‘गुडमर्निङ सर, यु आर वेलकम इन क्लास सेभेन बी।’
‘गुडमर्निङ माई डियर स्टुडेन्टस्, सिट डाउन।’
‘थ्याङ्क यु सर।’
यिनै बालसुलभ 'वेलकम'बाट दिनको सुरुवात भई 'थ्यांक यु'मा समाप्त हुन थालेको केही समय भइसकेको थियो। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नात्तकोत्तरको प्रमाणपत्र हातमा थमाइएपछि म आफूलाई खोज्न काठमाडौंमै केही समय हराउन चाहेँ।
केही स्कुलमा पढाएको अनुभवले मलाई कीर्तिपुरको ल्याबोरेटोरी हाइयर सेकेन्डरी बोर्डिङमा इन्ट्री गर्न गाह्रो भएन। ‘ट्रायल टाइम’लाई आफ्नो अनुकूल बनाइसकेपछि मैले कक्षा ७ ‘बी’को कक्षा शिक्षकको रुपमा नियुक्ति पाएँ। शिक्षकलाई देख्दा विद्यार्थी डराउनुपर्छ भन्ने मलाई कहिले लाग्दैन बरु शिक्षकलाई देख्दा त उनीहरुको असहज, अप्ठेराहरु सहज रुपमा बाहिर निस्किन सक्नुपर्छ। आँखाबाट डर होइन विश्वास, भर अनि आत्मियताको भाव प्रकट हुनुपर्छ। किनकि शिक्षण सिकाइलाई डर होइन सहजता, ममता चाहिन्छ।
स्कुलका विद्यार्थीहरुसँग म निकै रमाइरहेको थिएँ। तर चलिआएको अभ्यास अनि परिवेशलाई सामान्य बनाउन मैले केही कसरत गर्नुपर्यो। विषयवस्तुमा समस्या भएर होइन तर त्यहाँको वातावरणसँग परिचित भई आफूलाई अभ्यस्त बनाउन।
नयाँ स्कुलमा सहजै आफूलाई ढाल्न गाह्रो हुँदो रहेछ। तर पनि आफूले शिक्षण पेसाबाट लिएको अनुभव म प्रत्येक कक्षाकोठाहरुमा प्रवेश गर्दा प्रयोग गर्दै थिएँ। यहाँका कक्षाकोठाका अशक्त होइन तर ‘डिफरेन्टली एबल’ दृष्टिविहीन विद्यार्थीहरु पनि एउटै बेन्चमा बसिरहेका थिए। यो परिस्थितिको सामना गर्दै जाँदा मभित्रको अनुभवको शिक्षक मर्दै गयो, नयाँ शिक्षकले भ्रुण हाल्न थाल्यो।
अबका दिनहरुमा मैले एउटै बोली र व्यवहारबाट दुई फरक धारका काँचो माटोलाई एउटा निश्चित आकार दिने बाटोमा डोहोर्याउनुपर्नेछ। ‘डिफरेन्टली एबल’ विद्यार्थीहरुलाई म कक्षामा भएको आभास आवाजले मात्र होइन माया, प्रेम, जाँगर र उत्साहले समेत गराउनु थियो। उनीहरुको मनोविज्ञान र सिक्ने चाहना बुझेरै म सुरुका दिनदेखि नै सजग थिएँ। बिस्तारै मैले भुल्न पुगेछु कि यहाँ दृष्टिविहीन विद्यार्थी पनि छन्! मेरो यो सोच र उनीहरुप्रतिको बेवास्ता होइन कि उनीहरुले नै मलाई त्यो महसुस गराउन दिएनन्। आफू हरेक कुरामा अब्बल भएको पुष्टि उनीहरुका हरेक क्रियाकलापहरुले गरिरहेका हुन्थे। जहाँ कुनै थप व्यवहार र सहयोगको आवश्यकता नै थिएन। थियो त केवल एउटा शिक्षकको प्रेम।
कक्षाकोठामा ‘सुपरशिक्षक’को आवश्यकता नै थिएन। नियमित शिक्षण सिकाइ कार्यका साथसाथै ‘एक्ट्रा करिकुलम’ क्रियाकलापहरु गायन, कथा, कवितावाचन चुट्किला वा खेलकुद सबैमा पनि उनीहरु नै अब्बल थिए।
‘कन्फेसन’ प्रोग्रामको एक प्रतियोगी हुने हो भने निश्चित प्लानबिना कक्षाकोठामा छिर्ने शिक्षकहरुको लाममा म पनि एक हुन्छु। तर विद्यार्थीहरुको मनोविज्ञानलाई पढेर विषयवस्तुमा सोझै प्रवेश गर्ने, विषयलाई अझै दोहोर्याउनुपर्ने कक्षाकोठालाई मनोरन्जनात्मक बनाउने भन्ने कुरामा चाहिँ तत्काल निर्णय लिन सक्थेँ म। प्रत्येक विद्यार्थीहरुको आत्मीयता र ऊर्जाशील आवाजले मलाई पाठ्यक्रमको विषयवस्तुमा प्रवेश गर्न प्रेरणा दिन्थ्यो। जीवनमा ज्ञान, शिक्षा, स्वास्थ्य, सम्पत्ति वा अरु केही पनि आर्जन गर्न त्यसमा खुसी मिसिएको हुनुपर्छ। त्यो खुसीलाई महसुस गरेर मात्र म आफ्नो हरेक कामका अगाडि बढ्ने सोच राख्छु।
…
उही समय। उही सम्बोधन। दैनिकी पनि उही। तर बिस्तारै कक्षाकोठामा केही अभाव र असहज भएको महसुस गर्न थालेँ। कक्षा शिक्षकको नाताले पनि मैले यस असहजतालाई निराकरण गर्नु आवश्यक थियो।
आश्विन एक सिर्जनशील र अनुशासित दृष्टिविहीन विद्यार्थी। आफ्नो स्वास्थ्य समस्याले लामो समय स्कुल आउन नसकेकोले गर्दा आगामी परीक्षा राम्रो गर्न नसक्ने कुराले चिन्तित थियो ऊ। उसले कुनै कुरा व्यक्त गरेको थिएन, तर एउटा शिक्षकले चेहरा पढेरै उसको चिन्ता बुझ्न सक्थ्यो।
उसलाई आश्वस्त पार्नका लागि पनि केही उपाय लगाउनैपर्ने भयो। ‘आज हामी नपढ्ने। एउटा खेल खेल्ने है,’ मैले ‘खेल’ शब्द उच्चारण गर्नेबित्तिकै केही विद्यार्थी आतंकित महसुस गर्न पुग्थे किनकि मेरा खेल अलि बढी सिर्जनशील हुन्थे। त्यो सिर्जनशीलतामा उनीहरुले पूर्ण शारीरिक स्वच्छन्दता पाउँदैन थिए कि!
त्यस दिन भने म पूर्ण रुपमा एक खेल नै खेलाउने योजनामा थिएँ। लुकीडुम, त्यो पनि दृष्टिविहीन विद्यार्थीहरुका लागि मात्र।
मेरो कुरा सुनेर उनीहरु सबै अलमल्ल परे। सोचे होलान्, दृष्टिविहीनले कसरी खेल्ने लुकीडुम। तर आश्विन र जलदीप भने तयार भईवरी आफ्ने बेन्चबाट उठिसकेका थिए। उनीहरुको यो साहस र हिम्मतलाई भने भित्रभित्रै झुकेर स्वागत गर्दै थिएँ म। ‘अशक्तहरुलाई दया होइन अवसरको खाँचो छ’ दिमागमा कतै आवाज तरंगित हुँदै थियो।
कक्षाकोठामै खेल सुरु भयो। जसअनुसार आश्विन लुक्नुपर्ने अनि जलदीपले भेट्टाउनुपर्ने। आश्विन केटी साथीहरुको बेन्चमुनि पसेर आफूलाई सुरक्षित गर्दै थियो भने जलदीप ढोकाको वरिपरि उसलाई खोजिरहँदा अन्य साथीहरुले भने हाँसो रोक्न सकेनन्। केही साथीहरु जलदीपलाई आश्विन लुकेको ठाउँ संकेत गर्दै थिए भने आश्विन लुकेको बेन्चका केटीहरु रातोपिरो हुँदै अर्कै बेन्चको साथीसँग पुगिसकेका थिए।
‘वीन-वीन’ पोजिसनमा खेल सकियो, स्कुलको घन्टीसँगै। सबै आ-आफ्नो ठाँउमा पुगिसकेका थिए। कोही भन्दै थिए, ‘जलदीपले मलाई आश्विन भनेर झन्डै समातेको।
उनीहरुलाई ‘टेक केयर भन्दै म बाहिर निस्किँदै थिएँ, मनमा लाग्यो, यी बच्चाहरुलाई फेरि एकपटक हेरुँ अनि अँगालोमा कसिलो गरी बाँधिरहूँ।
'दीपक सर, आज साँच्चै मज्जा आयो,' एक परिचित आवाज मेरो कानमा ठोक्कियो।
'हामीले खेल्ने कुनै पनि खेलमा यति रमाइलो भएको थिएन। आजसम्म यति खुसी भएर कुनै खेल खेलिएको थिएन,' त्यही आवाज अलि मधुर हुँदै गयो, 'हामीलाई सधैं यसरी नै माया गरिरहनुहोस् ल सर।'
‘गो टु योर् क्लास’ भन्दै म अगाडि बढिरहेँ। दिमागमा घुम्दै थियो, ‘साँच्चै, दृष्टिविहीनहरुलाई एक इन्द्रियको कमी भएको होइन बरु अरु चार इन्द्रियहरुलाई पूर्णता दिँदा एउटा चाहिँ भावीले ईर्ष्याले नदिएका…
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।