काठमाडौं– जिम्बावेमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफको महत्वपूर्ण खेलमा पपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाएको छ।
सन् २०२२ को अन्त्यसम्मका लागि एकदिवसीय मान्यता पाएसँगै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटको राम्रो व्यवस्थापन हुर्नु पर्ने बताएका छन्। 'हामीलाई अब उपयुक्त व्यवस्थापन चाहिएको छ। यो सजिलो पनि छ,' उनले युएईको पत्रिका द नेसनलसँग कुरा गर्दै भने, 'यदि हामीले देशमा राम्रो प्रणाली र व्यवस्थापन पायौं भने क्रिकेट समृद्ध बन्दै जान्छ। नेपाली क्रिकेटमा के हुन्छ त्यसले मतलव राख्दैन । हामी अघि बढ्न राम्रो व्यस्थापनको जरुरी छ।'
पारसले मैदान बाहिरको कुरा बिर्सिएर खेल्ने गरेको पनि बताएका छन्। 'एउटा खेलाडीको रुपमा आफैबाट आत्मविश्वास बटुलिरहेका छौं। हामी मैदान बाहिर के भइरहेको छ त्यो बिर्सिएर मैदान भित्र छिर्छौं,' उनले भने।
झन्डै दुई वर्षअघि नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीले निलम्बन गरेको थियो। आन्तरिक विवादका करण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेट टिमको व्यपस्थापन हेर्दै आएको छ। आइसिसीले नेपाली टिमको व्यपस्थापन हेर्ने क्यानको विवाद समाधान गर्ने पटक पटक पहल गरेपनि सफल हुन सकेको छैन। एकदिवसीय मान्यता पाएसँगै अब विभिन्न देससँग सिरिज खेल्न व्यपस्थापन पाटो महत्वपूर्ण मानिन्छ।
पछिल्ला वर्षमा नेपालले राम्रो क्रिकेट खेलिरहेको बताएका पारसले विश्वकप छनोटको सुपर सिक्समा पुग्न नसकेपछि एकदिवसीय मान्यतामा केन्द्रित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।