काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कथाले अहिले विकास मागेकाले त्यही अनुसार अभिनय कर्म गर्न कलाकारहरुसँग आग्रह गरेका छन्।
प्रतिक्रिया र अन्तर्वार्ताहरुमा सामान्यतया कथाले मागे अनुसार अभिनय देखाउने बताउने गरेका कलाकारहरुसँग सामूहिक रुपमा भेटेर देशले अहिले विकास र समृद्धि मागेकाले सोही जिम्मेवारीबोध गरेर अघि बढ्न सुझाएका हुन्।
सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले चलचित्रका कलाकारहरुका लागि आयोजना गरेको दिवा भोजमा नेपाल चलचित्र कलाकार संघका पदाधिकारीसहितका कलाकारहरु पुगेका छन्। भोजमा वरिष्ठ हास्य अभिनेता मह जोडी, राजेश हमाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर सहित करिब एक सय कलाकार सरिक भए।
भेटमा प्रधानमन्त्री ओलीले फिल्ममा भूतका कथाहरु नदेखाउन चलचित्रकर्मीसँग आग्रह समेत गरे। ‘भूतका कथाले बोक्सी प्रथाको प्रवर्द्धन गर्छ, त्यसबाट अन्धविश्वास अझ बढ्छ’, उनले भने।
चलचित्र मनोरञ्जन दिने कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रमाइलो गर्दा शरीरका रसायनका साथै चिन्तनमा सकारात्मक असर पर्ने बताए।
प्रधानमन्त्रीले भोज सरकारी खर्चमा नभई आफ्नो व्यक्तिगत खर्चमा गरेको समेत प्रस्ट्याए।
'ढुकुटी रित्तो छ, खर्च घटाउन लागिपरेका छौं, हार्दिकता बाँड्न यो जमघट गरिएको हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।