त्यो दिनको सुरुवात सामान्य थिएन। खै किन त्यो समय मेरो पक्षमा लेखिएको लाग्छ अझै पनि। सम्भवतः साना-साना कुरामा खुसी हुने स्वभावका लागि त्यो मनोचेतमा यो कुरा असामान्य नै थियो।
घरको पछाडिपट्टि खेत थियो। म कपडाको बल आकाशतिर फालेर खेलिरहेको थिएँ। बा आँगनमा तमाखु तान्नमा मस्त हुनुहुन्थ्यो। तान्दातान्दै बाको आवाज सुनियो- ‘ए लाटा काँ छै?’
‘हौ बा भन।’
‘आज शनिबार हो, गाईको गोठालो तँ जा है।’
‘हुन्छ हो हुन्छ।’
म पनि भित्रभित्रै गाईको गोठालो जानुपर्ला भनेर सोचिरहेको थिएँ। अब बाले नै अर्याएपछि मलाई ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ लाग्यो।
५ कक्षामा पढ्थें। सायद उमेरले पनि यतातर्फ झुकाव राख्न सहयोग गरेको हुनुपर्छ।
भदौको महिना। बिहानैदेखि पारिलो घाम लागेको थियो। घडीमा १० बज्नै आँटेको थियो। खाना खाइवरि म गोठतर्फ लागेँ।
गाईको नाम ‘गेदु’। प्रायः गाउँघरतिर सबैले आफ्ना डियाँबाच्छाको नाम राख्ने चलन हुन्छ। मैले गाईगोरु खोएँ र वनतर्फ लागें। बाटोमा अरुका पनि गोरु भेटिए। गोठालापिच्छे गाईगोरु चराउने वन अलग-अलग हुन्थे। कसैले सिरुल्ले गैरा लैजान्थे भने कसैले ढुस्का। केलारी, मुल्लाकोट, राता पघार र ताल्तु पनि गाईगोरु चराउने थप गन्तव्य थिए।
बाटोमा गोठालो जाँदै गरेकी कान्छी बजै भेटिइन्। ‘ए किन्ने! गाई जुजन्ना। हेर्यई है,’ बजैले अह्राइन्। मैले हुन्छ भने।
कान्छी बजै मलाई ‘किन्ने’ भनेर बोलाउँथिन्। मेरो र उनका बाको नाम एकै थियो- कृष्ण। आफूभन्दा ठूलाको नाम लिन पाप हुन्छ भनेर उनी मलाई किन्ने भन्थिन्।
‘किन्नु’ भनेको जनावरका शरीरमा रगत खानलाई टाँसिने एक प्रकारको जीव। किन्नुलाई रुपान्तरण गरेर उनी किन्ने भन्थिन्। मलाई कहिलेकाहीँ साथीहरु यही नाम काढेर जिस्काउँथे पनि। तर, नराम्रो लाग्थेन। बजैले मायाले राखेको नाम मलाई धेरै प्यारो थियो।
‘बजै अगाडि गोरु कन्ल-कन्ल लिएका छन् रा?’
‘हित, सित र बितले लिए।’
यति सुन्ने बित्तकै मलाई आत्तुरी लाग्यो। हतार-हतार गाईको पुछि निमोठ्दै दौडाएर अगाडि लागें।
केही बेरको दौडाइपछि तीनै जनालाई भेट्टाएँ। डाँडाखालीबाट वन जाने बाटाहरु छुट्टिन्थे। ताल्तु जानेमा हामी चारै जनाको एकमत रह्यो।
नाताले हित दाई, सित अंकल र बित बाजे पर्थे। तर, एउटै कक्षामा पढ्ने हामी नाताको बन्धन बाहिर थियौं। मन मिल्ने साथी थियौं।
ताल्तुभन्दा माथि मुल्लाकोट आउँछ। हामी ताल्तुमा रोाकिएनौं र गोरु खेद्दै मुल्लाकोट पुग्यौं। चरन क्षेत्रमा पुगेपछि घर नफर्कुन्जेल गाईगोरु र गोठालाको आफ्नै सुर हुन्थ्यो। त्यस दिन पनि त्यही भयो।
गाईगोरु चर्न थाले। हामी राङ्गा खेल्न। राङ्गा अर्थात् लट्ठीको सहयोगमा खेलिने खेल। लट्ठीको मुख मसिनो बनाएर जमिनमा गाड्ने र त्यसमै अडिनुपर्थ्यो। भने अर्कोले त्यसलाई हानेर ढाल्नुपर्थ्यो। जसले उक्त लट्ठी ढाल्यो त्यो उसैको हुन्थ्यो। लट्ठी गुमाउनेले नयाँ लट्ठी ल्याउनुपर्थ्यो।
हितले २ वटा र बितले ३ वटा लट्ठी आफ्नो बनाइसकेका थिए। सित र मेरा लागि भने हित र बितको चुनौती भारी परिरहेको थियो। यत्तिकैमा मुखिया बाजे झुल्किए। उनी सहयोगीका साथमा गाईगोरु खेद्दै मुल्लाकोट आइपुगेका थिए। उनी गाउँका मुखिया थिए। उट्पट्याङका लागि पनि उनी गाउँमा ‘मुखिया’ नै कहलिन्थे। छक्कापञ्जा गर्नमा उनमा तत्कालै अनेक थरिका उपाय फुर्थे। त्यसमाथि केटाकेटीसँग पनि सहजै घुलमिल हुनसक्ने मुखिया बाजे यतिसम्मका चतुर थिए कि उनीहरुलाई प्रभावमा पार्न खल्तीि केही न केही खानेकुरा टुटाउँदैनथे। कहिले गुड, कहिले गोट्टा, कहिले भुटेका मकै-भट्ट त कहिले खट्टे।
अरुको खिल्ली उडाउन पाउँदा उनको मन प्रसन्न हुन्थ्यो। यसका लागि केटाकेटी उनका बलिया साधन बन्थे। मुखिया बाजे यसो गरिस् भने यो दिन्छु भन्दै केटाकेटीलाई प्रभावमा पार्थे। गुड, गोट्टा, खट्टेलयायत खान पाइने लोभमा हामीलाई उनले भने अनुसार गर्न कुनै हिच्किचाहट हुँदैनथ्यो। अहिले निवुवाको नाम सुन्दा जिब्रो रसाउँछ। उतिबेला मुखियाले गुडको नाम लिने बित्तिकै मुखै रसिलो भएर र्याल बग्थ्यो।
000
यसबीचमा यसअघि मुखिया बाजेले गरेको एउटा कर्तुत सुनाउँछु।
अरु बेलाझैं मुखिया बाजेले घौसेलाई थोरै गुड दिए।
धौसेले क्वाप्प मुखमा हाल्यो। गुडको गुलियोमा उसको मुख फेरि सलबलायो। धौसेले मुखिया बाजेलाई आग्रह गर्यो- बाजे! अरु ल्यावतै। मुखिया बाजेलाई चाहिएको नै यही थियो। अब उनले धौसेमाथि सर्त राख्ने ठाउँ पाए।
‘अरु खाने भए, मैले भनेको मान्नुपर्छ, मान्छस् त?’
धौसेले भन्यो- मान्छु।
‘त्यसो भए सुन। मैले भनेको मानेपछि भोलि यो सबै गुड तलाई हुने भो।’
धौसेले गुडको गुलियोभन्दा बाहेक सोचेको थिएन। हतारमा बोल्यो- ‘भन बाजे के हो?’
त्यतिबेला गुड पाउनु त कासीको जल पाउनु बराबर थियो धौसेलाई। गाउँमा पसल पनि थिएनन्। गाउँका मुखिया भएकाले बाजेलाई कोही परदेशबाट त कोही बजारदेखि गाउँ आउँदा गुड ल्याइदिन्थे। गाउँमा मुद्दामामिलादेखि थोरबहुत विकास निर्माणमा पनि सहयोग गर्ने भएकोले उनी गनिएका थिए। मुखियाले कुनैबेला आफूलाई लगाएको गुन सम्झिएर पनि गुड मात्रै होइन कतिपयले लत्ताकपडासमेत ल्याइदिन्थे। त्यसकारण पनि बाजेका लागि गुड खास थिएन। तर, धौसेका लागि भने असामान्य। धौसे गुडमा लोभिनु स्वभाविक थियो।
‘तँ मेरा कुरा राम्रोसँग सुन,’ बाजेले धौसेको भित्री मर्म बुझिसकेका थिए। भने, ‘तेरा घरमा खाना सबै सातै खान्छन्?’
‘अँ सातै खान्छन्,’ धौसेले तत्कालै जवाफ फर्कायो।
मुखिया बाजेलाई गाउँमा को कतिखेर खाना खान्छन् भने हेक्का थियो। त्यसमाथि धौसेको परिवार त बाजेको छिमेकमै थियो। आडैमा भएको घरमा को कतिबेला आउँछ, जान्छ, खान्छ थाहा नहुने कुरै भएन।
‘बाछै तेरा घर सबै खाना खान लाग्य बेला बालाई सोध्नु,’ बाजेले गुडको लोभमा परेको धौसेलाई गृहकार्य दिए।
केटाकेटी उमेरको धौसेलाई के थाहा, के कुरा सोध्न हुने र नहुने भन्ने।
कतै भुलिपो जान्छ कि भनेर धौसेलाई बाजेले सुवा रटाई गराए। हातमा गुड खेलाउँदै बाजेले पटक-पटक सोधे- मैले के सोध्नु भनेको छु रे केटा?
धौसे आज्ञाकारी सुनियो। उ पटक-पटक ‘यो भने तमीिले’ भन्दै जवाफ फर्काइरह्यो।
‘अब भुल्ने त होइनई?’
‘नाई भुल्लैन।’
गुडको लोभमा परेको धौसे त्यो दिन कहीँकतै नभुली सरकार घर पुग्यो। मनमा वेचैनी थियो, कतिखेर साँझ पर्थ्यो र खाना खाने बेला हुन्थ्यो भन्ने। उ छटपटाउन थाल्यो। एक तले घरको माथिल्लो कुनापट्टी थियो चुलो। उ घरभित्र र बाहिर गर्न थाल्यो। खाना खाने बेलाको प्रतिक्षामा रहेको धौसेलाई त्यसदिन भोक थिएन। थियो त मात्र साँझको पर्खाइ। उसलाई यत्ति ढिलो साँझ परेको यसअघि लागेको थिएन।
परिवारमा धौसेबाहेक बा, आमा, दाई र भाउजु मात्र थिए। परिवारका सबै कामबाट फर्किसकेका थिए। धौसेकी आमाले सबैलाई खाना पस्किइन्। धौसे घरकै कान्छो भएकाले सबैको प्यारो थियो। सदाझैं उ त्यसदिन पनि सबैको बीचमा बस्यो।
दुई/तीन गास खाना खाएपछि धौसेले बातिर हेर्यो। बाले पनि एक छेउ खाना सकिसकेका थिए। दाई र भाउजुको पनि शीर थालतिरै ढल्किएको थियो।
‘बा!’
‘भन् बा के भए?’
‘बा रात आमासँग कति पल्ट खेल्दा छौ?’
परिवारसहित बसेका सबैको खाना हातको हातैमा, मुखको मुखैमा रह्यो। सबै लाजले भुतुक्क भए। खासमा कान्छो छोरो त्यसमाथि सबैको प्यारो धौसेले यस्तो भन्ला भनेर कसैले चिताएका थिएनन्।
प्रश्नको अर्थका बारे बेखबर धौसेले सपासप खाना खायो। अरु सबैको शीर लाजले उभोँ हुन सकेन। धौसेलाई अरुलाई के भइरहेको छ भन्ने प्रवाह थिएन। उ मात्र प्रसन्न थियो, भोलि गुड पाइने भयो भनेर।
यति कलिलो केटालाई यस्तो सोध्न कसले लगायो होला?
घरका सबैलाई यो प्रश्नमा धेरै घोत्लिनु पर्ने अवस्था थिएन कि यो सबै करामत मुखिया बाजेको नै हो। यस्तो सिकाउने मुखिया बाजेभन्दा अरु को नै हुन सक्छर? सबैले मनमनै निचोड निकाले।
000
आज मुखिया बाजे दिनभर हामीसँगै रहे।
ठट्यौली स्वभावका मुखिया बाजेसँग को रमाइलो मान्दैनथ्यो र। कहिलेकाँही त मुखिया बाजे आफू मुखिया हुँ भन्ने पनि भुलिदिन्थे। यस्तो अवस्थामा उनीसँगै भएकाले रमाइलो नमान्ने कुरै भएन।
आज पनि बाजेले मुखिया भन्ने भुलेका थिए। कारण उनी आज साथीजस्तो सम्झिएर हामीसँग खेल्न तम्सिएका थिए। त्यसमाथि उनी आज अरु दिनको भन्दा फरक खेलका साथ आएका रहेछन्।
पारी दैलेख, बीचमा कर्णाली नदी, यताउता डाँडाकाडा, हरियाली रानीवनको लोभलाग्दो जंगल आफैंमा सुन्दर र प्रकृतिको उपहार नै थियो। घाँस काट्ने घँसारीहरु ठाडी भाका गाउँदै थिए। गोठालाहरु बाघबाट बाख्रा, गाईगोरुलाई डर नहोस् भनेर सुस्केरा हालिरहेका थिए।
हामीसँगै रहेका बाजे भने हामीलाई नयाँ खेलतर्फ ध्यान मोड्दै थिए। बाजे उटपट्याङ गीत पनि सिकाउँथे। हुन त राम्रो नराम्रो सबै जानेर मुखिया भइने होला। यस्तै लाग्थ्यो मलाई।
000
धौसेलाई जस्तै एकदिन मुखिया बाजेले मलाई पनि त्यस्तै उट्पट्याङ अर्ति दिएको कहिल्यै बिर्सन्नँ।
साउनको महिना थियो। बाजेले मलाई जंगलमा पाइने सिरुल्ले (एक प्रकारको कन्दमुल जो स्वादमा रसिलो र मिठो हुन्छ) खान दिए। एउटा खाएपछि मलाई अरु पनि खाऊँ-खाऊँ लाग्यो। सेतो रङको हुने सिरुल्ले रङ फरक भए पनि मानौं यो गाजरको कुनै सानो रुप हो लाग्थ्यो।
‘बाजे यो काँ पाइन्छ?’
‘ओ माप्ये यत्तिपन थाहा नाइके?’
‘नाई बाजे।’
‘यो त घोगा (मकै) गडामा पाइन्छ।’
‘घोगा गडामा काँ हुन्छ बाजे?’
‘यो त घोगाका जडामा हुन्छ। तेरा पन घोगा त लाएका हुन्न।’
‘अँ छन्।’
‘आफ्नाँ घोगा छनाछनाई मैसँग माग्दो।’
मुखिया बाजेले सिरुल्ले खोज्ने तरिका सिकाइ¬दिए। ‘पहिला सबै घोगा काट्नु, पछि उक्काउनु, कसै-कसै जडामा मात्र पाइन्छ।’
भदौको महिना, बारीमा भर्खर दोस्रो चोटी गोडमेल गरेका मकै थिए। घर नजिकैको ठूलो बारीमा।
त्यति सुनिसकेपछि म दौडेर घर आएँ। हसियाँ समाते। अनि मकै बारीमा गएर भकाभक मकै काट्न थाले। पहिला सबै काटेर पछि उक्काएर खोजौला भनेर। मैले बारीका आदि जति काटिसकेको थिएँ। आमा घर आइपुग्नभएछ। बोलाउनुभयो।
‘काँ छैई?’
‘म गडामा छु।’
‘गडामा क्या हद्दो छै त?’
‘म सिरुल्ले खोद्दो छु।’
आमा मेरो कुरा सुन्ने बित्तकै म भए ठाउँमा आउनुभयो। खेतका आधाजस्तो मकै काटेको देखेपछि आमाको रिसको पारो चढ्यो। एकाएक मप्रति गाली बर्सिन थाले। ‘तैकन जन काट्नु के भए त? सबै घोगा काटर बाँजो बनाय।’
मेरो हातमा रहेको हसियाँ खोस्दै आमाले भन्नुभयो- ‘कन्ल भन्यो घोगा काटेपछि सिरुल्ले पाइन्छ भनेर?’
मैले नाम नभन्नुको विकल्प थिएन। डराउँदै भनें- ‘मुखिया बाजेले भनेका हुन्।’
‘जन्ल जे भन्यो साँचै मान्नो। बासउडो बान्नु हुने।’
आमाको रिस थामिएको थिएन। तुरुन्तै मुखिया बाजेका घरतिर लाग्नुभयो। म पनि दौडिँदै पछिपछि लागे।
‘केराकेटीलाई उल्टो-उल्टो किन सिकाउना छौ। छोराल सबै घोगा काटेर बाजो बनाई दियो। मुखिया जसा मान्छे ना लाज मानि खाव पन।’
‘मैले घोगा काट भन्या हु के त सिरुल्ले खोज भन्या हु।’
‘अबदेखि मेरा छोरालाई केही नसिकाउनु, निको सिकाउन सक्ताइनौ भने नाटो पन नसिकाउनु।’ मुखियालाई आमाले भनेको यो अन्तिम वाक्य थियो।
यति हुँदा पनि आमाको रिस साम्य भइसकेको थिएन। घर फर्केर बारीमा मैले फाँडेका सबै मकैलाई समेटर गोठमा लिएर राख्नुभयो। यो समय पनि आमा नबुझिने गरी मुर्मिरहनुभएको थियो। आमाले यो सब काम छिटोछिटो गरिरहनुभएको थियो। यसबाट सजिलै थाहा हुन्थ्यो कि आमाको रिसको पारो घटेको थिएन।
आमाको यो रिस र हामीमाथि बर्सिएको गाली स्वाभाविक थियो। किनकी हाम्रो त हिउँद भरी पेट पाल्ने मकै न थियो, जसमा मैले हसियाँ चलाएको थिएँ।
000
मुल्लाकोटको चौर छेउमा एउटा ठूलो सालको रुख थियो। मुखिया बाजे त्यही रुखको फेदमा बसेका थिए। यसबीचमा उनी आफ्नो हात पनि चलाइरहेका थिए भने हामीसँग गफिँदै पनि थिए।
‘गोरु कैथा ल्याएका हौ?’
हामीले एक साथमा उत्तर दियौं- अघि ल्याएका हौं।
‘काँ गए गोरु हेरर आव, काई बागको डर होला।’
गोरु कता गए भन्ने लागेर हामी सबै आ-आफ्ना गोरु हेर्न गयौं। गोरु नजिकै रहेछन्। हामी चौरको डिलनेर पुग्दैगर्दा बाजेलाई भन्यौं- ‘तले हेउनाई छन्।’
त्यति बेलासम्म मुखिया बाजेले खेल मैदान तयार पारिसकेका रहेछन्। त्यो मुल्लाकोटको चौर ठूलो र समथर पनि थियो।
मैदानभन्दा केही पर बसेका मुखिया बाजेले भने- सब जना यहाँ आव।
मुखिया बाजेको आदेश पालना गर्दै उनी बसेको ठाउँमा पुगेर सौध्यौं- किन बाजे?
‘काम छ। बस।’
हामी बसेका मात्र के थियौं माथितिरबाट गोरुको घाँगो(घण्ट) बजेको आवाज आयो। ठिन्के गोरु ल्याएर हामीतिरै आउँदै रहेछ। ठिन्के कदमा हामीभन्दा केही ठूलो थियो।
मुखिया बाजेले ठम्याउन नसकेपछि सोधे- ‘को हो राई?’
‘ठिन्के हो बाजे,’ मैले भने।
‘ल तेइकी आउन देव त।’
एकछिनमै ठिन्के आइपुग्यो र भन्यो- ‘म पन आएँ त, मुखिया बाजे। के सिकाउन लागेका छौ, मैकि पन सिकाव।’
‘लौ त, बस् तँ पन,’ बाजेको आदेश पालना गर्यो ठिन्केले।
अब खेलबारे हामीलाई जान्नुथियो। ‘एक खेल खेलाउँछु। बाग फट्टक। जो यो खेल जित्छ उसलाई यो एक मुठ्ठी भुटेका भट्ट दिन्छु,’ बाजेले खेलको रहस्य खोले। त्यसमाथि जित्नेलाई पुरस्कार पनि सुनाए।
शनिबारका दिन आज जंगलमा सिकेर भोलि स्कुलमा खेलाउन पर्ला भनेर हामी सबैले हुन्छ भन्यौं। यसले हामीलाई खुसी थपिदिएको थियो। खेलबारे जान्ने हुटहुटीले हितले सोध्यो- ‘बाग फट्टक कसो खेल हो भन बाजे?’
मुखिया बाजे जुरुक्क उठे र भने- ‘सब उठ। हामी सबैजना उठ्यौं र मुखिया बाजेको पछिपछि लागेर मुल्लाकोटको चौरको बीचमा पुग्यौं।’
‘यो मैले धड्को हालेको छु। र त्यहाँ मैले सल्लिकुसुम राखेको छु। यस धड्काबाट जो ती सल्लिकुसुम माथि ठ्याक्कै फट्टक हानेर खुट्टा टेक्छ उसलाई यो एक मुठ्ठी भट्ट दिन्छु। र एक जनाले एक चोटि मात्रै फट्टक हान्न पाइन्छ नि,’ बाजेले नियम बताए। यतिबेलासम्म हामीलाई बाजेले केही उपद्रो गर्लान् भन्ने कुनै छनक थिएन। सोचेकै थिएनौं। तर, हामीलाई यत्ती भने हेक्का थियो, सल्लिकुसुम यस्तरी चिप्लिन्थ्यो कि वर्षामा चिप्लो माटोमा टेक्दा जसरी।
यो बाग फट्टक खेल नदौडेर रेखा नछोई उभिएर फट्टक हान्ने खेल थियो। हामी सबै फट्टक हान्न राजी त भयौं तर फट्टक हान्नमा आँट आइरहेको थिएन।
उमेर र जिउडालमा पनि हामी सबै साना थियौ। जो अन्तिममा आएको थियो ठिन्के, उ हामीभन्दा बलियो थियो। ठूलो पनि थियो। मुखिया बाजे आफू रेफ्रीको भूमिकामा चनाखो भएर उभिएका थिए। बाजेले छिटो गर भनिरहँदा यता हामीमा फट्टक हान्न सकौंला त भन्ने प्रश्नले गाँजेको थियो।
फट्टक हान्नमा आँट नआउनुको कारण भोक पनि थियो। त्योभन्दा बढी खेलमा हार्ने डर थियो र पुरुस्कार फुत्किने पनि। एकचोटि मात्र फट्टक हान्न पाइने खेलको नियमै तकडा राखेका थिए बाजेले।
ठिन्के हामीभन्दा केही अगाडि बढ्यो र पुरापुर जोसमा सुनियो- ‘सब हट म हान्छु। मैले सकेन भने तमी कोई सक्ताइनौ। मुखिया बाजेका हातका भट्ट म जित्छु।’
अघि बढेको ठिन्केले गति कम गरेन। बरु फट्टक हानिहाल्यो। उ सल्लिकुसुम माथि खुट्टा नपर्दै सुइँइइइइइअ चिप्लियो। तर, चिप्लिए पनि हाँस्दै जुरुक्क उठ्यो।
फट्केले आफूले दिएको चुनौती पूरा गरेको थियो। हामी सबै निराश बन्यौं। मुखियाको हातमा रहेको भट्ट गुमेको थियो। अन्ततः नखेल्दै हारेका थियौं हामी।
ठिन्के कपडामा लागेको माटो हटाउन हातले कट्टुको पछाडिपट्टि टक्टकाउँदै थियो। हाम्रो नजर भने केही पर पुगेको सल्लिकुसुमतिर पर्यो। सल्लिकुसमभरि गु थियो। ठिन्केले पनि देख्यो। हामी सबै हाँस्न थाल्यौं।
गुको गन्ध आइरहेको थियो। उसको कट्टुभरि गु लागेको थियो। ठिन्केले मुखिया बाजेलाई ठूला आँखा बनाएर हेर्यो। उसको मुखबाट गाली पनि बर्सिन थाल्यो।
मुखिया बाजेलाई ठिन्केको गालीको कुनै प्रवाह थिएन। बरु उल्टै उसैलाई चिढ्याउनमा लागे। भन्ने- ‘मैले तलाई गुमाथि फट्टक हान् भन्या हुँ कि सल्लिकुसुम माथि भन्या हु? म त भट्ट दिँनैन। हान् भन्या ठाँउमा फट्टक हान्नैन नहान् भन्या ठाउँनि हान्यो।’
ठिन्केको हालत र बाजेको सर्त सुनेपछि हामीले हाँसो खप्न सकेनौं। एक हिसाबमा आफू गुमा नपरेको भएर पनि सायद हामीमा त्यति अट्टाहस आएको हुनुपर्छ।
‘स्कुल के पड्डा छौ, तम्रो पढ्या केही काम लाग्दैन,’ बाजे रोकिएका थिएनन्। उता ठिन्के पनि एकोहोरो गाली गर्नमा व्यस्त थियो। हामी हाँस्नमा मस्त। सबैजना आ-आफ्नै तालमा केहीबेर व्यस्त बन्यौं हामी।
मुखिया बाजेले आफ्नो रुख बदले। भने- ‘जाव जाव पानी खोज र गु धोइकन आओ। सब जाव वन एक्लै भइ हुन्छ।’
हामीले जान्नौ भन्यौं। तर, ठिन्केले हामीसँग बिन्ती बिसायो।
‘हट तै बिचाराउ म एक्लै भइ मान्नो छु यार। बा छै आमा मैकि मारेल्ले हुन्।’
ठिन्के पनि हाम्रै साथी थियो र उ अफ्ठेरोमा पनि थियो। हामी उसँगै वन जाने पक्षमा उभियौं। र लाग्यौं वनतिर।
ठिन्के अगाडि थियो। हामी उसको पछाडि हिँड्यौं। गुको गन्ध पनि एकतमासले आइ नै रहेको थियो।
बाटोमा हिँड्ने क्रममा मैले भनें- ‘हामी त बच्यौं यार। नत्र आज फट्टक हान्या भए हाम्रो हालत पनि ठिन्केको जस्तो हुन्थ्यो।’
हित, सित र बित तीनै जनाले हो मा हो मिलाए। हाम्रो यतिबेला भोक पनि हराएको थियो। पुरस्कार नपाएर पनि खुसी थियौं। विचरा ठिन्केले नत पुरस्कार पायो नत खुसी नै।
‘ठूलो र बलियो हुनु पनि घाटा रहेछ छ यार। ठिन्के ठूलो र बलियो भएर शरीरमा गु लाग्यो,’ बितले थप आवाज मिसायो।
सित बोल्यो- ‘हामीलाई के थाहा गोरु हेर्न पठाएर मुखिया बाजेले दिसा गरेर माथि सल्ली पात राखेका छन् भनेर।’
खासमा ठिन्केको गु लागेको कट्टु धुनका लागि पानी खोज्दै जंगलभित्र हिँडिरहेका थियौं। यात्राका कारण हुनसक्छ हामीमा पनि पानीको प्यास बढिरहेको थियो। कतै पानी भेटियो भने पहिला आफू पिएर पछि ठिन्केलाई भनौंला भनेर हामी सबैले अघि जाने सल्लाह गर्यौं।
‘ठिन्के तँ पछाडि लाग्, हामी अगाडि जान्छौं। पानी भेटायौं भने तलाईं भन्छौं है। त बिस्तारै आ।’
उ पछाडि लाग्यो। हामी अगाडि। अगाडि बढे पनि हामीलाई डर थियो यदि पानी ठिन्केले भेटायो भने सुरुमा उसले गु लागेका कपडा धुन्छ। त्यसपछि हाम्रो प्यास रहिरहन्छ।
भदौको महिना भएर होला पानी पर्न कम भइसकेको थियो। जंगलभित्र कतै खोला र खोल्साका डोप्काडाप्कीमा मात्र पानी भेटिने सम्भावना थियो। म तिर्खाले हैरान भइसकेको थिएँ। प्यास मेटियोस् भनेर सालका पात चपाउँदै हिँडिरहेको थिएँ। सँगै एकैतिर खोज्नुभन्दा अलग-अलग ठाँउमा पानी खोज्दा चाँडै भेटिएला भन्ने लाग्यो र हामी बाँडियौं।
मुल्लाकोटको चौरभन्दा झन्डै २ किलोमिटर जति पर ताल्तुको गडामा राति माटोमा एउटा खाल थियो। जहाँ गाईगोरु पानी खान्थे। जंगल घना भएकाले कोही कसैलाई देख्न सक्दैनथे। केवल आवाज मात्र सुनिन्थ्यो। मलाई तिर्खा बढ्दै गएकाले म चलाख बनेर खालतर्फ लागें। हिन्दाहिन्दै खाल पुग्न ढिलो भइसकेको थियो। फटाफट हिँड्दा केटाहरुले हिँडेको आवाज सुन्छन् कि भन्ने पनि भयो।
खाल नजिकै पुगें। यताउता हेरें, कोही देखिन। आवाज पनि कतैबाट आएको सुनिन। म हात टेकेर गोरुले जस्तै गरी खालमा मुख डुबाएर पानी पिउँदै थिएँ। ठीक त्यति नै बेला शित आइपुग्यो। म झस्याङङङङ भए। मैले खालको पानी खाएको अब गाँउभरि भन्दिन्छ भन्ने डर लाग्यो।
‘लाटा मैकि पन पानटिस लाग्या छ यार। म त्यही भएर कसैलाई थाहा नदिई पानी पिउँ भनेर खुसुक्क आएको हुँ। ठिन्केलाई पछि भनुला सोचेको थिएँ। तँ त मेरा भन्ना पैलीि आएको?,’ उसले पनि मैले जस्तै गरी पानी पियो। अब भने मेरो मन भित्र डरको चुली भत्किसकेको थियो।
खासमा हात भिजे कसैले त्यति बेला आएर थाहा पाउँछ कि भनेर हामीले गोरुकै जसरी पानी पिएका थियौं।
शितलाई भनें- अब हामी अल्लि पर गएर यहाँ पानी छ भनौंला।
उसले हुन्छ भनेपछि हामी अल्लि पर पुगेर अब खालतर्फ फर्किंदै थियौं। बित हाम्रो नजरमा पर्यो। उ पनि खालतिरै आएको देख्यौं।
दुवै जना चुप लागेर बितलाई हेरिरह्यौं। बितले पनि यताउता हेर्दै हात टेकेर मुखले नै पानी पियो। र त्यहाँबाट फुत्त निस्क्यो र नजिकैको रुखको छेलमा बिलायो।
अब पालो हितको थियो। उ पनि आयो र हामीले जस्तै गरी पानी पियो। खासमा यहाँ पानी छ भन्ने हामी सबैलाई हेक्का थियो। त्यसकारण पनि ढिलोचाँडो हामी खालमा पानी पिउन पुगेका थियौं।
हित र बितलाई आफूले पानी पिएको कसैले देखेको छैन भन्ने लागे पनि हामी दुवैले उनीहरुको अवस्था सबै हेरेका थियौं। बरु उनीहरु हाम्रा बारेमा बेखबर थिए।
शित र म कसैलाई नदेखेझैं गरी खाल नजिकमा पुग्यौं र ठूलो स्वरमा भन्यौं- ‘ए ठिन्के पानी यहाँ छ। यहाँ आ।’
हामी बोलेपछि हित र बित पनि आए। ‘ए! पानी त यहाँ पो रैछ त,’ हितले मुहारमा चमक थप्दै भन्यो।
‘तमी दूई जनाले खालको पानी खाएका छौ। हामीले पर रुखको छेल पारेर हेरिराका थियौं,’ मैले यति भनेको सुनेपछि दुवै जना मुखामुख गर्न थाले। म र शिततर्फ पनि हेर्दै थिए।
बितले बोलिहाल्यो- ‘तैंले पनि खालको पानी खाएको होई। तेरा ओठमा रातो माटो लागेको छ।’ हामी पक्राउ परिसकेका थियौं। अब शितमात्रै चोखो किन बच्नुपर्यो र भन्ने लाग्यो। आफ्नो मुख पुछ्दै पोल खोलिदिएँ- ‘मैले मात्र होइन। यो शितले पनि पानी पिएको हो।’
ठिन्के लखर-लखर कपडा नलगाई खाल नजिक आयो। ‘कपडा गन्न आएर फाली दी क्या हो?,’ ठिन्केलाई सोध्दै हाँस्यौ हामी।
ठिन्केले पनि हामीसँगै हाँसो मिसायो। आफ्नै खिल्ली उडाउँदा पनि ठिन्के किन हाँसिरहेछ? अचम्म लाग्यो।
‘हाँस, हाँस। अघि मेरा हडमो गु लाग्यो र हास्ता छिए। अब म हास्तो भएँ। तमी रुई-रुई उल्टी गर। मेरा त कपडामा गु लाग्यो। तमीहरुले त गु पन खायौ,’ ठिन्कै रोकिने सुरमा थिएन। उ धाराप्रवाह बोलिरह्यो- ‘मैले पनि खालको पानी पिएँ। तर, गोरुको गु र मुत मिसिएको पिएँ। तमीहरुले त मुखिया बाजेको गुसहित खायौ। किनकी मैले ति कपडा हेउनाई धुएँ। गु पखालेर घाम हालेको छु।’
यति सुन्दै हामीलाई वाकवाकी लाग्ला जस्तो भयो। मुखबाट पानी पनि निस्कियो।
सायद यो समय बोल्ने पालो ठिन्केकै थियो। उसले घटनाक्रम सुनाउन रोकेको थिएन। भन्यो- ‘तम्रा पानटिस लाग्यो भन्ना सुनेको थिएँ अघि। तमीहरु अन्त पानी काहीँ छैन। खाल पक्कै आउँछौ भन्ने लागेको थियो। त्यही भएर मलाई पछाडि लाग भनेदेखि नै म तलको बाटो खालतर्फ लागें। यहाँ आएर फटाफट कपडा धुएँ।’
खालको पानी अमिलो त थियो। तर, गोरुले खाएर गए हुनन् भन्ने लाग्यो हामी सबैलाई। तिर्खाएका हामी त्यसमाथि घना जंगलका बीचमा अरु कसैलाई नदेखेपछि एकपछि अर्कोले प्यास मेटेका थियौं। तर, आफैंले राखेको जालोमा हामी आफैं परेकोजस्तो भइरहेको थियो।
‘म त्यो मालुका झुलौनी बसिकन हेरिराखेको थिएँ,’ ठिन्केले जसरी हामी खालसम्म आएका थियौं त्यसैगरी क्रमशः बेलिविस्तार लगायो।
‘तेरै लागि भनेर वनसम्म आका हौं। तैंले नै यसो गर्नी?,’ ठिन्केलाई चारै जना मिलेर गाली गर्यौं।
‘यसमा मेरो के दोष, अरुकी अप्ठ्यारो पर्या बेला हाँस्नु हुँदैन,’ ठिन्केले सहज उत्तर दियो। हामी भने उप्रति अझै आक्रोशित थियौं।
‘ए केराकेटी काँ छौ? पानी लैआए प,’ मुल्लाकोटमा हामीलाई नै कुरिरहेका मुखिया बाजेको डाँडातिरबाट फर्किएको मधुरो-मधुरो आवाज सुनियो। तर, मैले एकैचोटि मात्र हुन्छ भनें। किनकी उनलाई हामी रहेको ठाउँ थाहा नहोस् भन्ने थियो।
भित्रभित्रै मन पोलिरहेको थियो। ठिन्केप्रतिको उम्लिएको रिसमा अहिले मुखिया बाजे पनि मुछिइसकेका थिए। दिमागमा मुखिया बाजेको सैतान पस्यो। लाग्यो-जस्तालाई त्यस्तै किन नगर्ने?
मैले सबैलाई भनें- ‘हेर ठिन्के तेरा शरीरमा गु लाउने र हामीले यो पानी पिउनुपर्ने सबै कारण मुखिया बाजे नै हुन्। त्यसकारण यो खालको पानी लिएर जाउँ र पिलाउँ पानटिसाएका छन बड्डा। बुढिया मान्छे पिई हाल्छन्। त्यसमाथि यो पानी सबैले खोलाबाट ल्याएका हौं भन्नुपर्छ नी। त्यहाँ पुगेपछि मुखिया बाजेलाई भन्नु की हामी गोरु काँ छन् भनेर हेर्न लागेका थियौँ।’
अरु सबै ढिला आउनु म अगाडि जान्छु भनेर बाटो लागें। ठिन्केले मालुका पातको दुनामा राखेको पानी हातमा राखेर म मुल्लाकोट हिँडेको थिएँ।
मुखिया बाजेका अगाडि पुगेर भने- ‘ल है बाजे पानी। बुढियाका मान्छे पानटिसाएका हौला।’
मुखिया बाजे पहिलेकै स्थानमा थिए। रुखको शितलमा बसिरहेका थिए उनी।
‘काँबाट ल्याई त बा पानी?’
‘तल कुसपानीका खोलादेखि।’
मुल्लाकोटको चौरभन्दा तल एउटा कुसपानीको खोला थियो। जहाँ खोलाका खाल्डाखुल्डीमा कहिलेकाहीँ पानी बचेको पाइन्थ्यो। तर, त्यो दिन थिएन।
बाजे फेरि सुनिए- ‘बा भलो हरि। नाति तँ भाग्यमानी भए, ठूलो भए।’
मुखिया बाजेले आर्शिवाद त दिए तर एकैछिनमा त्यो आशिर्वाद श्रापमा बदलियो, जब मुखिया बाजेले यथार्थ थाहा पाए।
बाजे पानी पिउँदै थिए, यही बेला सबै जना आइपुगे। मैले सोधें- ‘पानी पिई सकेले के बाजे? म पन पिउने थिएँ।’
‘यो हेर सकेले भनेर,’ उनले दुनो उधों लगाए।
‘पैला भनेको भए राख्ने थिएँ त भनिनै।’
खासमा मैले मुखिया बाजेले पिएकी पिएनन् जान्न सोधेको थिएँ। सबैजना मुखामुख गरिरहेका थियौं। मुखिया बाजे पानी पिएपछि केही उग्रिएका देखिए। भने- ‘ठिन्के कपडा धुई के?’
ठिन्केले अझै रिस देखाउँदै भन्यो- ‘आँखा फुटेका छन् के धुएँ।’ तर, भित्रैदेखि भने उसमा प्रसन्नता छाएको थियो। हामीमध्ये उ मात्र एक्लो थियो जसले गु खाएको थिएन।
सोधेँ- ‘मुखिया बाजे मुखिया जसा मान्छे वन हगेर झाडा पानी काँ लाउना छौ त?’
‘मेरो सधैं हग्ने यहीं हो। तल ताल्तुका खाल गइकन झाडा पानी लाउनो छु। अघि पन तमी पानी खोज्न गएका बेला म यतैबाट सोझै तल खाल पुगेर आएको हुँ।’
बाजेको आवाज रोकिन नपाउँदै ठिन्के वाकवाक गर्न थाल्यो। अब ठिन्के पनि गु खानबाट बचेको थिएन।
मुखिया बाजे फेरि बोले- ‘तैल काई खालौनाको पानी खाइहेली की कहिल्यै?’
‘बाजे तमीले पन खालौनाको पानी खाएका हौ। यो पानी खालौनाई को हो र? ठिन्केले कपडा पनि खालैमा धुएको हो,’ जितले अहिलेसम्म गर्भमै रहेको अन्तर्य फुकाइदियो। मुखिया बाजे रातो-तातो मुख बनाएर वाक-वाक गर्न थाले।
प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामी सबैले गु खाएका थियौं। त्यही सुनेर सबैलाई वाकवाकी पनि लागेको हो। अरुलाई फसाउन खोज्दा हामी आफैं पनि भंगालोमा खसेको राज बिस्तारै हामीमाझ स्पष्ट भएको थियो।
यो सब प्रक्रियाको कडी मानिएका मुखिया बाजेको रिसाउने पालो अन्तिममा आइपुगेको थियो। बाजे फतफताइरहेका थिए।
‘तेत्राई रह्य बुढिया मान्छेसँग ख्याल ठट्टा गर्ने?,’ खासमा बाजेको यो प्रश्नको जवाफसम्म पुग्न उनीसम्मै नपुगी सुखै थिएन। किनकी यसको सब हर्ताकर्ता उनी नै थिए।
बाजेको यो प्रश्नलाई लिएर हामीमा कुनै सहानुभूति या दयाभाव केही थिएन। बरु मुखिया बाजेसँग बदला लिने हाम्रो लक्ष पूरा भएको थियो।
‘अब हामी सबै गाँउ पुग्ने बित्तिकै मुखिया बाजेले गु खाए भन्दिन्छौं। हामी त केटाकेटी भएर खायौं। तमी त मुखिया जसा मान्छेले पन गु खाए,’ घरतिर हिँड्ने बेला भएको जनाउ दिँदै ठिन्के बोल्यो।
घर फर्किने बेला भएको थियो, गोरु घर जाने समय आफैं बाटो लाग्थे। आज पनि उस्तै भयो। यता मुखिया बाजे केही नबोली बसिराका थिए। अनहारमा उज्यालो कम अँध्यारो ज्यादा थियो।
हामी गोरु खेद्दै गाउँतिर बढ्यौं। ठिन्के भने पटक-पटक मुखिया बाजेले आफ्नै गु खाए भनेर भन्दिन्छु भनिरहेको थियो। सायद आज उसको चीत्त धेरै दुखेको थियो।
कहीं न कहीं ठिन्केजस्तै हामी पनि पीडित थियौं। हामीले पनि ठिन्केको कुरामा सही थापिरहेका थियौं। हाम्रा पछि-पछि रहेका बाजे भने गाली फलाकिरहेका थिए। तर, अब उनको गालीको हामीलाई किन वास्ता रहोस्। आफ्नै अडान पाइला चालिरह्यौं।
गाउँ पुग्नै लाग्दा मुखिया हतारहतार अघि आए र भने- ‘एकछिन सबै मेरो कुरा सुन। म त २/४ वर्ष बाँचुला। तमीहरु त धेरै बाँच्ने होउ। गाउँघरका र स्कुलका मास्टर, साते सबैले थाहा पाउनान् र जिन्दगीभरि गिज्याउँछन्। गु खाएका आए भन्लान्। त्यसैले यो कुरा कसैलाई नभन्नु है।’
मुखिया आफ्नो इज्जत बचाउन हामीलाई फकाइरहेका छन् भन्ने लागेको हो सुरुमा त। तर, मुखियाको सेखी झार्दा के हाम्रो इज्जत रहला त?
बाजेलाई यो कुरा कसैलाई कहिल्यै भन्दैनौं भनेर ढुक्क बनायौं। बिचरा मुखिया बाजे ढुक्क हुन सकिरहेका थिएनन्। केटाकेटी न हुन्, बा अचानक कसैलाई भनिपो हाल्छन् कि भनेर।
हिँड्दै गर्दा मुखिया बाजेमा आफ्नै गु खाएको खसखस मेटिएको थिएन। उनी भनिरहेका थिए- ‘पानटिस नलागेको भए त आज यसो नहुने। आफूल खन्या खाडलमा आफूु पडें।’
त्यसपछि मुखिया बाजे बाँचुन्जेल हामीसँग कहिले जिस्किएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।