कति भोगाइहरु समाचार बन्दैनन्। कथा बन्छन्। मनभित्रका कुराहरु त झन् समाचार बन्ने कुरै भएन। त्यसैले पत्रकार तीर्थ सिग्देलले कथासंग्रह 'मनोनेट'भित्र के होला भन्ने खुल्दुली हुनु स्वाभाविकै हो। सुरुमै कथाकारले लेखेका छन्, ‘मनले चाहेको र तनले पाएको दुःख र पीडाको माध्यम हो– मनोनेट। एउटा मनको खुसी, रोदन अर्को मनले अनुभूत गर्नु नै हो– मनोनेट।’
अरुको मनलाई बुझ्न धेरै गाह्रो हुन्छ। किनकि आफ्नै मन कहिलेकाहीँ अलमलमा हुन्छ। त्यही मनले चाहे अप्ठ्याराहरु सजिला बन्दिछन्, मनले नचाहे सजिलाहरु अप्ठयारा बनिदिन्छन्। कहिले त्यही मनले मायाको भाव बोक्छ त कहिले पीडाको राग ओकल्छ। सानो खुसीमा मन फुरुङ्ग हुन्छ त सानै कुराले धुरुधुरु रुन्छ। अचम्मको छ यो मन! मनभित्र अनेक व्यथा हुन्छन्, अव्यक्त कथा हुन्छन्।
मनोनेटमा आम मनभित्रका यिनै कथा–व्यथालाई समेटिएको छ।
अढाइ दशकदेखि पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार सिग्देलले यही क्रममा अनेक मनलाई पर्गेलेका छन्। तीमध्ये केही जेलिएका, केही छेलिएका मनभित्रका व्यथालाई कथामा उनेका छन्।
कथाको चरमोत्कर्षमा नपुगिन्जेल पाठकलाई सस्पेन्सले डोहोर्याइरहन्छ। ‘अब के होला?’ भन्ने कुराले पाठकलाई तानिरहन्छ। तर, केही कथाहरु भने अब के होलामै सकिन्छन्।
मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको ‘मनोनेट’मा २२ कथा छन्। हरेक कथाका पात्रहरु मनैमनमा जेलिएका छन्। कतै यौन मनोविज्ञानले, कतै पीडाले ग्रस्त सामाजिक र राजनीतिक परिवेशले। अव्यक्त भाव र मानवीय स्वभाव नै कथाहरुका मूल विषय छन्। युवा मनलाई कथाहरुले चाँडै छुन्छ। छोटा र सरल वाक्यले पाठकलाई मजा दिन्छ। अधिकांश सुरुवाती वाक्यले लामो कथालाई बोल्छ।
कथाको चरमोत्कर्षमा नपुगिन्जेल पाठकलाई सस्पेन्सले डोहोर्याइरहन्छ। ‘अब के होला?’ भन्ने कुराले पाठकलाई तानिरहन्छ। तर, केही कथाहरु भने अब के होलामै सकिन्छन्। त्यसबेला पाठकको सचेत मनलाई कथाले झकझक्याइदिन्छ। कथाको अन्त्यले पाठकलाई केहीबेर सोच्न बाध्य पारिदिन्छ। ‘फ्ल्यासब्याक’ शैलीले पाठकलाई थप रोमाञ्चित तुल्याइरहन्छ।
कथा ‘अतीत’भित्र आमाबुबाको इच्छाका कारण निमोठिएको नारी जीवन लेखिएको छ। त्यसको प्रभावमा परेको पुरुष मनभित्रको अवस्थालाई चित्रण गरिएको छ।
‘त्यसपछि ऊ हराई’बाट कथाक्रम सुरु हुन्छ। जसमा यौन व्यवसायी नारीको कथा समेटिएको छ। उसको मन, जीवन र हाम्रो सामाजिक सोचको चित्रण कथामा गरिएको छ। कथा ‘जिन्दगीको पासवर्ड’की साइराको चरित्रले पाठक मनलाई तान्छ। प्रविधिसँग जोडेर लेखिएको कथामा एउटा पुरुषको मन नारीको आकर्षण र मोहजालमा कसरी फँस्छ भन्ने दर्शाउन खोजिएको छ।
‘दोमन’भित्र नारी मनोविज्ञान समेटिएको छ। विवाहपछि सिन्दुर, चुरा–पोते अनि पारिवारिक जिम्मेवारी र मनभित्रको अन्तरद्वन्द्वसँगै कथा सुरु हुन्छ र अन्त्य पनि। ‘पहिलो खुशी’मा भने बिहेको लफडा छ। ‘अन्तिम सहारा’भित्र एक्ली महिला र उसलाई हेर्ने पुरुष मनोविज्ञान प्रस्तुत गरिएको छ। ‘सीतादेवी’मा अप्ठ्यारोमा आफ्नैले साथ नदिँदाको अवस्थामा नारी मन कस्तो हुन्छ भन्ने झल्काइएको छ। कथा ‘अतीत’भित्र आमाबुबाको इच्छाका कारण निमोठिएको नारी जीवन लेखिएको छ। त्यसको प्रभावमा परेको पुरुष मनभित्रको अवस्थालाई चित्रण गरिएको छ।
‘बोझ’ शीर्षकमा लेखिएको कथाले पाठक मनलाई ऊर्जा दिन्छ। जीवनलाई बोझ ठान्नेहरुलाई सकारात्मक रुपमा सोचेर अगाडि हिँड्ने बाटो दिन्छ। पुरुषप्रधान सोचविरुद्धको क्रान्तिको रुपमा ‘बोझ’लाई लिन सकिन्छ। त्यस्तै, कथाहरु मध्येको आम समस्या बोकेको कथा हो, ‘कुमारी केटी’। समस्या पर्दा पछि सर्ने र आफ्नो सजिलोको लागि नारीको गला निमोठ्ने प्रवृत्तिविरुद्ध कथाले विद्रोह बोलेको छ।
कथाको पुछारतिर रहेको ‘युद्ध मैदानको बकपत्र’ र अघि आउने ‘विद्रोहको घाउ’ले विगतमा भएको समग्र राजनीतिक परिदृश्यहरु आँखैसामु ल्याइदिन्छ। युद्धभित्रका कारुणिक अवस्था र त्यो अवस्थामा जलेका मनले भावुक तुल्याउँछ।
‘अमिला सामन्थी’ ऊर्जा बोकेकी विदेशी महिलाको कथा हो। जसमा विदेशीले सोच्ने नेपाल र फरक अवस्था बोलिएको छ। बुद्धको जन्मभूमि भएर अशान्त रहँदा उनीहरु कसरी सोचिरहेका छन्? कथाले यो प्रश्नलाई गम्भीर ढङ्गले उठाएको छ।
मनले मनलाई कसरी छुन्छ, एउटा दुख्दा अर्को किन रुन्छ? मन किन यस्तो हुन्छ? परिवेश र चरित्र अनुसार मन कति फरक हुन्छ भन्ने कथाकारले यी कथाहरुमार्फत प्रस्ट्याउन खोजेका छन्।
‘बाँच्ने रहर’ पत्रात्मक शैलीमा लेखिएको कथा हो। जीवनको खुसीहरु आफैँले खोज्नुपर्छ, लेखकले कथामार्फत यही सन्देश दिएका छन्। अनि ‘अन्तिम भूल’मा पुर्याएर कथासंग्रहलाई पूर्णविराम लगाइएको छ। यस कथाले पनि नारी वेदना नै बोलेको छ।
मनोनेट, मन रसाइरहेको छ, भलो चाहने मान्छे लगायत कथाहरुले मनभित्रका विविध पाटाहरुलाई फरक शैलीमा प्रस्तुत गरिएको छ। मनले मनलाई कसरी छुन्छ, एउटा दुख्दा अर्को किन रुन्छ? मन किन यस्तो हुन्छ? परिवेश र चरित्र अनुसार मन कति फरक हुन्छ भन्ने कथाकारले यी कथाहरुमार्फत प्रस्ट्याउन खोजेका छन्।
मूलतः कथामा अधिकांश पात्रहरुको बोल्ने शैली उस्तै लाग्छ। एउटै खाले स्वाद भएकाले चटनीको अभाव महसुस हुन सक्छ। कथामा पात्रहरु सबै सचेत देखिन्छन्। सम्वादहरुमा खासै विविधता भेटिँदैन। उही र उस्तै सम्वाद अनि पात्रका कारण पात्रहरु पाठक मनमा अडिरहँदैनन्। चरित्र चित्रण दमदार नलाग्न सन्छ। उभ्याइएको पात्र परिवेशबारे कथामा खासै बोलिँदैन।
पुस्तकमा नेपाली ठेट शब्द, उखान–टुक्का, भाषागत विविधताको अभाव देखिन्छ। समस्या उठान मात्र नभई लेखकले मार्गनिर्देशसहितको सन्देश प्रवाह कथाबाट गर्न सकेको भए कथाहरु थप प्रगतिशील र उद्देश्य अनुरुप सार्थक बन्ने थिए।
समग्रमा कथाकार सिग्देलको ‘मनोनेट’ले पाठकको मन छुन्छ। नारी वेदना र सामाजिक–राजनीतिक विषयसँगै जोडिएका मनोविज्ञानले कथाको मर्ममा नयाँपन दिएको छ। कथा लेखनमा सुक्दै गरेको साहित्य क्षेत्रमा ‘मनोनेट’ ऊर्जा लिएर आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।