राजविराज– माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिन नै सप्तरीमा ३ सय ८६ विद्यार्थी अनुपस्थित भएका छन्। १ सय ७१ छात्र र २ सय १५ छात्रा गरी कुल ३ सय ८६ जना विद्यार्थी बिहीबारको परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिए।
परीक्षा दिने सोच बनाएर फारम भरेकामध्ये कतिपय छात्राहरुको बीचमै विवाह हुने तथा कतिपय विद्यार्थी रोजगारीका क्रममा विदेश पुग्ने भएकाले उपस्थिति संख्या घटेको हुनसक्ने अधिकारी पाण्डेले बताए। तर, परीक्षाको पहिलो दिन नै यति ठूलो संख्यामा विद्यार्थी अनुपस्थित हुनुको यकिन कारण भने जिल्ला शिक्षा कार्यालयसँग छैन।
सप्तरीमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको छ। अघिल्ला वर्षहरु झैं विद्यार्थीदेखि निरीक्षकसम्मलाई निस्कासित गर्नुपर्ने गरी कुनै काम नभएको कार्यालयले जनाएको छ।
यस वर्ष सप्तरीमा नियमिततर्फ ८ हजार ५ सय १४ र एक्ज्याम्टेडतर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ विद्यार्थी परीक्षामा सहभागी छन्। ७७ सामुदायिक, ४४ निजी र १ खुला गरी कुल १ सय २२ विद्यालयका विद्यार्थीको ३६ वटा केन्द्र मार्फत परीक्षा लिइँदै छ।
प्राविधिकतर्फ बोदे वरसाइन, कल्याणपुर, खुरहुरिया, बोरिया, कट्टी र फत्तेपुर गरी ६ वटा तथा एक्ज्याम्टेडतर्फका विद्यार्थीका लागि राजविराजस्थित राजदेवी र पवि मावि गरी २ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षामा ३६ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, ४ सय १ निरीक्षक र २ सय १५ कार्यालय सहयोगी खटिएका छन् भने प्रत्येक केन्द्रमा १५ जनाका दरले कुल ५ सय ४० सुरक्षाकर्मी खटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।