य घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।