जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले धार्मिक पर्यटकीय विकास प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
जानकी नवमीको अवसरमा रामायण सर्किटले आयोजना गरेको रामायण मेलाको उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले प्रदेश २ को विकासको प्रमुख आधार धार्मिक पर्यटन रहेको उल्लेख गर्दै सोको विकासको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
प्रदेश सरकारले जानकी मन्दिरलाई आधार बनाएर धार्मिक सर्किटको योजना सार्वजनिक गरिसकेको बताउँदै मुख्यमन्त्री राउतले प्रदेशभित्र रहेको सबै धार्मिक स्थल तथा क्षेत्रहरुलाई एउटै लाइनमा जोडिने समेत जानकारी दिए।
भारत सरकारको पहलमा निर्माण हुन लागेको रामायण सर्किटले जनकपुर र अयोध्यालाई मात्र जोडेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसलाई विस्तार गरेर भारतका अन्य धार्मिक स्थलसँग समेत जोड्ने योजना ल्याउनुपर्ने बताए। उनले माता जानकी यस क्षेत्रको मात्र नभई विश्वकै धरोहर रहेको बताए। जानकी मन्दिरको विकास र विश्व सम्पदा सूचिमा सूचिकृत गराउन प्रदेश सरकारले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
माता जानकीको जन्मोत्सवमा प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।