काठमाडौं- विगत लामो समयदेखि म्याग्दीका गमबहादुर छन्त्यालको रोजीरोटीका लागि खाडी मुलुक आउनेजाने क्रम चलिरहेको थियो।
उनका गाउँ वरपरका धेरै साथी रोजगारीका लागि अमेरिका, अस्ट्रेलियालगायत विकसित देश पुगेका थिए। उनलाई पनि रोजगारीका लागि विकसित मुलुकमा जाने र टन्न कमाई गर्ने हुटहुटी भित्रभित्रै चल्न थाल्यो।
इन्टरनेटको पहुँचमा भएकाले फेसबुक, इमोलगायत सामाजिक सञ्जाल चलाउँथे उनी। त्यसमा पनि वैदेशिक रोजगारी सम्बन्धी मागमा बढी ध्यान केन्द्रित गर्थे।
त्यसैक्रममा फेसबुकमा उनले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका विकसित मुलुकमा राम्रो रोजगारीको अवसर भएको र सो कामका लागि जान धेरै पढाइ पनि आवश्यक नपर्ने लेखेको भेटे। सोही व्यहोराको उल्लेख गरिएको स्टाटसको कमेन्ट बक्समा छन्त्यालले आफ्नो नम्बर कमेन्ट गरे।
नम्बर कमेन्ट गरेपछि उनलाई एउटा फ्रेन्ड रिक्वेस्ट आयो फास्ट सर्भिसको नामबाट। प्रोफाइल तस्बिरमा पनि पनि फास्ट सर्भिस नै लेखिएको थियो।
.jpg)
छन्त्यालले उक्त फेसबुक अकाउन्टको बायो खोलेर विस्तृतमा हेरे। बायोमा थियो- ‘फ्रम पोखरा, लिभ इन अमेरिका, पर्मानेन्ट रेसिडेन्ट- युनाइटेड स्टेट अफ अमेरिका, मार्केटिङ बा्रन्च म्यानेजर अफ होलिडे इन।’
बायोमा अमेरिकाको ग्रिनकार्ड होल्डर देखेपछि गमबहादुर फेसबुकमा फास्ट सर्भिसको साथी बने।
‘अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विभिन्न विकसित मुलुकमा कामको माग आएको छ, इच्छुक व्यक्तिहरुले आफ्नो नाम र सम्पर्क नम्बर कमेन्ट गर्नुहोला,’ त्यो फेसबुकको टाइमलाइन भरि पनि यस्तै-यस्तै लेखिएको देखे छन्त्यालले।
छन्त्याललाई ढुंगा खोज्दा देउता मिलेझैँ भयो। अमेरिका, अस्ट्रेलिया जान पनि धेरै पढाइ आवश्यक नपर्ने सामान्य अंग्रेजी भाषा बोल्न सकिने भएपछि उनी लोभिए।
फास्ट सर्भिसको फेसबुकबाट छन्त्याललाई मेसेज आयो। दुवै बीचमा कुराकानी हुन थाल्यो। ठेगानालगायत केही व्यक्तिगत परिचय खुल्ने विषय साटासाट भयो।
फास्ट सर्भिस नामक फेसबुक चलाउने व्यक्तिले आफ्नो नाम बताए- विनय गुरुङ। अमेरिकाको ग्रिनकार्डको फोटो, नेपाली नागरिकताको फोटोकपीलगायत विभिन्न डकुमेन्टको फोटो पनि पठाए उनले।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट जारी गरिएको गुरुङको नागरिकता।
नागरिकतामा लेखिएको थियो- नाम : विनय गुरुङ, जन्मस्थान : गण्डकी अञ्चल, कास्की जिल्ला, चिप्लेढुंगा-५।

उनी पोखराको रहेको थाहा लागेपछि आफ्नी बहिनीको घर पनि पोखरा भएकाले नजिककै मान्छेजस्तो आभाष भयो छन्त्याललाई।
केही बेरमै विनय गुरुङले छन्त्याललाई फेसबुकमार्फत् प्रश्न गरे, ‘तपाईंले रोजगारी सेवामा नम्बर छाड्नु भएको थियो?’
‘हजुर। त्यो के हो र खास?,’ छन्त्यालले थप बुझ्न चाहे।
‘हामीले हाम्रो संस्थाबाट पोर्चुगल, युएसए, र क्यानडा ल्याएर काम लाइदिने हो,’ उताबाट जवाफ आउँछ।
'युएसएमा राम्रो छ,' त्यसैमाथि थप्छन्।
'पेमेन्ट चाहिँ कति?' छन्त्यालले प्रश्न गर्छन्।
‘त्यस्तै संस्थाबाट गर्ने हो, छोरी मान्छेका लागि ११ लाख छोरा मान्छेका लागि १६ लाख,’ विनयले जवाफ पठाउँछन्।
‘कस्तो संस्था हो र, काम सिक्नु पर्दैन?’ छन्त्यालले जिज्ञासा राख्छन्। गुरुङले तत्काल म्यासेज लेख्छन्, ‘हाम्रो फेसबुकमा हेर्नुस् न!’
‘के हो र फेसबुक आइडी? ग्यारेन्टी हुन्छ र जबको?,’ छन्त्यालले पुनः प्रश्न गर्छन्।

छन्त्यालको म्यासेज बक्समा तत्काल एउटा लिङ्क आउँछ।
त्यसको लगत्तै विनयले छन्त्याललाई विश्वास दिलाउने हिसाबले लेख्छन्, ‘युएसए आएपछि जब जता पनि पाइन्छ, युएसएमा नेपालमा जस्तो जब पाइँदैन भन्ने हुँदैन।’
छन्त्याल शंकास्पद भावमा प्रश्न गर्छन्, ‘फेरि केही त हुन्न नि?’
त्यसपछि उताबाट मेसेज आउँछ, ‘तपाइँको नम्बर दिनुस् त म कल गर्छु, मिल्छ भने।’
दुवैका बीचमा लगातार म्यासेज आदानप्रदान चलिरहन्छ। एक जनाले जिज्ञासा राख्ने र अर्कोले जवाफ दिने क्रममा छन्त्यालले अघि सोध्छन्- 'कहिले गर्नुहुन्छ र?
‘अहिले नै गर्छु,’ विनयको जवाफ आउँछ।

'ए। हुन्छ बरु हजुरको नम्बर दिनु म भोलि तिर कल गर्छु,' छन्त्यालको यो म्यासेजपछि विनयले नम्बर पठाउँछन्।
छन्त्याल र विनयबीच भोलिपल्ट फोनमा कुरा हुन्छ। फोनमा कुरा हुँदा काम निकै सजिलो, होटलभित्र भएको र आफैं मार्केटिङ ब्रान्च म्यानेजर भएकाले तलब पनि मासिक ५ लाखभन्दा बढी हुने सुनाउँछन् विनय।
आफैं अमेरिकाको होटलको मेनेजर, परिवार नै सबै उतै बस्ने र फास्ट सर्भिस कम्पनीको शाखा थाइल्यान्डमा पनि रहेकाले थाइल्यान्डको बाटो हुँदै सजिलै अमेरिका पुर्याएर रोजगारीमा लगाउने थप आश्वासन दिन्छन् उनी।
केही समयअघि वैदेशिक रोजगारीका नाममा फसिसकेका छन्त्याललाई शंका लाग्छ, झुठो बोलेको हो कि भनेर। तर, विनयले विभिन्न प्रलोभनमा छन्त्याललाई झुठो विश्वास दिलाए।
प्राथमिक तहसम्मको अध्ययन मात्रै सकेर बसेका छन्त्याल वैधानिक रुपमा कामदार भिसामा पनि अमेरिका जान नसक्ने अवस्था रहेकाले उनको मन लोभिन्छ। उनी थाइल्यान्ड हुँदै विनयले भनेअनुसार अमेरिका जान तयार हुन्छन्।
'मलाई थाइल्यान्डबारे केही पनि थाहा छैन, म कसरी आउनु?,' विनयलाई छन्त्यालले प्रश्न गर्छन्। आफ्ना २ जना भाइ पनि थाइल्यान्ड आउन लागेकाले उनीहरुसँगै काठमाडौंमा भेटेर थाइल्यान्ड आउनु भन्दै फोन नम्बर दिन्छन् विनयले।
000
छन्त्याल ऋण लिन्छन् र थाइल्यान्ड जान काठमाडौंसम्म आउँछन्। विनयका साथीहरुमार्फत भिजिट भिसादेखि टिकटसम्ममा सेटिङ मिलाएर सन् २०१६ मा थाइल्यान्ड उड्छन् छन्त्याल।
थाइल्यान्डमा एउटा अफिसजस्तो कोठामा राखिन्छ र परिवारजस्तै व्यवहार पनि गरिन्छ उनलाई।
त्यहाँबाट छिट्टै अमेरिका पुर्याउने भनेर अमेरिकाको नक्कली भिसा खडा गरेको तयार पारिएको कागज थमाउँछन् विनयले। छन्त्याल ढुक्क हुन्छन्।
अब अमेरिका जान पाइने भैयो, भित्र-भित्रै गद्गद् हुन्छन् उनी।
आफन्तहरुलाई पनि छन्त्याल अमेरिका जान लागेको थाहा हुन्छ, गाउँबाट फोन गरेर सोध्छन्- ‘कहाँ छस्, कसरी पुगिस्, अहिले के गर्दैछस्, अब अमेरिका कहिले जाने?’
छन्त्यालले अमेरिकाको भिसा आइसकेकाले अब केही दिनमा नै जाने सुनाउँछन्।
000
उनका काकाका छोरा हिमाल छन्त्याल, र ज्वाइँ डम्बर छन्त्याल आफूहरु पनि थाइल्यान्ड आएर गमबहादुर जसरी नै अमेरिका जाने भन्दै विनयको नम्बर माग्छन्। विनयसँग फेसबुकमा जोडिएर कुराकानी गरी उनीहरु पनि गमबहादुर जसरी नै थाइल्यान्ड पुग्छन्। सबैको अमेरिकाको भिसा आइसकेको एकैचोटी उडाउने भन्दै विनयले उनीहरुलाई मीठो आश्वासन दिन्छन्।
सोही आश्वासनलाई विश्वास गर्दा छन्त्यालसँगै चिनजानका ५ जना युवाहरु विनयको ठगीको जालोमा फस्छन्।
अमेरिका जान २० लाखभन्दा बढी लाग्ने भएपनि भूकम्प पीडितलाई डिस्काउन्ट गरेर १६ लाख मात्रै लिएको विनयले बताउँथे उनीहरुलाई।
थाइल्यान्डको बसाइ लम्बिँदै गयो। १ महिना बितिसकेपछि प्रतिव्यक्ति १६ लाखसम्म युवाहरुले विनयलाई बुझाए।
गमबहादुरले १२ लाख बुझाइसकेका थिए। सबैको पैसा हात लागि सकेपछि उनीहरुको विनयसँगको कुराकानी पातलोहुँदै गयो। युवालाई गालीगलौज र दुर्व्यवहार सुरु गरियो।
000
विनय सबैलाई अलपत्र पारेर फरार हुन्छन्।
त्यसपछि आफू ठगिएको बल्ल थाहा हुन्छ छन्त्याललाई। त्यसपछि उनी नेपालबाट पैसा मगाएर घर फर्कन्छन्।
अमेरिका पुगेर टन्न पैसा कमाएर फर्कने मीठो सपना बोकेर हिडेका छन्त्याललाई १२ लाख ऋणले थिच्छ।
उनीहरु ६ जनासँगबाट झन्डै १ करोड ठगी भएको भन्दै फर्किए लगत्तै पीडितहरुले काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका थिए।
हाल रोजगारीका लागि गमबहादुर पोल्यान्ड पुगेका छन्। आफूबाट ठगिएको रकम कसरी लिने भन्ने चिन्ता उनलाई छ।
९ लाखभन्दा बढी रकम विनयलाई हातमै थमाएका थिए। छनत्यालसँग आइएमईमार्फत् ३ लाख रकम बुझाएको मात्रै प्रमाण छ।
.jpg)
गमबहादुर भन्छन्, ‘ठगको फेला पर्दा ऋणले डुबायो, ऋण तिर्नकै लागि पोल्यान्ड आएको छु, काम धेरै कठिन छ पैसा पनि भनेजस्तो छैन, तैपनि काम गरिरहेकै छु, साहुको ऋण सम्झेर।’
गुरुङले थाइल्यान्डमा बसेर ७ वर्ष अघिदेखि नै विकसित मुलुकहरुमा आकर्षक रोजगारीको प्रलोभन देखाएर युवाहरुलाई ठगी गर्दै आइरहेको खुलेको छ।
सामाजिक सञ्जालमार्फत युवालाई ठगी गर्दै आइरहेका गुरुङ पोखराका विनय गुरुङ नभएर भोजपुरका पर्शुराम गुरुङ भएको खुलेको हो।
उनले कमल पारस, मनोज, प्रताप, विनयलगायत छद्मभेषी नाम राखेर युवालाई फेसबुकमार्फत् फसाउने गरेका थिए।
कसैलाई क्यानडाको पीआर होल्डर र कसैलाई अमेरिकाको ग्रिनकार्ड होल्डर भनेर विकशित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाई गुरुङले युवाहरुलाई फन्दामा पार्दै आएका थिए।
आफू होटल हायातमा काम गर्ने र सोही होटलमा कामदारको डिमान्ड भएको भन्दै पनि गुरुङले कतिपय युवालाई फसाएको सिआइबीका निर्देशक निरजबहादुर शाहीले जानकारी दिए।
उनले भने, ‘हाल दुई सयभन्दा बढी पीडितले ५ करोडभन्दा बढी ठगी भएको उजुरी दिएका छन्, गुरुङबाट ठगिएका पीडितहरुको संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ, हामीले थाइल्यान्डबाट ल्याइसकेका छौँ, यसबारे थप छानबिन गरिरहेका छौँ।’
गुरुङलाई प्रहरीले २०७३ सालमा नै ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिसकेको थियो।
सोही नोटिसमार्फत् गुरुङको नेपाली राहदानी खारेज गरेसँगै अवैधानिक बनेका गुरुङलाई सोही आधारमा थाइल्यान्डको प्रहरीले २०७५ चैतमा पक्राउ गरेको थियो। गुरुङलाई हाल नेपाल ल्याइसकिएको छ।
वैदेशिक रोजगारीका नाममा ठगी तथा मानव ओसारपसारमा संलग्न गुरुङबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।