काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका छन्।
त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।
सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिएका हुन्। निर्वाचनमा विजयी हुने दुवै पक्षका आ–आफ्नै तर्क छन्। सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गरेका छन्।
संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ ७:३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो। निर्वाचन तालिकाअनुसार आज बिहान ८:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए।
आजै बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हुनेछ। मतदान समाप्त भएलगत्तै मतगणना सुरु हुने उनले जानकारी दिए। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन्।
पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।