काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सांसद राधेश्याम अधिकारीले सरकार हुकुमी शासन सञ्चालन गर्ने दिशातर्फ उन्मुख रहेको गम्भीर आरोप लगाएका छन्।
सांसद अधिकारीले गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीलाई हुकुमी पाराले आदेश दिएको भन्दै आपत्ति जनाएका हुन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले उपत्यकाको सडक व्यवस्थापनको काम तत्काल गर्न पनि सरकारसँग माग गरेका छन्। उनले मेलम्ची खानेपानीको नाममा काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बनाइएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद कविता बोगटीले तत्काल स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताइन्। उनले सबै स्थानीय तहमा बैंक सेवा सञ्चालन गर्न पनि सरकारसँग माग गरिन्।
सांसद रामप्रित पासवानले भने प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सिमा अतिक्रमणका विषयमा कुरा नउठाएको भन्दै आपत्ति जनाए। उनले प्रधानमन्त्री ओलीले राष्ट्रियताको कुरा गरिरहे पनि भारतसामू लम्पसार बनेको आरोप लगाए।
विशेष समय लिएर बोल्दै सांसद कोमल ओलीले सरकारलाई राष्ट्रिय गौरवको आयोजना छिटो सक्ने गरी बजेटको उचित व्यवस्था गर्न माग गरिन्। उनले बजेट एकीकृत विकास परियोजनामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइन्।
सांसद ओलीले जनताले सरकारबाट ठूलो अपेक्षा राखेको भन्दै सो अपेक्षा पूरा गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिइन्।
राष्ट्रिय सभाको अर्को बैठक जेठ ७ गते साँझ साढे ५ बजे बस्नेछ। त्यसअघि प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीतिक तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।