काठमाडौँ- दृष्टिविहीन र छापा अक्षर पढ्न नसक्ने अपांगता भएका ८० जना विद्यार्थीलाई एन्ड्रोइड मोबाइल वितरण गरिएको छ।
अपांगता अधिकार विकासका लागि क्रियाशील नेपालले श्रव्य पुस्तक अध्ययन गर्न मिल्ने सामसुङ ग्यालेक्सी अन सेभेन प्रो मोबाइल वितरण गरेको हो। नमुना मक्षिन्द्र मावि, मेगा कलेज र सञ्जिवनी माविलगायत प्रदेश नं ३ का विभिन्न स्कुल र कलेजका दृष्टिविहीनसम्बन्धी अपांगता भएका व्यक्तिलाई सो मोबाइल वितरण गरिएको हो।
इलाम, झापा, पाँचथर, लमजुङ, कास्की, पर्वत र गोरखा लगायतका जिल्लामा २२० वटा मोबाइल वितरण गरिसकेको क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेलले जानकारी दिए। आगामी दिनमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी बाँके र बर्दियालगायतका जिल्लामासमेत दृष्टिविहीनका लागि मोबाइल वितरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ।
पछिल्लोपटक बोल्न र सुन्न नसक्ने वा अन्य प्रकृतिका अपांगता भएका व्यक्तिका लागि सबै प्रकृतिका सूचना, सञ्चार तथा प्रविधि अपांगमैत्री बन्दै गएको छ। सरकारले अपांगता भएका व्यक्तिका लागि ‘पहुँचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपांगतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चारमाध्यम भाषागत हिसाबलेसमेत अपांगतामैत्री बन्दै गएका छन्।
नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् ५ लाख १३ हजार ३२१ जना रहेका छन्। यसमा शारीरिक अपांगता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन्।
त्यसैगरी, बोलाइसम्बन्धी अपांगता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपांगता ६, बौद्धिक अपांगता २ दशमलव ९ र बहुअपांगता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।