काठमाडौं– धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि लगातार दोस्रो पटक जित्दा रोहन मुस्ताफाको प्रेरणादायी प्रदर्शन रह्यो।
युएई राष्ट्रिय टिमका कप्तान मुस्ताफाले डिपिएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा रहेका मुस्ताफाले ७ इनिङमा १ सय ९८ रन जोडेका थिए। ३३ को औसतमा ब्याटिङ गरेका उनको प्रतियोगितामा सर्वाधिक स्कोर ६० रन थियो। बलिङतर्फ बढी विकेट लिने खेलाडीमा छैटौं स्थानमा रहेका उनले ६ इनिङमा ९ विकेट लिएका थिए। यही प्रदर्शनको आधारमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए। सर्वोत्कृष्ट खेलाडी बापत उनलाई २ सय सिसीको पल्सर एनएस मोटरबाइक प्रदान गरियो।
डिपिएलको उपाधि जिते लगत्तै उनी युएईतर्फ उडेका थिए। किनकि उनको घरेलु टिम सारजाहले युएई क्रिकेट लिग मेन्स् टी–२० को फाइनलमा प्रतिस्पर्धा गर्दै थियो। हतारहतार युएई पुगेकै दिन उनी दुबईविरुद्ध फाइनलमा उत्रिए। खेलमा उनले १ विकेट लिनुका साथै ४२ जोडे। उनको टिम सारजाहले ८ विकेटले दुबईलाई हराउँदै उपाधि जित्न सफल भयो। यसरी मुस्ताफाले २ दिनको अन्तरमा २ फरक देशमा २ टी–२० प्रतियोगिताको उपाधि उचाल्न सफल भए।
दुई दिनको अन्तरमा दुई देशमा उपाधि उचालेपछि युएईको पत्रिका 'द नेसनल'ले मुस्ताफाको सफलताबारे समाचार छापेको थियो। त्यसपछि द नेसनलले समाचार ट्विट गर्दै नेपालमा जितेको बाइक बारे प्रश्न गरेको थियो। जवाफमा उनले नेपालमा जितेको नगद पुरस्कार उतै दान गरेको र बाइकको रकम पाकिस्तानमा दान गर्ने जवाफ फर्काएका थिए। उनले भनेका छन्, 'मैले म्यान अफ दि म्याचमा जितेको रकम उतै दान गरेको छु। अब बाइकलाई बेचेर आएको रकम मेरो बुबाको नाममा पाकिस्तानमा दान गर्नेछु। किनकि मेरो बुबाले मलाई क्रिकेटमा लगाएकाले म अहिले यहाँ छु।'
उनले पाएको २ सय सिसीको पल्सर एनएस मोटरबाइकको मूल्य करसहित २ लाख ९५ हजार ९ सय रुपैयाँ पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।