विराटनगर– पूर्वी क्षेत्रमा वन क्षेत्र अतिक्रमण र रुख कटान तीव्र बनेपछि त्यसविरुद्ध प्रशासन सक्रिय भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्काल रुख कटान रोक्न निर्देशन जारी गरेका छन् भने प्रदेश २ को सिरहामा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरिएको छ।
जिल्ला वन कार्यालय सिरहाले जिल्लाको कर्जन्हा नगरपालिका १ उतराईनीस्थित नन्दबाबा सामुदायिक वनक्षेत्रमा अतिक्रमण गरी बनाइएका ४० भन्दा बढी घर टहरा भत्काएको छ। जिल्ला वन अधिकृत सुनिलकुमार सिंह नेतृत्वको वनकर्मीहरुको टोलीले सामुदायिक वनक्षेत्रको जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा भत्काएको हो।
कमला नदी आसपास रहेको सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी धमाधम घर टहरा निर्माण हुन थालेकोले ती संरचना भत्काइएको जिल्ला वन अधिकृत सिंहले बताए। सामुदायिक वन संरक्षणको आडमा अतिक्रमण गरी बस्ती बनाउने काम तीव्र रुपमा बढेपछि त्यसविरुद्ध अभियान सुरु गरिएको उनको भनाइ छ। पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरिएपछि बल प्रयोग गर्नुपरेको उनले बताए।
सिरहामा संक्रमणकालीन राजनीतिक अवस्थाको फाइदा उठाएर ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणम गरिएको अधिकृत सिंहले जानकारी दिएका छन्। २१ हजार ४४ दशमलव ९ हेक्टर वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको उनले बताए।
अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको उनको गुनासो छ।
लहान, मिर्चैया, गोलबजार र कर्जन्हा नगरपालिका अन्तर्गत पर्ने सामुदायिक वन अतिक्रमण गरी वनक्षेत्रमा पक्की घरसमेत निर्माण भइरहेको छ। राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय प्रशासनका प्रमुखले भने वन तस्कर र अतिक्रणकारीलाई कुनै संरक्षण नदिने लिखित प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन सहयोग गर्ने बताएका छन्।
यता, वैज्ञानिक वन व्यवस्थापनको आडमा वन फँडानी वढेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी तराईको चारकोशे झाडीमा रहेका रुख काट्ने कार्य तत्काल रोक्न निर्देशन दिएका छन्।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई तत्काल रुख काट्ने काम रोक्न निर्देशन दिएको र सो सम्वन्धमा सरोकारवालासँग छलफल समेत गर्न लागिएको मुख्य मन्त्री कार्यालयका प्रमुख सचिव यादव कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।