काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनको मूल प्रवाहबाट बाहिरिएका सबै शक्ति र समूहलाई एकतामा आउन आग्रह गरेका छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको भावना र चाहना मुताबिक पार्टी एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरेका हुन्। उनले कम्युनिस्ट आदर्श र विचार नै छाडेर नयाँ शक्ति नेपाल निर्माण गर्नुभएका डा बाबुराम भट्टराईलाई पनि समयको माग अनुसार पुनः मूल घरमा फर्कन आग्रह गरे।
अध्यक्ष दाहालले भने, 'सहिद, बेपत्ता, घाइते योद्धा, नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै एकता प्रक्रियामा आउनुस्। बिग्रिएको केही छैन। एकतामा आउनुस्। मिलेर समाजवादको यात्रा तय गरौं।'
उनले मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत एकतामा आउन आग्रह गरे। संविधानले समृद्धिको मार्ग प्रशस्त गरेकाले सोही अनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
नेपाली जनताले वाम गठबन्धनलाई सुविधाजनक बहुमत दिएकाले जनअपेक्षा अनुसार सरकारले काम गर्ने पनि उनले विश्वास दिलाए।
कार्यक्रममा नयाँ शक्ति नेपाल गोरखाका जिल्लास्तरीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।