काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफूले बोलेका कुरालाई केही बज्रस्वाँठले आफ्नो बोलीलाई अपभ्रंश गरेको बताएका छन्। गणतन्त्रको लागि आफू लड्दा नजन्मेकाहरुले 'बयलगाडा-बयलगाडा' भन्दै झुठो आरोप लगाइरहेको बताए।
गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका पुग्न खोज्नु जस्तै हो भन्ने ओलीको विगतको अभिव्यक्तिलाई लिएर आलोचकहरुले कटाक्ष गरेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन्।
२८औं युवा संघको स्थापना दिवसमा बोल्दै ओलीले प्रगतिशील र गतिशील मात्रै युवा हुनसक्ने भन्दै अनुचित कार्यमा सम्झौता नगर्न युवाहरुलाई सुझाए। उनले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको कुरा गरिरहेकोप्रति लक्षित गर्दै नेतृत्व ओलम्पिक टर्च हस्तान्तरण गरे जस्तो नहुने बताए।
पाँच वर्षभित्र नौ सय मेगावाट बिजुली थपिने बताए। भारतबाट बिजुली ल्याउने क्रम अन्त्य हुन लागेको बताए।
'अब २/३ वर्षमा बिजुली भारतलाई बेच्न सक्छौं', उनले भने।
नेपालको हित विपरीत एक शब्द नबोलेको प्रस्ट्याए। उनले नेपालको हित विपरीत कतै पनि सम्झौता नभएको जिकिर गरे। सोमबार संसदमा बोलेका गगन थापाप्रति कटाक्ष गर्दै उनले कांग्रेस आत्तिएको बताए।
कार्यक्रमममा बोल्दै अर्का नेता झलनाथ खनालले गणतन्त्र संस्थागत गर्नु वाम दलको मुख्य कार्यभार रहेको बताए।
कार्यक्रममा बोल्दै झलनाथ खनालले भारतसँगको समस्या केही हदमा सुल्झिँदै गएको बताउँदै चीनसँगको सम्बन्धमा थप जोड दिनुपर्ने बताए। अबको लक्ष्य 8वाद भएकाले युवाले लक्षित कार्यदिशामा लाग्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।