राजविराज– सप्तरी, सुनसरी र उदयपुरका जनतालाई सहज हवाई सेवा तथा कोसी टप्पु वन्यजन्तु क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विमानस्थल निर्माणको प्रारम्भिक तयारी सुरु गरिएको छ।
राजविराज विमानस्थल स्तरोन्नति गरी सञ्चालनको तयारी भइरहेका बेला सप्तरीको सप्तकोसी, सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाको संयुक्त पहलमा नयाँ विमानस्थल निर्माणको तयारी अघि बढेको हो।
यो विमानस्थल उदयपुरको जोगीदहस्थित सगरमाथा विमानस्थल निर्माणको विकल्पका रुपमा पनि अघि बढाइएको स्थानीयको बुझाइ छ। सगरमाथा विमानस्थल निर्माणका लागि हजारौं हेक्टर वन फँडानी गर्नुपर्ने र चुरे क्षेत्र उजाड हुने सम्भावना बढेपछि त्यसको विकल्पका रुपमा कोसीटप्पु वन्यजन्तु क्षेत्रलाई हेरिएको उनीहरुले बताए।
कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रकै खाली जग्गामा विमानस्थल बनाउने तयारी अगाडि बढेको सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले बताए।
तीन वटै स्थानीय तहको मध्य भागमा पर्ने आरक्ष क्षेत्रको करिब ६० हजार बिघा क्षेत्रफलमध्ये खाली जग्गालाई विमानस्थल र क्रिकेट मैदानका लागि प्रयोग गर्न सहमति भएको उनले जानकारी दिएका छन्। ‘तीन वटै नगरपालिकाले कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएका छन्’, गौतमले भने, ‘त्यसको प्रारम्भिक चरणमा विमानस्थल पहिलो प्राथमिकतामा पर्यो।’
विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्भाब्यता अध्ययन गरीसकेको र प्राविधिकले प्रतिवेदन बुझाएपछि विस्तृत अध्ययनका लागि अर्को टोली आउने गौतमले बताए। प्राधिकरणले इञ्जिनियर सत्यराम दुवाल नेतृत्वको टोलीलाई सम्भाव्यता अध्ययनका लागि पठाएको थियो। टोली मंगलबार मात्रै काठमाडौं फर्केको छ।
इञ्जिनियर दुवालले तत्कालका लागि डोमेस्टिक एयरपोर्ट बनाउन सकिने र सप्तकोसी नदीलाई नियन्त्रण गर्ने योजना सहित अघि वढे आरक्ष क्षेत्रको खाली जग्गामा उत्कृष्ट विमानस्थल बन्न सक्ने बताए। उनले भने, ‘डोमेस्टिक एयरपोर्टका लागि सामान्यतया १२ देखि १५ सय मिटरको धावनमार्ग आवश्यक पर्छ, त्यसका लागि पर्याप्त ठाउँ छ।’
जग्गा उपलब्धताका हिसाबले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन पुग्ने भए पनि बीचमा हाइटेनसन बिजुलीको तारका कारण त्यो सम्भव नहुने भन्दै उनले थपे, ‘अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बनाउन ४ हजार मिटर लम्बाइ र ८ सय मिटर चौडाइको धावनमार्ग चाहिन्छ, त्यसका लागि त्यहाँका मानिसलाई पनि अन्यत्र सार्नुपर्छ।’
आफूले फिल्ड अध्ययन मात्रै गरेको र विस्तृत अध्ययनपछि मात्रै थप जानकारी दिनसक्ने दुलालले बताए। दुलालको प्रतिवेदन प्राधिकरणमा बुझाउन बाँकी छ।
फिल्ड अध्यययनका क्रममा सप्तकोसी नगरपालिकाका मेयर गौतम, बेलका नगरपालिकाका मेयर दुर्गा थापा समेत उपस्थित थिए। विमानस्थल निर्माणका लागि बेलका नगरपालिकाका मेयरसहितको टोलीले गत बैसाख २६ गते नागरिक उड्ययन मन्त्रालयका सचिवलाई भेटी सम्भाव्यता अध्ययनका लागि आग्रह गरेका थिए।
‘पटक–पटक मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा डेलिगेशन गएपछि प्राविधिक खटाइएको हो’, थापाले भने, ‘यो हाम्रो प्राथमिकताको विषय भएकाले तीव्र रुपमा काम पनि अघि बढ्छ।’
कोसीटप्पु वन्यजन्तु आरक्ष, सुनसरीको बराहक्षेत्र, सप्तरीको चन्द्रनहर, छिन्नमस्ता, कंकालिनी र शम्भुनाथ मन्दिर, उदयपुरको चौदण्डी गढी लगायतका धार्मिक, प्राकृतिक र ऐतिहासिक क्षेत्रलाई जोडेर पर्यटकीय क्षेत्र विस्तार गर्ने योजना अनुसार विमानस्थ निर्माणको काम अगाडि बढेको उनले बताए।
यस क्षेत्रमा विमानस्थल निर्माण गर्न सके सप्तरीको पूर्वोत्तर गाउँ÷नगरपालिका, उदयपुर, सुनसरी, भोजपुर, खोटाङ, सिराहा लगायतका बासिन्दा लाभान्वित हुने थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।