जीवनका सबै पल स्मरणयोग्य हुँदैनन्।
एकाध घटनाबाहेक दैनिक घट्ने सानातिना घटना त हामी बिर्सिसकेका हुन्छौं। तर, महत्त्वपूर्ण भेटघाट, यात्रा र विजयका क्षणहरू सधैं सम्झनयोग्य बनिदिन्छन्।
रामकोटको यात्रा मेरा लागि यस्तै एक रोचक यात्रमा बन्न पुगेको छ।
तनहुँको बन्दिपुरबाट करिब पाँच किलोमिटर पश्चिममा पर्ने सानो गाउँ रामकोट उत्तरका अन्नपूर्ण, धवलागिरीजस्ता हिमालसँग आँखामा आँखा जुधाएर बसेको छ।
सानो गाउँ। छरपस्ट घरहरू। सानासाना गह्रा भएका लहरै खेतहरू। अलि पाखातिर ठूलाठूला पाटा भएका बारीहरू। रामकोटको खास चित्र त यही हो। यसबाहेक यहाँ बस्ने मानिसहरू पनि उत्तिकै सुन्दर। आफ्नै निमग्नतामा बाँच्न सिकेका।
पहाडी जीवन मेरा लागि सदैव प्रिय छ। यस्तो जीवन ठ्याक्कै देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा वर्णन गरेजस्तो भने होइन। पहाड धेरै फेरिइसक्यो। अझै फेरिँदैछ। रामकोट यस्तै पहाडी जीवनमा बाँचिरहेको गाउँ। फागुन यामको घमाइलो दिनमा हामी त्यहाँ पुगेका थियौं।
सबैले घुम्न रुचाउने बन्दिपुरलाई दिउँसो नै घुमिसिध्याएर साँझ पर्दा नपर्दै हामी रामकोट पुगिसकेका थियौं। त्यसदिन मौसम ज्यादै नै खुलेकाले वरिपरिका प्रायः सबै हिमालहरू देखिइरहेको थियो। यसले गर्दा यात्रा कुनै पट्यारलाग्दो भएन।
०००
रामकोट पुगेपछि थाहा भयो, यो मगर गाउँ रहेछ।
नाचगान र खानापानमा धनी मगरहरू मेरा लागि बाल्यकालदेखि नै नजिक भए। यसले गर्दा उनीहरूको जीवनशैली मेरा लागि नौलो होइन। हामी पुगेपछि उनीहरूले मोही, सेल र फुलौरा खुवाएर स्वागत गरे।
भर्खरै तयार पारिएको होमस्टेमा गाउँकै महिलाहरूले दिल खोलेर स्वागत गरे। हामी युवा साहित्यकारमात्र होइन, उमेरले असी टेक्न लागेका कविवर तुलसी दिवस पनि यो हार्दिकतासँग एकैछिनमा रमाइहाले। रामकोट बन्दिपुर पर्यटन साहित्ययात्राको सिलसिलामा हामी थियौँ। काठमाडौंबाट एक बस जम्बो टोली यो साहित्ययात्रामा सहभागी थियो।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष निकै फरासिला रहेछन्। तरुण अवस्थामा नै गाउँपालिका अध्यक्ष बनेका उनीसँग बन्दिपुरबाट सानो गाडिमा रामकोट पुग्दा धेरै कुरा थाहा पाइयो। गाडीमै रहेका कवि तुलसी दिवसबाट पनि यस क्षेत्रको बारेमा मलाई धेरै कुरा थाहा भयो। अध्यक्ष र कवि दिवसबीचको कुराकानीले मलाई बन्दिपुरबारे धेरै कुरा सिकायो।
रामकोटमा घुमाउने घर पनि देख्न पाइयो। लहरै पारेर ढुङ्गाको छाना भएका घरभित्र बस्न पनि पाइयो। बेलुका झण्डै तीन दर्जनको संख्यामा रहेका साहित्यकार, कलाकारलाई रामकोटका छुट्टाछुट्टै घरमा राखियो।
गाउँकै भाले मार हानेर तयार पारिएको खाना सबैलाई स्वादिष्ट लाग्ने नै भयो। यसपछि गाउँमा पञ्चायत बसेझैं गरी हाम्रो टोली बस्यो। स्थानीय नागरिक पनि बसे। कुराकानी भयो। एकक्षण दुःखसुख साट्यौं। राति नाचगानको कार्यक्रम रहेछ। मगर युवतिहरूले नृत्य देखाए।
नृत्य, बाजागाजा र गीतसंगीतका ज्ञाता कवि दिवसले त्यस्ता नृत्यबारे सबैलाई बताए। करिब मध्यरातसम्मै यो माहौलले रसरंग थप्यो। म भने एक्कासि बल्झेको ज्वरोले चाँडै नै सुतेँ। तर, कानमा त्यहीँ तल भइरहेको नाचगान गुञ्जिरहेको थियो। मन एक्लै निदाउन मानेन। फेरि यति सुन्दर ठाउँमा यात्राका लागि आएको मानिस तर्कनामा हराउन पनि त भएन!

भोलिपल्ट बिहान उठ्दाखेरिसम्म कलाकार रामकुमार भौकाजीले बन्दिपुर र रामकोटका धेरै वटा पेन्टिङ बनाइसक्नुभएको रहेछ। वाटर कलरका यी पेन्टिङ साँच्चै सुन्दर थिए। बिहान कार्यक्रम सुरु भयो। कविहरूले कविता सुनाए। रामकोटबासीलाई ती पेन्टिङ उपहार दियौं। अन्त्यमा दिन ढल्किनु पूर्व उही कर्मथलो काठमाडांँको निसारतामा हराउन हामी फर्कने सुरसार गर्यौं।
०००
रामकोटबाट फर्केको रात नै मलाई ज्वरोले सतायो। यसपछिका चार हप्ता म बिरामी नै भइरहेँ। घरमा आराम गरेर बस्नुपर्दा मलाई केही अगाडिमात्र घुमेको रामकोटको याद आइरह्यो।
आफूलाई उत्साहित गर्ने आदरणीय कविहरूबीचको रमाइलो पनि याद आइरह्यो। म बिरामी मनमा रामकोटा तिनै रमाइला गुन्दै बसिरहेँ।
त्यहाँ बिताएको त जम्मा एक रात हो तर सुन्दर बन्दिपुर र झन् सुन्दर रामकोटको याद मलाई एकतमासले आइरह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।