काठमाडौं- साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ९ दशमलब ४० अंकले घटेर १ हजार २ सय ७८ दशमलब ९६ को बिन्दुमा पुगेर कारोबार रोकिएको छ।
आइतबार १ सय ५२ कम्पनीको ३० करोड ४ लाख ७९ हजार ७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जसमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २ करोड ६३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
कम्पनीले चैत २८ गते हुने साधारणसभाका लागि चैत २४ गतेदेखि साधारणसभाको दिनसम्म सेयरधनी पुस्तिका बन्द हुने जनाएको छ। त्यस्तै, नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आइतबार कारोबारमा अएका सबै समूहमा गिरावट आएको छ। यस दिन होटल समूह अन्तर्गतका लगानीकर्ताले ७० दशमलब ७६ अंकको गिरावट आएको छ। त्यस्तै, बिमा समूह ५२ दशमलब ४ अंकले घटेको छ भने जलविद्युत् समूहमा ३३ दशमलब १३ अंकको गिरावट आएको छ।
आइतबार छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ अर्थात् ४ प्रतिशतले बढेको छ। त्यस्तै, स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २६ रुपैयाँ अर्थत् ३ दशमलब ८३ प्रतिशतले बढेको छ।
यता अपि हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको छ। त्यस्तै, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ५८ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।