पोखरा– पहिले पोखरा आउँदा कुनै दिन भव्य सहर हुन्छ र यहाँ टाउको उल्टो उठाएर आकाश हेरे जस्तो घरको छत हेर्नुपर्छ भन्ने लागेकै थिएन सरस्वती बस्नेत (५१) लाई। ससाना पक्की घरले सहरको रुपमा मात्रै चिन्न सकिन्थ्यो। घरमा आर्थिक अभाव भएपछि घर बनाउने काम पाइन्छ भनेर परिवारसहित पोखरा आएकी थिइन् उनी, २०५४ सालमा।
...
पहिले ज्यालामा घर बनाउने काम गर्दा उनको दैनिकी ७ रुपैयाँको चामलले धान्थ्यो। उनी सम्झिन्छिन्, ‘त्यतिबेलाको महँगो चामल भनेकै १७ रुपैयाँ प्रतिकेजीको थियो।’ त्यति रुपैयाँको चामल किन्न पनि नसक्ने र महँगो लाग्ने गरेको उनले स्मरण गरिन्।
...
पोखरा आएको २१ वर्षको अवधिमा ५ ठाउँ डेरा सरिन् उनी। कहिले कता त कहिले कता बिरालोले जस्तो बालबच्चा बोकेर स्थानान्तरण गरेको सुनाउँदा उनी हाँस्दै थिइन्। अहिले बाराहीघाटमा पसल थापेर बसेको मात्रै १५ वर्ष भइसक्यो। ‘पहिले–पहिले यहाँ धेरै फुटपाथ पसल थिए। पछि बाराहीघाट संरक्षण समिति र नगरले हटाएपछि म मात्रै बसेकी हुँ,’ उनी भन्छिन्, ‘समितिका स्टाफलाई खाना खुवाउन मलाई पसल खोल्न छुट भएको हो।’
बस्नेतका ४ छोराछोरी छन्। एउटा छोरो विदेश गइसक्यो। उनकै शब्दमा भन्ने हो भने, छोराछोरी लालापाखा लागेकाछन्। श्रीमान् उतै घर (धरान) मा छन्। कहिलेकाहीँ पोखरा आउँछन् र श्रीमतीलाई सघाउँछन्।
जीवनमा धेरै दुःखको आयतन नापी सकेकी बस्नेतलाई पैसा नै सबथोक हो भन्ने लाग्छ। ‘पैसाले नै जीवन सिकाउँछ। मैले जीवन पैसाकै अभावले सिकेकी हुँ,’ उनले भनिन्।
उनले पोखरा आएर निकै समय ज्यामी काम गरिन्। त्यतिबेला सजिलै पाइने काम पनि त्यही थियो। पछि ढुंगा बोकिन्। कान्छो छोरा जन्मेपछि गह्रौं काम गर्न सकिनन्। खानु त पर्यो नै। उनले थालिन्, अरुको घरमा गएर भाँडा माझ्ने, लुगा धुने काम। जिन्दगीमा सबै दुःखको अनुभव गरिसकेपछि पनि कुनै गुनासो छैन उनलाई। चाउरिन सुरु गरिसकेका गालामा हल्का मुस्कान ल्याउँदै भनिन्, ‘जे छ भगवान ले नै दिएका हुन्। अब मान्नु परिहाल्यो।’
उमेरको गाडी विस्तारै बुढ्यौलीतिर लम्कन थालेपछि मात्रै होटल व्यवसायमा आएकी थिइन् बस्नेत। ‘दुःखले काम सिकायो र कामले पैसा चिनायो,’ उनी भन्छिन्।
०५४ सालको पोखरा र अहिलेको पोखरामा के फरक पाउनु भएको छ त? भन्ने प्रश्नमा उनले रोकिँदै भनिन्, ‘के फरक छैन बाबु? सबै फरक छ। हामी आउँदा यहाँ (फेवाताल) काठले बनेको डुंगा फाट्टफुट्ट चल्थे। अहिले त गनिनसक्नु छ।’ पहिलेको तुलनामा अहिले गन्नै नसक्ने गोराहरु आउने गरेको उनको भनाइ छ।
कहिलेकाहीँ फेवातालमा बस्नेत पनि परिवारसँगै आउँथिन्। ‘दिउँसै हिँड्न डर लाग्थ्यो । सुनसान ठाउँमा भएको ताल वरिपरि गाँजा खाने केटाहरु दिनदहाडै रल्लिरहेका हुन्थे, उनले सुनाइन्, ‘अहिलेको जस्तो रातबिरात ऊ बेला हिँड्न सकिन्नथियो।’ उनले पहिलेभन्दा अहिलेको पोखरा नै रमाइलो लाग्ने बताइन्।
उनको सानो होटलमा चिया–खाजा खान धेरै नेपाली नै आउँछन्। केही–केही विदेशीहरु रहर गरेर उनको पसलमा खाजा खान छिर्छन्। बस्नेतले कहिले १ र २ हजार त कहिले ४ र ५ हजारसम्म व्यापार गर्ने गरेको बताइन्। ‘जे होस् कमाई राम्रै छ, खुसी नै छु,’ उनले भनिन्।
पहिले ज्यालामा काम गर्दाताका बस्नेतलाई खान लाउन नै हम्मेहम्मे थियो। थोरै ज्याला र थोरै मूल्यका सामान पनि महँगो परेजस्तो। उनी भन्छिन्, ‘पहिले पैसाको मूल्य धेरै थियो, अहिले घट्यो।’ धनको पनि धन थपघट हुने रहेछ भन्ने अर्थशास्त्रीय दर्शन उनलाई थाहा छ। यद्यपि बस्नेतले पढेकी भने छैनन्।
ओखलढुंगा माइत भएकी बस्नेतले पोखरा आएर दुःखको पहाड उचालिन्। पेटमा माड हाल्न कहिले काखको छोरा च्यापेर इँट्टा उठाउनुपथ्र्याे त कहिले मसला (बालुवा र सिमेन्टको मिश्रण) बोक्नु पथ्र्यो। ‘भारी बोकेर ठाउँमा पु¥याउँदा धेरै शीतल महसुस हुन्थ्यो। जिन्दगीले सधैं भारी बोकिरह्यो। कहिले बिसाएन। सायद बिसाउन पाए आनन्द हुन्थ्यो।’ उनले भावुक मुद्रामा भनिन्।
बस्नेतलाई दुःखले जहाँ पनि लखेट्छ भन्ने लागेपछि बीचमा धरानस्थित घर गएर केही अरु नै काम गरौं कि भन्ने पनि नलागेको होइन। जाने लगभग भइसकेका बेला उनलाई यतिका दुःख गरेपछि कुनै दिन त अडिने ठाउँ भेटिएला नि भन्ने लागेर उनी रोकिइन्। उनी न माइत, न घर कतै गइनन्। बस्नेत भन्छिन्, ‘अहिले सम्झँदा नगएर ठिकै गरेकी रहेछु भन्ने लाग्छ।’
बाराहीघाटमा झुप्रोजस्तो देखिने सानो होटलमै अहिले उनको संसार। त्यहाँ बिहान खाना पकाउँछिन्, दिउँसोतिर चिया र अन्य नास्ताका परिकार तयार पार्छिन् उनी। यताउती सबैतिर ठूलाठूला होटल र रेस्टुरेन्ट खोलिएको देख्दा कुन दिन समितिले हटाउँछ कि भन्ने मनमा चिसो पसेको छ उनको। भनिन्, ‘छाप्रो जस्तो छ बाबु, राम्रो बनाउन पनि दिँदैनन्। यति पनि म आफैले गरेकी हुँ। थाहा छैन कुन दिन उठाउँछ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।