काठमाडौं- निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक सरकारले श्वेतपत्र जारी गर्न लागेको र त्यसमा सेयर बजारलाई विशेष प्राथमितामा राख्ने हल्लापछि उकालो लागेको थियो। तर, नेपाल बैंकर्स संघ र एनआइसी एसियाबीच ब्याजदरका बारेमा भएको विवादले बजारलाई फेरि नकारात्मक बाटोतर्फ लगेको सेयर जानकारहरु टिप्पणी गर्न थालेका छन्।
आइतबार ३१ अंकले घटेको बजार सोमबार केही सम्हालिएको देखिन्छ। कारोबारको मध्यभागमा सकारात्मक गति लिने प्रयासमा रहेको नेप्से परिसूचक अन्ततः ७ दशमलव शून्य ८ अंकले घटेर बन्द भएको छ।
सोमबार १ सय ५४ कम्पनीको ३१ करोड ३१ लाख ६ हजार ९ सय १६ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो। जबकि आइतबार ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।सोमबार कारोबारमा आएका ९ उपसमूह मध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। यो समूह २० दशमलव ९४ अंकले बढेको छ।
यता, होटल समूहअन्तर्गत लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा ३५ दशमलव ६९ अंकको गिरावट आएको छ। त्यस्तै, लघुवित्त समूहमा १९ दशमलव ३ अंकको गिरावट आएको छ।
यसदिन सर्वाधिक गुमाउनेमा काबेली विकास बैंक अन्तर्गतका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य ५ दशमलव ३३ प्रतिशत अर्थात् १५ रुपैयाँले घटेको छ। त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य पनि ५ प्रतिशतले घटेको छ।
यसदिन बैंकिङ समूह अन्तर्गतका कम्पनीहरुको सेयरको सर्वाधिक कारोबार भएको छ। सबैभन्दा बढी एभरेस्ट बैंकको १ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सोमबार सर्वाधिक कमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक अन्तर्गतका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य ७ प्रतिशतले अर्थात् १२ रुपैयाँले बढेको छ। त्यस्तै, कालिका माइक्रोक्रेडिटको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।