एजेन्सी– सिरियामा गत साता भएको भनिएको रसायनिक हतियारको प्रयोगबारे अनुसन्धान गर्न सिरिया पुगेको अर्गनाइजेसन एगेन्स्ट युज अफ केमिकल वेपन्स (ओपिसिडब्लु) को टोलीले सिरियाली सहर डोउमामा प्रवेश नपाएको बेलायती संस्थाले दाबी गरेको छ।
रसायनिक हतियारको प्रयोग भएमा त्यसको अनुसन्धान गर्ने गरेको ओपिसिडब्लुको टोलीलाई सिरियाली सहर डोउमामा प्रवेश नदिइएको दाबी गरिएको हो।
‘रसिया र सिरियाले डोउमामा अझै पनि प्रवेश अनुमति दिएका छैनन्,’ बेलायती संस्थाले आइतबार ट्विटमा भनेको थियो। साथै ट्विटको सिरिजमा बेलायती अनुसन्धान संस्थाले रसिया र सिरियाले सहयोग गर्नुपर्ने र बिनाकुनै रोकटोक प्रवेश पाउनुपर्ने तर्क गरेको छ।
तर, रसियाली उप विदेशमन्त्री सरगेई र्याबकोभले पर्यवेक्षकहरुलाई रसायनिक हतियार प्रयोग भएको क्षेत्रमा प्रवेश नदिइएको कुराको खण्डन रसियन समाचारसंस्था रिया मार्फत गरेका छन्।
उनले अमेरिकी नेतृत्वको कारबाहीका कारण ती पर्यवेक्षकले प्रवेश नपाएको पनि प्रस्ट पारेका छन्।
यता, सिरियाली समाचार संस्था सानाले सिरियाली उप विदेशमन्त्री फैजल अल मोकददले ओपिसिडब्लुका पर्यवेक्षकसँग भेटवार्ता गरेको पुष्टि गरेको छ।
‘विज्ञहरुको टोली सिरियाली सरकारको निमन्त्रणामा पछिल्लो ३ दिनदेखि सिरियामा छन्। उनीहरुसँग सरकारी अधिकारीले दुई पक्षबीच सहकार्य र सहजीकरणको विषयमा छलफल गरेका छन्,’ सानाले अल मोकददलाई उदृत गर्दै आफ्नो समाचारमा लेखेको छ।
गत साता मात्रै सिरियाली सरकारी फौजले डोउमा सहर आफ्नो नियन्त्रणमा लिएको थियो, जुन पहिले विद्रोहीको नियन्त्रणमा थियो।
रसियाले उक्त क्षेत्र सिरियाली सेनाको नियन्त्रणमा आएको घोषणा गरेपछि रसायनिक हतियार प्रयोग भएको दाबी गर्दै अमेरिका, बेलायत र फ्रान्सले शनिबार मात्रै सिरियामा हवाई कारबाही गरेका थिए।
ओपिसिडब्लुले रसायनिक हतियारको प्रयोग एवं उत्पादनमा रोक लगाउने गर्छ र सिरियाले रसायनिक हतियारको प्रयोग सम्बन्धी सन्धिमा हस्ताक्षर गरेको छ। तर, यसमा इजिप्ट, इजरायल, उत्तर कोरिया र दक्षिण सुडानले भने हस्ताक्षर गर्न बाँकी छ।
रोकले बढाएको शंका
ओपिसिडब्लुका बेलायती दूत पिटर विल्सनले सिरियामा लगाइएको प्रतिबन्धले रसायनिक हतियारको बर्बरतापूर्ण प्रयोगलाई प्रोत्साहन गर्ने दाबी गरेका छन्।
करिब ७ वर्ष लामो गृहयुद्धमा जेलिएको सिरियामा करिब ५ लाख मानिसको मृत्यु भइसकेको छ भने विस्थापितको संख्या पनि लाखौं छ।
‘सिरियाली संकटमा रसायनिक हतियारको प्रयोग समय–समयमा भइरहेको छ,’ विल्सनको दाबी छ। साथै उनले सन् २०१४ यता सिरियामा करिब ३ सय ९० पटक रसायनिक हतियार प्रयोग भएको तथ्यांक रहेको दाबी समेत गरेका छन्।
‘रसियाले ती आक्रमण र कारबाहीको समयमा रसायनिक हतियार प्रयोगबारे अनुसन्धानको दौरान हस्तक्षेप गर्दै आएको छ,’ उनले थपे।
तर, गत शुक्रबार रसियाले राष्ट्रसंघमा आफूले गरेको सर्वेक्षण र अनुसन्धानमा कुनै प्रकारको घातक सामग्री प्रयोग नभएको दाबी गरेको छ।
राष्ट्रसंघका लागि रसियन दूत भ्यासिली नेबेन्जियाले रसायनिक आक्रमण गरिएको भनी भ्रम फैलाइएको बारे रसियासँग प्रमाण रहेको बताएकी छिन्।
यता फ्रान्सले भने घटनामा रसिया दोषी रहेको भन्ने प्रमाण रहेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।