काठमाडौं- बिहीबार पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी बनेपछि तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरुले आज एकअर्काका पार्टी कार्यालय निरीक्षण गरेका छन्। उनीहरुलाई दुवै पुरानो पार्टी कार्यालयमा स्वागत गरिएको छ।
आज दिउँसो ४ बजे पूर्वमाओवादी नेताहरु पूर्वएमाले पार्टी कार्यालय रहेको धुम्बाराही पुगेका थिए। त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वागत गरेका थिए। स्वागत गर्नेमा महासचिव विष्णु पौडेल पनि थिए।
प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापा 'बादल' लगायतका नेताहरु पनि धुम्बाराही पुगेका थिए। ओलीले प्रचण्डलाई आफ्नै कार्यकक्षमा लिएर गए र आफ्नै टेबल 'सेयर' गरे। फरकफरक कुर्सी र एउटै टेबलमा दुई अध्यक्ष बसेका थिए।
धुम्बाराहीको स्वागत र निरीक्षणपछि ओली लगायतका नेतालाई स्वागत गर्ने चटारो पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आइपुग्यो। त्यहाँ दिउँसैदेखि तयारी तीव्र थियो।
पेरिसडाँडामा अध्यक्षद्वय ओली र प्रचण्डलाई कार्यालय सचिव प्रह्लाद बुढाथोकी लगायतका केन्द्रीय नेताले स्वागत गरे।
अध्यक्षद्वयले कार्यालय परिसरमा रहेको सहिद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका थिए। केन्द्रीय कार्यालयमा पूर्वएमालेका नेताहरु माधव नेपाल, बामदेव गौतम, विष्णु पौडेल, योगेश भट्टराई, राजन भट्टराई लगायतका नेता पनि पुगेका थिए।
पूर्वएमाले र माओवादी केन्द्रले प्रयोग गरेका पुराना बोर्ड हटाउने र नयाँ राख्ने हतारो दिनभर चलिरहेको थियो। तर केही ठाउँका बोर्ड हट्नै बाँकी रहेको देखिन्छ। जस्तो कि, पेरिसडाँडाको सहिद स्मृति स्तम्भमा नेताहरुले माल्यार्पण गरिरहँदा पछाडि राखिएको माओवादी केन्द्रको पुरानो बोर्ड भने जस्ताको तस्तै देखिन्थ्यो।
धुम्बाराहीमा नेकपा नेता कृष्णगोपाल श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै नयाँ पार्टीका लागि धेरैथरी भौतिक संरचना मिलाउनुपर्ने भएकाले कुन कार्यालय प्रयोग गर्ने लगायतका विषय बुझ्नका लागि नेताहरु निरीक्षण र छलफलमा रहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।