अबुजा– नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ। उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
अपहरणमुक्त भएकाहरूमध्ये ३३ जना महिला, १६ जना बालबालिका, ४ जना पुरुष रहेको सेनाका प्रवक्ता ओन्येम वाचुकुले बताए।
बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो। अपहरणबाट मुक्त भएकाहरुलाई उनीहरुका परिवारसमक्ष बुझाइसकिएको प्रवक्ताले जानकारी दिए। नाइजेरिया सरकारले मे महिनामा मात्रै बोको हरामको नियन्त्रणमा रहेका करिब १ हजार जनालाई मुक्त गराएको छ।
सन् २००९ मा सुरु भएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिले सम्म २० हजार जना मारिएका छन् भने २३ लाख विस्थापित भएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।