बेनी बजार। तस्बिर-न्युज २४ आवर्स
– ध्रुवसागर शर्मा
बेनी- करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे। सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो। सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो। अहिले भने अब ती सबै कुरा विगतको तीतो स्मृतिमा परिणत भएका छन्। म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ।
अब गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ। गाउँगाउँमा पनि आरसिसी ढलान गरेर पक्की घर निर्माण गर्ने होडबाजी चलेको छ। पाइला अड्याउनै मुस्किल हुने अक्करे भिरलाई फोरेर सररर मोटर गुडेको छ। घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्यचौकी समेत पायक पर्ने ठाउँमा नै बनेका छन्। 'एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौं', मालिका गाउँपालिका बिमका ७४ वर्षीय पलविर जुग्जालीले भने, 'हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ, अहिले पो थाहा भयो विकास भनेको त सुविधा पो रहेछ त।'
गाउँगाउँमा विकासका पूर्वाधार निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। अध्यक्ष रोकाले भने, 'सुविधाका हिसाबले अब गाउँ र सहरमा खासै फरक रहेन, एक दशकअघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ, सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधाको उपभोग गर्ने कुरामा पाएका छन्।'
एक लाख १४ हजार ४ सय ४७ जनसङ्ख्या र २ हजार २ सय ९७ वर्गमिटरमा फैलिएको म्याग्दी जिल्लाका साविकका ४१ गाउँविकास समितिमध्ये गुर्जा र मुनाबाहेक अन्य सबै ठाउँमा मोटर बाटोले छोएको छ। स्थानीय तहलाई अधिकार प्रत्याभूति गरिएपछि जिल्लाभित्र विकासका लागि पालिका–पालिका बीचमा नै प्रतिस्पर्धा चलेकाले पनि ग्रामीण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ।
१ नगरपालिका र ५ गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधार पुगेका छन्। विकासका पूर्वाधारसँगै जनताको आयआर्जनमा समेत वृद्धि भएपछि यहाँको ग्रामीण भेगको जीवनशैलीमा पनि उल्लेख्य परिवर्तन देखिन थालेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीकाे दाबी छ।
‘लाहुरेको जिल्ला’ भनेर चिनिने गरेका म्याग्दीले अब भने आफ्नो परिचय फेरेको छ। यो जिल्ला उद्यमी, कृषक, पर्यटन र जलविद्युत्काे अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ। लाहुर गएका पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन्। बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुन भन्छन्, 'विकासका पूर्वाधार पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन्। कतिपय युवा त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायिकरुपमा कृषि र पशुपालनतर्फ लागेका छन्।'
बदलिँदै जीवनशैली
प्रविधि र पूर्वाधारको प्रयोगले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरुको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन आएको छ। सर्वसाधारणका घरका छानामा मात्र परिवर्तन आएको छैन। जीवनशैली पनि बदलिँदै गएको छ। हातहातमा नयाँ नयाँ मोडेलका मोबाइल, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इञ्चका महँगा महँगा टेलिभिजन राखिएको छ। भैँसी बाँध्ने गोठ अब मोटरसाइकललगायतका सवारीसाधन राख्ने ठाउँमा परिणत भएका छन्। टिभीका लागि केवल र विद्युत नपुगेको ठाउँमा सोलार राखिएको छ।
गाउँमा खेत जोत्नका लागि हलगोरु पाल्ने क्रम पनि धेरै कम भएकाे छ। खेत जोत्न मिनिट्रेलर हलो वा ट्याक्टरको प्रयोग हुन थालेको छ। गाउँले आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन्। घरघरमा ग्याँस सिलिण्डरको प्रयोग बढेको छ। वनमा घाँस दाउरा गर्ने एकदमै कम देखिन थालेका र एक दशकअघिका नाङ्गा डाँडापाखा अहिले घना जङ्गलमा परिणत भएका मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष पिपला बुढाकाे भनाई छ।
खानपानमा परिवर्तन
मगर बाहुल्य म्याग्दीका ग्रामीण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ। उच्च हिमाली क्षेत्रका गाउँका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ तर ती गाउँका बासिन्दाले कोदो, मकै र फापर बेचेर चामल खरिद गर्छन्। 'हिजोआज गाउँमै सडक आएको छ', मालिका गाउँपालिका–७ विमकी देउसरा जुग्जालीले भने, 'बारीमा फलेको कोदो, मकै, फापर र जौ किन्न गाउँमै आउँछन्।'
जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ। ६० देखि ८० वर्ष उमेर समूहका वृद्धवृद्धाको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ। उनीहरुका अनुसार गाउँका पुराना कुरा हराउँदै गएका छन्।
गाउँमै सडक पुगेको छ। गाउँ र सहरको दूरी छोटो भएको छ। सहरमा पाइने हरेक कुरा गाउँमै पाइन थालेकाे छ। 'केही वर्ष अघिसम्म गाउँमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो', विमका ८३ वर्षीय ढकबहादुर जुग्जालीले भने, 'अहिले घरमै टेलिभिन हेरिन्छ, देश विदेशमा कहाँ के भयो सबै कुरा ओछ्यानमा सुती-सुती थाहा पाउने रैछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।