एजेन्सी– शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा बेलायत र फ्रान्सको संलग्नता भएको कारबाहीबाट आफ्नो मिसन पूरा भएको घोषणा गरे । उनले सिरियामा राष्ट्रपति बसर अल असद लक्षित थप कारबाही वा आक्रमण तत्काल नहुने पनि प्रस्ट पारेका छन्।
ट्रम्पको घोषणा बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त रुपमा सिरियाको रसायनिक भण्डारसँग सम्बन्धित ३ क्षेत्रमा हवाई कारबाही गरेको केही घन्टामा नै आएको थियो। ती राष्ट्रको संयुक्त कारबाही सिरियाली सरकारले डोउमा सहरमा गत हप्ता प्रयोग गरेको भनिएको रसायनिक हतियारको जवाफ भएको दाबी गरिएको छ।
तर, ट्विट्रमा व्यक्त भएका अभिव्यक्ति, ग्राउन्ड जिरोको अनुभव र प्रभावमा भने आकाश जमिनको अन्तर देखिएको छ। केही सूचकले उक्त कारबाहीले सिरियाली राष्ट्रपति बसर अल असद र सिरियाली सरकारलाई रत्तिभर असर नगरेको देखाएका छन्।
सिरियामा सुरु भएको संघर्ष यही मार्च १५ मा ८ वर्ष लागेको छ। यसले सिरियामा विध्वसंका साथै करिब ५ लाख मानिसको ज्यान लिइसकेको छ भने करिब ६० लाख मानिस विस्थापित भइसकेका छन्।
शनिबार भएको हवाइ कारबाहीले सिरियाको रसायनिक केन्द्रसँग सम्बन्धित क्षेत्रमा भौतिक क्षति त पु¥यायो, तर भवन र अन्य संरचनामा मात्रै। जसका कारण सिरियाली सरकारलाई केही क्षति पुगेको छैन। न त यसले यहाँको संकट नै समाधान गर्नेछ। बरु, शनिबारको कारबाहीले एउटा मात्रै उद्देश्य पूर्ति गरेको छ त्यो हो सिरियामा रसियन फौजलाई नभड्काउनु, जसका कारण वासिङ्टन र मस्कोबीचको तनाव नबढोस्।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा कारबाही हुनुपूर्व दिएका अभिव्यक्ति र चुनौती कारबाहीपछि फिक्का सावित भएका छन्। अर्थात् यस कारबाहीले केही ठोस असर त पारेको छैन तर असदको पक्षमा नैतिक समर्थन बढाइदिएको छ।
ट्रम्पको यो असफलता बेलायती प्रधानमन्त्री थेरेसा मेले जारी गरेको विज्ञप्तिमा पनि देखिएको छ। बेलायती प्रधानमन्त्री मेले सिरियाको कारबाही सिरियाली सत्ता परिवर्तन वा आन्तरिक विषयमा हस्तक्षेप गर्ने नभएको तर रसायनिक हतियारको प्रयोगका विपक्षमा रहेकाले भएको प्रस्ट पारेकी छिन्।
यता, फ्रान्सले जारी गरेको विज्ञप्तिमा पनि कारबाही सिरियाली पक्षधरलाई लक्षित नगरिएको प्रस्ट पारेको छ। जसमा सिरियाली पक्षधरका रुपमा रसियालाई प्रस्तुत गर्न खोजिएको छ भने छद्म रुपमा इरान र हेजबुल्लाहलाई इंगित गरिएको छ।
अझ ट्रम्पको भनाइलाई अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिले पनि धुमिल बनाइदिएको छ। अमेरिकी रक्षा मन्त्रालयले सिरियाली कारबाही असद शासनको विरुद्धमा नभएको प्रस्ट पार्दै कारबाहीको उद्देश्य असदलाई रसायनिक हतियार प्रयोगबाट रोक्नका लागि भएको उल्लेख गरेको छ।
हवाई कारबाहीको सन्देश
सिरियामा भएको कारबाहीपछि विभिन्न विश्लेषक एवं विज्ञले ट्रम्पको अहिलेको कदमबारे टिप्पणी र विश्लेषण गरिरहेका छन्। अधिकांशले ट्रम्पले वासिङ्टनमा आफूमाथिको आलोचना आलोचना र विभिन्न विवादास्पद घटनाबाट बच्नका लागि यो उपाय अपनाएको दाबी गरेका छन्।
पछिल्लो पटक भएको कारबाहीले सिरियाली जनतालाई कुन र कसरी सहजता प्रदान गर्यो भन्ने अझै प्रस्ट भइसकेको छैन। तर, पश्चिमा राष्ट्रको कारबाहीका बाबजुद पनि सिरियाली सरकारी सेनाले विद्रोहीमाथि विजय हासिल गरिरहेका छन्।
तर, अहिले सिरियाली जनता ती राष्ट्रदेखि क्षुब्ध भएका छन्, जसले पहिले आफूलाई सिरियाली जनताको सहयात्री र सहयोगीका रुपमा अघि सारे। यसले उनीहरुलाई प्रताडित गर्न बाहेक अरु केही गर्न नसकेको उनीहरुलाई अनुभव हुन थालेको छ।
क्यालिफोर्निया स्टेट युनिर्भसिटीका प्राध्यापक इब्राहिम अल मरासीले पनि शनिबार भएको कारबाहीको संकेत र सन्देश निकै गम्भीर रहेको तर यसको प्रभाव न्यून भएको बताएका छन्।
‘अमेरिकाको सिरिया नीतिमा देखिएको मतभेदले अमेरिकासँग मजबुत रणनीति नभएको देखाएको छ भने रसिया र इरानलाई भने सिरियाली सत्तालाई सघाउने बलियो योजना रहेको देखाएको छ,’ मरासीले अलजजिरालाई भनेका छन्।
‘सिरिया मामलामा सफलता हासिल गर्नका लागि अमेरिकी सरकारलाई बलियो कूटनीतिक समर्थन र सहयोग चाहिन्छ तर अहिलेको सत्तालाई त्यो सम्भव छ भन्ने म आफैंले पनि देख्दिनँ,’ वल्र्ड पोलिसि इन्स्टिच्युटका रिसर्च फेलो जोनाथन क्रिस्टोलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।