काठमाडौं– पछिल्लो समय देशका आर्थिक सूचकहरु खासै सकारात्मक छैनन्। तर, नयाँ सरकारमा अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा आएसँगै आर्थिक क्षेत्र गतिशील हुने अपेक्षा भने बढेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका डा खतिवडा अर्थतन्त्र बुझेका व्यक्तिमध्ये पर्छन्। उनले गर्भनर हुँदा गरेका निर्णयका कारण उद्योगी–व्यवसायीमा मात्र होइन जनताको तहमा समेत उनीप्रति अपेक्षा बढेको हो। डा खतिवडा अर्थमन्त्री बनेसँगै आर्थिक सूचकहरु सकारात्मक बन्ने अनुमान हुन थालेको छ।
बुधबार मात्रै सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थ मन्त्रालयले आयोजना गरेको मध्यावधि समीक्षामा मन्त्री डा खतिवडाले आर्थिक वृद्धिदरको लक्ष्य घटाएर ६ प्रतिशत हासिल गर्ने संशोधित लक्ष्य राखेको जनाए। सरकारले यसअघि यो आर्थिक वर्षमा ७ दशमलब २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो।
पछिल्ला केही वर्षमा आर्थिक वृद्धि त्यति सन्तोषजनक छैन। सारकारी पुँजीगत खर्च लक्ष अनुरुप हुन सकेको छैन भने निर्यातभन्दा आयातदर दिनप्रतिदिन बढ्दै गएको छ।
यस्तो अवस्थामा स्थिर सरकार बन्ने आशा र अर्थ मन्त्रालयमा डा खतिवडाको नेतृत्वले देशको अर्थतन्त्रलाई सकारात्मक गति दिन सक्नेछ भन्ने अपेक्षा उद्योगी–व्यवसायीहरुमा समेत पाइन्छ।
लगानीमैत्री ऐन आवश्यक
मुलुकको अर्थतन्त्रलाई बुझेका व्यक्ति अर्थमन्त्री हुँदा देश आर्थिक सम्वृद्धितर्फ अघि बढ्छ भन्ने आशा गर्ने ठाउँ रहेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा। उनले नयाँ सरकारको गठनसँगै राजनीतिक अस्थिरता अन्त्य भएको व्यवसायी समुदायले महसुस गरेको बताए। भने, ‘यो आर्थिक सम्वृद्धितर्फ अघि बढ्ने समय हो, त्यसका लागि सरकारले देशमा लगानीमैत्री वातावरण र्सिजना गरिदिनुपर्छ।’
अहिलेका ऐन तथा नियम लगानीमैत्री नभएको उनले बताए। ‘लगानीको वातावरण सिर्जना गर्न अहिले भएका कतिपय ऐनलाई संशोधन गर्नु आवश्यक छ,’ गोल्छाले भने।
उनले देशको आर्थिक सम्वृद्धिका लागि पहिले पूर्वाधार विकास आवश्यक रहेको औंल्याए। भने, ‘लगानीका लागि आवश्यक भनेको पूर्वाधार हो। पछिल्लो समय हामीले पूर्वाधारको यथोचित विकास गर्न सकेका छैनौं र भएका पूर्वाधारलाई पनि सम्भार गर्न सकेका छैनौं।’ औद्योगिक विकासका लागि पहिलो आवश्यकताका रुपमा रहेको जग्गाको मूल्य पछिल्लो समय अस्वभाविक ढंगले बढेकाले त्यसलाई नियन्त्रण गर्नु जरुरी रहेको गोल्छाको सुझाव छ।
लगानीयोग्य पुँजी आवश्यक
देशले अर्थतन्त्रलाई राम्रोसँग केलाउन सक्ने व्यक्ति अर्थमन्त्री पाएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन्। उनले भने, ‘उहाँले अर्थतन्त्रलाई राम्रोसँग बुझ्नु भएको छ। कसरी देशको अर्थतन्त्र सुदृढ हुन्छ त्यही अनुसारको नीति लिनु हुनेछ भन्ने विश्वास छ।’
मन्त्री नियुक्त भएपछि उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री डा खतिवडाले लगानी योग्य पुँजी अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए। उनले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई नियन्त्रण गरेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने संकेत गरेका थिए।
मुलुकमा पछिल्ला केही वर्षमा लगानीयोग्य पुँजी (तरलता) अभाव देखिएको छ। ढुंगाना जतिसक्दो चाँडो यो समस्या समाधान हुनुपर्ने धरणा राख्छन्। ‘यसका लागि कर्जा र निक्षेपको सन्तुलन मिलाउन आवश्यक छ,’ उनले भने।
निजी क्षेत्रले निर्धक्क लगानी गर्ने वातावरण बन्नुपर्नेमा ढुंगानाले जोड दिएका छन्। उनी भन्छन्, ‘आगामी बजेटमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम आवश्यक छ।’
‘रियल स्टेट डराएको छैन’
घरजग्गा (रियल स्टेट) को कारोबारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिँदै आएका डा खतिवडा अर्थमन्त्री बनेपछि पुनः एकपटक घरजग्गाको कारोबार शिथिल हुने हो कि आशंका उब्जिएको छ। तर, घरजग्गा व्यवसायी भने अर्थमन्त्री डा खतिवडाप्रति आशावादी रहेको बताउँछन्।
‘अर्थतन्त्रलाई बुझेको व्यक्ति अर्थमन्त्री हुनु घरजग्गा व्यवसायीका लागि पनि खुसीकै कुरा हो नि,’ रोड सो रियल स्टेटका अध्यक्ष कालु गुरुङ भन्छन्, ‘उहाँले राष्ट्र बैंकको गर्भनर हुँदा रयल स्टेटलाई व्यवस्थित गर्न जुन किसिमको नीति लिनुभयो त्यो सह्रानीय थियो। हामी व्यवसायीले त्यसको प्रभाव र महत्व बुझिसकेको छौं। हामी उहाँदेखि डराएका छैनौं।’
डा खतिवडाले लिएको नीतिकै कारण सच्चा व्यवसायी यस क्षेत्रमा टिकिरहन सकेको उनको बुझाइ छ। भन्छन्, ‘आगामी दिनमा पनि उहाँले रियल स्टेट व्यवसायलाई थप व्यवस्थित बनाउनुहुन्छ र देश आर्थिक सम्वृद्धितर्फ अगाडि बढ्छ भन्नेमा म आशावादी छु। उनले जथाभावी घरजग्गाको कारोबार गर्ने र रातारात पैसा कमाउनेहरुलाई असर परे पनि दीगो व्यवसाय गरेर बसेकालाई खासै असर नपर्ने बताए।
डा खतिवडाले राष्ट्र बैंकको गर्भनर हुँदा २०६७÷०६८ मा घरजग्गाको कारोबारलाई लगाम लगाएका थिए। खतिवडाले त्यसबेला बैंकहरुलाई रियल स्टेटमा लगानी गर्न अंकुश लगाइदिएपछि घरजग्गा कारोबार एकाएक ओरालो लागेको थियो।
बिरामी अर्थतन्त्रलाई निको पार्ने मौका
अर्थतन्त्रका अधिक सूचकहरु नकारात्मक रहेका बेला त्यसलाई सकारात्मक बनाउने चुनौती अर्थमन्त्री डा खतिवडा सामु छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘नेपालको अर्थतन्त्रलाई नजिकबाट नियालेर यसलाई चलायमान बनाउन सक्ने व्यक्ति अर्थमन्त्री हुनु भएको छ। उहाँले अर्थतन्त्रलाई गतिशील बनाएर मुलुकलाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गर्नुहुनेछ।’
पछिल्लो समयमा बिरामी बनेको देशको अर्थतन्त्रलाई निको पार्ने खुबी डा खतिवडामा रहेको बताउँदै पौडेलले त्यसका लागि केही समय भने लाग्न सक्ने जनाए।
सेयर बजारलाई अनुत्पादक मान्दै आएका डा खतिवडा अर्थमन्त्री बनेपछि पुँजी बजार ओरालो लागेको सन्दर्भमा पौडेल भन्छन्, ‘पुँजी बजार नकारात्मक बटोतर्फ अगाडि बढेको देखिएको छ। यसको मुख्य कारण पुँजी बजारमा स्पष्ट नीति नहुनु र प्रविधिमैत्री बन्न नसक्नु हो। अर्थमन्त्री डा खतिवडाले यो कुरा राम्रासँग बुझेकाले यसको समाधानतर्फ उहाँले सक्दो पहल गर्नुहुनेछ।’
उनले पुँजी बजारमा लोकप्रियताका लागि भन्दा पनि दीर्घकालीन महत्व राख्ने नीति ल्याउन आवश्यक रहेको बताए। उनले गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन कानुन निमार्ण गर्नु आवश्यक रहेको औंल्याए।
पौडेलले सेयर बजारमा कमर्सियल बैंकलाई ब्रोकर लाइसेन्स र अनलाइन ट्रेडिङ कारोबारलाई तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्री डा खतिवडाले भूमिका खेल्नुपर्ने बताए।
डा खतिवडाले राष्ट्र बैंकमा गर्भनर हुँदा २०६७÷०६८ मा सेयर कारोबारलाई अनुत्पादक क्षेत्रमा लगानी भन्दै लगाम लगाएका थिए।
डा खतिवडाले राष्ट्र बैंकमा गभर्नर हुँदा गरेका सुधारका कामले गर्दा नै उनीप्रति सकारात्मक देखिएको उद्योगी व्यवसायी बताउँछन्।
अर्थतन्त्रको बागडोर हाक्ने ठाउँमा पुगेका अर्थमन्त्री डा खतिवडा अर्थतन्त्रबारे चासो र ज्ञान भएका आमनागरिक, उद्योगी व्यवसायीको केन्द्रमा छन्। उनका लागि घस्रँदै हिँडेको नेपालको अर्थतन्त्रलाई दौडिने बनाउने र आफूलाई प्रमाणित गर्नुपर्ने परीक्षा सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।