काठमाडौं- युएस-बाङ्ला विमान दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा गठित जाचँबुझ आयोगले मंगलबारदेखि काम सुरु गरेको छ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव सुरेश आचार्यले जाँचबुझ आयोगले काम सुरु गरेको जानकारी दिँदै मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई प्रभावकारी बनाइने बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-सचिव आचार्यले भने, 'यो अन्तर्राष्ट्रिय उडानमा सरिक विमान दुर्घटना भएकाले अनुसन्धानका लागि धेरै खालका विज्ञहरुको संलग्नता रहन्छ, जहाज निर्माता क्यानेडियन कम्पनीलाई जानकारी गराइसकेका छौं। बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई पनि खबर गरिएको छ।'
उनले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्थासँग सहकार्य गरेर अनुसन्धान कार्य अघि बढाउने उल्लेख गरे।
सह-सचिव आचार्यका अनुसार व्यापारिक उडानमा रहेको विमान दुर्घटनाको यति अवधिमा छानबिन गरिसक्ने भन्ने विश्वव्यापी मान्यता नरहे पनि सकेसम्म पाँच महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने भन्ने प्रारम्भिक सम्झौता भएको छ।
६ सदस्यीय जाचँबुझ आयोगको सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनहरु केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी छन् भने सदस्य-सचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्।
पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक सञ्जीव गौतमका अनुसार दुर्घटनामा परी हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए। जसमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए।
विमान दुर्घटना सम्बन्धमा जाचँबुझ आयोगको प्रतिवेदन नआईकन केही बताउन नमिल्ने भए पनि यसमा चालकको लापरवाहीले दुर्घटना भएको हुनसक्ने उड्डयन प्राधिकरणको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ।
क्यानका महानिर्देशक गौतमले दुर्घटनाबारे आयोगले विमानको प्राविधिक पक्षको प्रतिवेदन तयार गरेपछि मात्र थाहा हुने भए पनि असाधारण अवतरणका कारण दुर्घटना भएको हुनसक्ने बताए।
सरकारी तथ्यांक नै बाझियो
गृह मन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले मंगलबार दिउँसो जारी गरेको विज्ञप्तिमा विमान दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको जानकारी दिएका थिए। तर, उक्त तथ्यांक नमिलेको भन्दै नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले दुर्घटनामा ४९ जनाको मात्रै मृत्यु भएको जानकारी दिए। उनका अनुसार, उपचारार्थ अस्पताल भर्ना भएका घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
हालसम्म प्राप्त विवरण अनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्रान्डी अस्पतालमा चार तथा मेडिसिटी, ओम र न्यूरो अस्पतालमा एक/एक जनाको उपचार भइरहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
– सिवी अधिकारी / रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।