ढाका– आइतबार ४ दिनको औपचारिक भ्रमणका लागि सिंगापुर पुगेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भ्रमण छोट्याएर मंगलबार अपरान्ह स्वदेश फर्किने भएकी छन्। युएस–बांग्ला एयरको विमान दुर्घटनामा परेको समाचारपछि भ्रमणलाई छोट्याउँदै उनी स्वदेश फर्किन लागेकी हुन्।
सिंगापुरका समकक्षी ली ह्सेइन लुङको निमन्त्रणामा हसिना गत आइतबार सिंगापुर पुगेकी थिइन्।
प्रधानमन्त्री हसिनाका प्रेस सल्लाहकार इह्सनुल करिमले विमान दुर्घटनामा आफन्त गुमाएका तथा घाइते भएका परिवारलाई सान्त्वना दिन हसिना ‘विमान बंगलादेश एयरलाइन्स’को नियमित उडानबाट स्वदेश फर्किने बताए।
नियमित भ्रमण तालिकाअनुसार प्रधानमन्त्री हसिनाको बुधबार मात्रै बंगलादेश फर्किने कार्यक्रम थियो।
मध्यरातमा सिंगापुरबाटै बंगाली भाषामा एक भिडियो संदेश जारी गर्दै प्रधानमन्त्री हसिनाले नेपालको त्रिभुवन विमानस्थलमा भएको युएस-बंगलाको विमान दुर्घटनामा मृतक बंगलादेशी नागरिकप्रति श्रदाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी थिइन्। उनले भनिन्, ‘म अहिले निकै विक्षीप्त अवस्थामा छु। घटनामा आफ्ना परिवारजन गुमाएका बंगलादेशीसहित नेपाल, माल्दिभ्स तथा चिनिया नागरिकका परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
सन्देशमा प्रधानमन्त्री हसिनाले दुर्घटनामा घाइतेहरुको उपचारमा नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताएकी थिइन्।
उनले सोमबार नै नेपाली समकक्षी केपी शर्मा ओलीसँग सिंगापुरबाट फोन वार्ता गर्दै दुर्घटनाको अवस्थाबारे जानकारी लिएकी थिइन्।
फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो। ४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु सवार सो विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परि २२ जना घाइते भएका थिए।
विमानमा ३३ नेपालीसहित ३२ बंगलादेशी, माल्दिभ्स र चीनका एक/एक यात्रु सवार थिए। मृत्यु हुनेमा बंगलादेशका मात्रै २९ जना छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।