प्रिय जुलियन,
तिमी जसै लण्डनको समुद्री लहरमा
खस्यौ भिरालो इक्वेडोरियन लाइट हाउसबाट
अमेरिकी बतासले
हाम्रा फोक्साहरूमा सात वर्षको नियन्त्रित दम
एक्कासि बढेको छ
अब तिमीले भनेजस्तै हामीले खोज्नैपर्ने भएको छ
गुगलको मायावी द्वारभन्दा बाहिरै
यस शताब्दीको दासताको निदान।
जुलियन,
स्वीडेनमा तिमी एक जीव जसरी बाँच्यौ
त्यो हामीलाई तपसिलको विषय छ
जसरी बहुसंख्यक हामी
तिमीलाई लण्डनको सडकमा लछार्नेका सोचमा छौं,
जसरी तिम्रै देशको लागि
तिमी भएका छौ
एक विभीषण त्याज्य।
जुलियन,
हामी आफूलाई भोटर र उपभोक्ताका परिचयमा
उद्विकासको सोपानका सर्वोच्च पिँढी भन्ने भ्रममा रहेछांै
यो बताउने प्राध्यापक र नेता
हरेकखाले चिन्तक र अध्येता
कहाँ नभएका हुन् र!
तर प्रमाणविना आस्था त के विज्ञान झुटो हुन्छ।
तिमीले हामी ह्याम्लेटहरूलाई
भेटाइदिएर सत्यको प्रेतसँग
आफैंसँग तानिदियौ नाभिमै जोडेर
तिमी खसिरहेको समुद्रमा
जहाँ दशकौंदेखि रहेछौं हामी
निस्लोट निदाइरहेका।
अब त जुलियन,
छैन सुख नपौडिकन,
छैनउपायै नबौरिकन।
सिंगा–सिंगा सार्वभौमसत्ता चपाउने दाउपेचमा
दाह्रा किटिरहेका सन्धिहरू,
मिसाइलका चुरोट सल्काउँदै नाफाका पहाडमाथि
उभिएका बहुराष्ट्रिय नन्दीहरू,
हाम्रो यो हरियो, गोलो
साझा चरन मानिँदै आएको
पृथ्वीमा
हाम्रा पञ्जाछापहरू
खुसियाली र आलापहरू
निचोरी–निचोरी बनाइ केवल निर्जीव तथ्यांक
जसरी पिस्तारहेछन् नियन्त्रणका मिलहरूमा,
हामी आफैंबाट कसरी सहिरहन सकौंला
आफ्नै स्वतन्त्रताहरूको मुल्तबी,
हँ जुलियन?
कसरी स्वीकारौँला यस्तो जिन्दगी?
जुलियन!
भर्खरै एउटा कालो छिद्र खिच्न सफल यो विश्व
आँखा आकाशमा र खुट्टा खाडलमा टिकाइ
किमार्थ सक्तैन उड्न, किमार्थ सक्तैन हिँड्न
यो नयाँ शैशवको सुरुवात
तिम्रो र हाम्रो सामूहिक हिरासतको सकसले
हुनेछ शोषित, हुनेछ पोषित!
यति भनिसक्दा पनि जुलियन
मलाई डर छ
कतै हामी रमाउन अभ्यस्त त बन्ने छैनौं
तर्कभन्दा बढी तथ्यांक,
स्वतन्त्रताभन्दा बढी समर्पण।
पृथ्वीको पल्लो कुनाबाट
त्यसैले त लेख्दैछु यो पत्र तिमीलाई
नयाँ वर्षमा, भयसहित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।