काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो। आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन्।
जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आयोगले यथाशीघ्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरेको बताए। बैठकले सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारणा गर्न आग्रह गर्दै उद्धारमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक र अन्य सबैप्रति आभार प्रकट गरेको छ।
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटना हुँदा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका २२ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहिको अवस्था चिन्ताजनक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।