काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात हुन लागेको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज यहाँ आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सरकारले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्न खोजेको आरोप लगाए।
'अधिनायकवादी र सर्वसत्तावादी कम्युनिस्ट पार्टीको खिलापमा कांग्रेस एकजुट भएर लाग्नुपर्छ,' उनले भने।
प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ छऽ पार्टीभित्र देखिएको छाडातन्त्रबाट कांग्रेस चल्न नसक्ने देउवाले बताए।
पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने उनको भनाइ छ। पार्टीभित्रको अन्तरघातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै उनले अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।