काठमाडौं- राष्ट्रिय हितसँग प्रत्यक्ष सरोकार राख्ने प्रमुख १० विषयमा कुनै सम्झौता नगरी प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किएका छन् । सम्झौताका लागि तयार पारिएको बुँदामध्ये प्रधानमन्त्री देउवाले यसअघि भारतसँग गरेका सहमतिसँग प्रत्यक्ष जोडिएका ती विषयमा व्यापक छलफल भए पनि सहमति जुट्न नसकेको हो।
भारत भ्रमणका क्रममा सम्झौताका लागि महाकाली सन्धिको कार्यान्वयन, टनकपुर बाँध निर्माण, गण्डक नहर निर्माण, हुलाकी राजमार्ग निर्माणलाई तीव्रता दिने लगायतका विषय समावेश थिए । ती विषयमा कुनै पनि सम्झौता नगरी भूकम्पपछिको पुनर्निमाण, लागूऔषध नियन्त्रण र शिक्षाका क्षेत्रसँग सम्बन्धित ८ बुँदे सम्झौता गरी देउवा स्वदेश फर्केका हुन्। भारत भ्रमणका क्रममा सम्झौताका लागि २४ वटा बुँदा तयार गरिएको थियो । प्रमुख १० बाहेक प्रविधि विकास, विद्यार्थी आदान-प्रदान, कर्मचारीको सीप अभिवृद्धि जस्ता अन्य ६ बुँदा पनि थाती रहे।
प्रधानमन्त्री भारत प्रस्थान गर्नुपूर्व भारत भ्रमणका एजेन्डाबारे सांसदहरुले देउवालाई संसदमा विभिन्न सुझाव दिएका थिए। सांसदहरुले भारतीय तटबन्धका कारण नेपालको तराई क्षेत्र डुबानमा परेकाले स्थायी समाधानका लागि सम्झौता गर्न ध्यानाकर्षण गराएका थिए। यस्तै सांसदहरुले भारतले लागू गरेको वस्तु तथा सेवा करका कारण नेपाली व्यवसायी मारमा परेकाले त्यसको समेत उपयुक्त समाधान खोज्न प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका थिए।
राष्ट्रहितसँग सम्बन्धित यी १० बुँदा जुन सम्झौताका लागि सूचीमा समावेश भए पनि नेपाली पक्षले 'स्ट्यान्ड' लिन नसक्दा सम्झौता हुन सकेन।
१. पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
महाकाली नदीमा बाँध बाँधेर ६ हजार ७ सय २० मेगावाटको बिजुली निकाल्ने महत्वाकांक्षी परियोजना हो पञ्चेश्वर। पञ्चेश्वरबाट उत्पादन हुने बिजुली नेपाल र भारतले आधा-आधा पाउने महाकाली सन्धिमा उल्लेख छ। २०५२ माघ २९ मा महाकाली सन्धि हुँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए। देउवाको भारत भ्रमणका क्रममा पञ्चेश्वर आयोजनको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा हस्ताक्षर हुन सकेन। डिपिआरलाई मूर्तरुप दिन केही प्राविधिक पक्ष समाधान गर्नुपर्ने आवश्यकता भारतले औंल्याएको छ। दुवै पक्षले प्राविधिक कुरा टुंगो लगाएर अन्य विषयमा राजनीतिक समाधान खोज्ने समझदारी गरेका छन्।
२. ऊर्जा खरिद सम्झौता (पिटिए)
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा खरिद सम्झौता पनि हुन सकेन। भारतीय पक्षले ५१ प्रतिशत सेयर आफ्नो पक्षमा हुनुपर्ने मागको नेपालले विरोध गर्दै आएको छ। भारतीय पक्षको ५१ प्रतिशत सेयर दाबीको विषय पूरा गर्न नसकिने नेपालले जनाउ दिएको छ। नेपालले भारतमा ऊर्जा बिक्रीका लागि राजनीतिक स्तरबाटै आगामी दिन छलफल गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
यस्तै, कोशी बाँधबाट उत्पादन भएको बिजुली नेपाललाई समेत उपलब्ध गराउनुपर्ने विषयमा पनि कुनै सम्झौता हुन सकेन। यस्तै, टनकपुरबाट नेपालले १ सय मेगावाट विद्युत् खरिद गर्नुपर्ने र विद्युत् महशुल केही वृद्धी गर्नुपर्ने भारतीय पक्षले राखेको मागमा सम्झौता भएन। अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना युद्धस्तरमा सक्ने विषय पनि सम्झौताका बुँदामा थिए तर त्यसमा सामान्य छलफल बाहेक केही भएन।
३. नहर
महाकाली सन्धि अनुसार भारतीय पक्षले टनकपुर बाँधबाट नेपाली भूभागमा पानी खसाल्न करिब डेढ किलोमिटर नहर बनाउने सम्झौता हालसम्म कार्यान्वयन भएको छैन। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो विषयमा कुनै सम्झौता हुन सकेन। यस्तै, गण्डक नहरबाट नेपालले ४० हजार हेक्टर जमिन सिँचाइ गर्न पाउनुपर्ने सम्झौता भए पनि २५ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ भइरहेको छ। थप १५ हजार हेक्टर जमिनमा सिँचाइ गराउनका लागि सम्झौता गर्ने भनिए पनि त्यस विषयमा सामान्य छलफल बाहेक केही भएन।
४. वस्तु र सेवा सम्बन्धी कर (जिएसटी)
भारतलाई एकीकृत साझा बजार बनाउने उद्देश्यले भारतले जिएसटी लागू गरेपछि आफूहरु मारमा परेको भन्दै नेपाली व्यवसायीले नेपाल सरकारलाई जिएसटी कम गर्न राजनीतिक स्तरबाटै कुरा गर्नुपर्ने माग राखेका थिए। भारतबाट नेपालमा निकासी हुने वस्तुमा जिएसटी लागू नगर्ने समझदारी भए पनि भारतीय व्यापारीले जिएसटीको कारण देखाउँदै भुक्तानी रकम बढाउने गरेका छन्। प्रधानमन्त्रीको भारत भ्रमणमका क्रममा जिएसटीमा केही छुट हुनुपर्ने विषयमा छलफल गरिए पनि औपचारिक सम्झौता भएन।
५. भारतीय नोट सटही
भारत सरकारले ५ सय र १ हजारको नोट नचल्ने घोषणा गरेपछि नेपालमा वैधानिक रुपमा रहेका भारतीय रुपैयाँ कसरी सटही गर्ने भन्ने अन्यौल अझै कायम छ। राष्ट्रबैंकको टोलीले भारतीय पक्षसँग भेट गरी छलफल गरे पनि कुनै निकास निस्किएको छैन। नेपालमा रहेका वैधानिक रकमलाई सटही गर्ने विषयमा प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा कुनै सम्झौता भएन।
६. एलपी ग्यास बुलेट
ग्यासको आपूर्ति सहज गर्न नेपाल आयल निगमले नेपाली ग्यास बुलेट खरिदका लागि सूचना प्रकाशित गरेको थियो। सूचना बमोजिम नेपाली व्यापारीले ७ सय २५ बुलेट खरिद गरे। भारतीय पक्षसँगै भएको सम्झौता अनुसार नेपाली नम्बर प्लेटका बुलेटले भारतबाट ग्यास ल्याउन पाउनुपर्ने भए पनि सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले सम्झौता कार्यान्वयन गरेको छैन। बुलेट खरिद गरेका व्यापारी भारतीय पक्षका कारण मारमा परेका छन्। प्रधानमन्त्रीको भ्रमणममा नेपाली बुलेटबाटै ग्यास ढुवानी गर्ने विषयमा सामान्य छलफल भए पनि सहज आपूर्तिका विषयमा कुनै सम्झौता भएन।
७. हुलाकी राजमार्ग निर्माण
हुलाकी राजमार्ग निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा सामान्य छलफल भएको छ। यद्यपि दोस्रो चरणमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवदेन डिपिआरमा भने हस्ताक्षर हुन सकेन। नेपाली पक्षले दोस्रो चरणको निर्माणका लागि डिपाआर तयार गर्ने विषयमा ध्यानाकर्षण गराउने बाहेक भ्रमणमा केही पनि भएन।
८. एयर रुट थप
नेपालले पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने काम गरिरहेको छ। सिमरातर्फको हवाइ मार्ग साँघुरो भएको भन्दै नेपालले जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरतर्फ हवाइ मार्ग थप गर्नुपर्ने प्रस्ताव गरेको छ। रुट थप गर्दा अन्तर्राष्ट्रिय उडानमा नेपाललाई सहज हुन्छ। एयर रुट थप गर्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्झौता भएन।
९. डुबान
भारतीय बाँधका कारण नेपाली भूमी डुबानमा परेकाले त्यसको समाधानका लागि भारतीय पक्षलाई ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र बाँध व्यवस्थापनमा सम्झौता गर्न सांसदहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। बाँध व्यवस्थापनको विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कुनै सम्झौता भएन। भारतीय पक्षले निर्माण गरेका बाँधले नेपाली भूमीमा परेको असर समाधानका लागि दुवै पक्षबाट पहल हुनुपर्ने कुरा भ्रमणका क्रममा उठेको छ। बाँध व्यवस्थापनमा भने सांसदहरुको ध्यानाकर्षणका बाबजुद सम्झौता नगरी प्रधानमन्त्री फर्किएका छन्।
१०. कृषि क्षेत्रमा सहकार्य
नेपालमा खादमलको माग वार्षिक ५ लाख टन छ। सरकारले भेन ग्लोबल टेन्डर मार्फत ३ लाख टन मल भित्र्याउँदै आएको छ। खरिद पक्रिया पूरा गर्न लामो समय लाग्ने भएकाले खादमल आवश्यक पर्ने मौसममा सधैँ अभाव हुँदै आएको छ। खेतीको समयमा मल अभाव हुन नदिन भारत सरकारसँग वार्षिक २ लाख टन युरिया, १० लाख टन डिएपी र ५ लाख टन पोटास मल दुवै पक्षबीच सम्झौता गरी भित्र्याउने विषय एजेन्डामा समावेश भए पनि सम्झौता हुन सकेन।
दस्ताबेजहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।