भैरहवा- सिद्धार्थनगर नगरपालिकाले आह्वान गरेको दोस्रो नगरसभा बैठक अधिकांश वडा सदस्यहरुले बहिस्कार गरेका छन्। नगरपालिका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतसहित केही कर्मचारीले एकलौटी रुपमा सभालाई अगाडि बढाएको भन्दै नगरसभा बहिस्कार गरी हिँडेको वडा सदस्यहरुले बताएका छन्।
वडा सदस्यहरुले नगरप्रमुख हरिप्रसाद अधिकारी तथा कार्यकारी अधिकृत यमबहादुर कुँवरले जबर्जस्ती नगरसभामा विधेयकहरु पास गराएकाले आफूहरुले नगरसभा बहिस्कार गरेको बताए। वडा नम्बर ६का सदस्य दीपक श्रेष्ठले बहुमत सदस्यले ५ नम्बर प्रदेशको आर्थिक विधेयकमा जनप्रतिनिधिको तलब भत्तामा विभेद गरेको विषयमा हलबाहिर बसेर छलफल गरिरहेका बेला नगर प्रमुखले एक्कासि विधेयक पास गरेपछि आफूहरुले नगरसभा बहिस्कार गरेको बताए।
उनले सभा सुरु भएको एक घण्टापछि सभामा भाग लिन आएका नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र चरम राजनीतिकरण गरेको आरोप समेत लगाए।
नगर प्रमुख अधिकारीले वडा सदस्यको मानहानी हुने गरी पटकपटक एकलौटी रुपमा काम गर्दै आएको बताउँदै वडा सदस्यको मानमर्दन गर्ने काम रोक्न चेतावनी समेत दिए। सदस्य श्रेष्ठले नगरप्रमुख अधिकारीले आफूहरुलाई कार्यतालिकासहित बैठकमा बोलाएर बाहिर रहेका सदस्यलाई भित्र नबोलाई हिटलरले जस्तै गरी पास गर्दै हिँडेका बताए।
वडा नम्बर ३ की सदस्य रुपमाया पुनले प्रथम नगरसभामा पनि नगर प्रमुखले सदस्यहरुलाई बाईकट गरेको र दोस्रोमा पनि त्यही प्रक्रिया दोहोर्याएकाले आफूहरुले बाध्य भएर बहिस्कार गर्नुपरेको बताइन्।
वडा सदस्य नारायणप्रसाद उपाध्यायले नगरप्रमुख, उपप्रमुख, केही वडा अध्यक्ष र कर्मचारीले समेत वडा सदस्यालाई बेवास्ता गर्दै आएको बताए।
पत्रकारलाई समाचार संकलनमा रोक
भैरहवामा सुरु भएको दोस्रो नगरसभाको समाचार संकलनमा पत्रकारहरुलाई रोक लगाइएको छ।
महेन्द्र सभागृहमा भइरहेको नगरसभाको समाचार तथा भिडियो र तस्बिर संकलनमा रोक लगाएका हुन्। समाचार संकलनका लागि कार्यक्रम स्थलभित्र जान खोज्दा नगरप्रमुख हरिप्रसाद अधिकारीको आदेशमा नगरप्रहरीले रोकेको हो।
भित्र नगरसभाले धमाधम रुपमा विधेयकहरु पास गरिरहँदा बाहिर भने अधिकांश वडा सदस्यले नगरसभा बहिस्कारको नाराबाजी गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।