माले- मालदिभ्स सरकारले ४५ दिनदेखि जारी सङ्कटकाललाई बिहीबारदेखि हटाएको छ। राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखि जारी सङ्कटकाल हटेको घोषणा गरेका हुन्।
मालदिभ्स टाइम्समा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, 'मालदिभ्सको सर्वोच्च अदालतमा कार्यरत दुई न्यायाधीशद्वारा संविधान बमोजिम बनेको सरकारलाई सत्ताबाट हटाउने अभिप्रायका साथ संविधान र स्थापित कानुनी मुल्य र मान्यताविपरीत हुनेगरी राजनीतिक नेतृत्वसँग मिलेर निर्णय दिएपछि यसबाट राष्ट्रिय सुरक्षामा खतरा हुने बताउँदै सरकारको आग्रहमा घोषणा भएको सङ्कटकाल मार्च २२ देखि लागू हुने गरी हटाइएको छ।'
महाअभियोजनकर्ताको कार्यालयको सहयोगमा मालदिभ्सको प्रहरी सेवाले भ्रष्टाचार तथा अन्य अपराधजन्य संवैधानिक सङ्कटलाई अनुसन्धान गरी अघि बढ्न सकिने देखिएकाले सङ्कटकाललाई हटाउने निर्णय भएको पनि जनाइएको छ।
सर्वोच्च अदालतले फेब्रुवरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेपछि राष्ट्रिय सुरक्षामा चुनौती तथा संवैधानिक सङ्कट बढेको भन्दै राष्ट्रपति यमीनद्वारा गत फेब्रुवरी ५ देखि १५ दिनका लागि जारी गरिएको सङ्कटकाल समय थप ३० दिनका लागि बढाई ४५ दिन पुर्याइएको थियो।
सङ्कटकालका समय वर्तमान प्रशासनद्वारा मालदिभ्सका सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा एक अर्का न्यायाधीश र पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई संवैधानिक रूपमा बनेको सरकार ढाल्ने षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।