काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान मन्त्रिपरिषदमा अब मात्र तीन सिट बाँकी रहेको छ। तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन्।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाउने सुविधा छ। त्यसैले प्रधानमन्त्रीले अब बढीमा तीन मन्त्री मात्र थप्न पाउनेछन्।
प्रधानमन्त्रीसँग सहरी विकास र स्वास्थ्य तथा जनसंख्या गरी २ मन्त्रालय मात्र बाँकी छ। फोरमलाई सरकारमा सहभागी गराउन भन्दै सरकारले ३ मन्त्रालय फुटाएको थियो।
प्रधानमन्त्री ओलीले सुरुमा फोरमलाई सरकारमा ल्याउन परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्य मन्त्रालयको प्रस्ताव गरेको थियो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले सुरुमा फोरमलाई परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिन प्रस्ताव गरेका थिए।
तर फोरमले परराष्ट्र मन्त्रालयभन्दा दुई विकासे मन्त्रालय माग गरेपछि सरकार अन्तिम समयमा लचिलो बन्यो।
फोरमले अब सहरी विकास र स्वास्थ्य मन्त्रालयसहित सरकारमा जानेछ।
सहरी विकास मन्त्रालय फोरम अध्यक्ष उपेन्द्र यादवले लिने पक्का छ। तर स्वास्थ्य मन्त्रालयमा कसलाई पठाउने भन्नेमा फोरमभित्र पनि विवाद छ।
अशोक राई समूहलाई व्यवस्थापन गर्न फोरम अध्यक्ष यादवलाई राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने बाध्यता छ। तर मधेशबाट प्रतिनिधित्व गर्ने सांसदले श्रेष्ठलाई कुनै हालमा मन्त्री बन्न नदिने दबाब सिर्जना गरेका छन्। सोही कारण फोरम आज भएको मन्त्रिपरिषद विस्तारमा सहभागी भएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।