काठमाडौं- देव शमशेरका छोरा जंग शमशेर, जंग शमशेरका छोरा लक्ष्मण शमशेर, लक्ष्मण शमशेरका छोरा जन्मिए हिमालय शमशेर राणा। सुधारवादी राणा मध्येमा पर्छन् देवशमशेर। जनताका सेवा सुविधामा बढी चासो दिएको र छोटो समयमा नै धेरै विद्यालय खोलेको भनेर चन्द्र शमशेरलगायतका भाइहरू मिलेर उनलाई शासनबाट हटाए।
१ सय २० दिन प्रधानमन्त्री बनेका उनी धनकुटामा निर्वासित भएका थिए। पछि देवशमशेर धनकुटामा बस्न नसकेर मसुरीमा गए। उनका छोराहरू जंग शमशेर र भुवन शमशेरलाई नेपालमा बोलाइयो। उनीहरू थापाथलीमा बस्न थाले। पछि हिमालय शमशेर थापाथलीमै जन्मिए।
हिमालय शमशेरले बिए र एमए बम्बइ (मुम्बई)मा पढे। त्यतिबेला धेरैजसो नेपालीहरू पढ्नका लागि बनारस अथवा पटना जान्थे। बम्बइको रहनसहन बनारस र इलाहवादजस्तो थिएन। बनारस र इलाहवादमा 'जी हजुर आइए, खाइए' भन्नुपर्ने। सामन्ती थियो त्यहाँको संस्कार, चलन र भाषा पनि। बम्बइमा भने सामान्य थियो रहनसहन। त्यहाँ काम गर्ने मान्छेले ‘साहेब तुम क्या माग्ता हे’ भन्थे।
हिमालय शमशेर पनि पढ्नका लागि पटना गए। विद्यालय जान बसको व्यवस्था थियो। जुत्ताको तुना र भोटोको तुनासमेत अरुले बाँधिदिने वातावरणमा हुर्किएका उनी पटना पुगेपछि आफ्ना सबै काम आफैं गर्न थाले। नेपालमा बस्दा राणा परिवारको वातावरणमा हुर्किएका उनी बम्बइमा बसेपछि सामान्य जनतासरह भए।
भारतमा त्यही बेला स्वतन्त्रता आन्दोलन चलिरहेको थियो। हरेक हप्ता आन्दोलन चल्थ्यो। त्यहाँबाट एमए पास भएर आएपछि क्रान्तिकारी बन्नुपर्यो भन्ने भावना आयो हिमालयलाई। कलकत्तामा पुगे राजनीतिक भेटघाटका लागि। सुवर्णशमशेरसँग भेट भयो उनको। नेपाल र नेपाली जनताका लागि केही प्रगति गर्नुपर्यो भन्ने कुराकानी भयो।
नेपालमा पारिवारिक राणाशासन कायमै थियो। यसको अन्त्य गर्नुपर्छ भन्ने सुवर्णसँगको लामो छलफलपछि हिमालय शमशेर पनि सहमत भए। उनले २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको सदस्यता लिए।
पछि नेपाल बसेर गुप्त रुपमा क्रान्तिकारी काम गर्न थाले। टाइप गरेर पर्चा छर्नेदेखि प्रजातन्त्रका पक्षमा जनमत बढाउँदै जानेसम्मका काम सजिला थिएनन्। तर राणाकै छोरा भएर पनि हिमालय आफ्नै पारिवारिक शासनको लडाइ विरुद्ध काम गर्न थाले उनले। सुवर्णसँगको सम्बन्ध उनको निकै गाढा थियो। सुवर्ण निकै विद्वान् र निष्पक्ष काम गर्ने व्यक्तिका रूपमा लिन्छन् हिमालय।
२००७ सालमा राणा शासनको अन्त्य भएपछि नेपालको प्रशासनमा युगान्तकारी परिवर्तन भयो। राणाकालमा प्रशासन चलाउने सुब्बा, सरदार, काजीहरूले मन्त्रीको जिम्मेवारी बहन गर्न थाले। अर्थ मन्त्रालय पनि खडा भयो। अर्थशास्त्रमा एमए वा कमर्समा एमकम गरेका कर्मचारी अर्थ मन्त्रालयमा राख्ने त्यतिबेलाका अर्थमन्त्री सुवर्ण शमशेरको सोचाइ थियो।
त्यतिबेला अर्थमन्त्रीले खोजेजस्ता युवा एकदमै कम मात्र थिए। मन्त्रीको सोचाइ अनुरूपको योग्यता भएका ४ जना भेटिए। अर्थशास्त्रमा एमए गरेका तीन जना र कमर्समा एमकम गर्ने एक जना थिए। एक थिए हिमालय शमशेर।
तुलनात्मक रुपमा कार्यक्षमता अरुको भन्दा राम्रो भएको हुनाले २-३ महिनापछि नै हिमालय शमशेर नेपालको पहिलो अर्थ सचिव बने।
केन्द्रीय बैंकको गभर्नर हुनका लागि सामान्यतयाः अर्थ मन्त्रालयमा काम गरेको अर्थ सचिव हुने प्रचलन भारत, पाकिस्तानलगायतका देशमा थियो। नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक भएको हुनाले नेपालमा पनि त्यस्तै अभ्यास गर्ने प्रयास भयो।
विसं. २००७ सालदेखि ०१२ सालसम्म अर्थसचिव भएका हिमालय शमशेर अर्थसचिवका रुपमा पाँच वर्ष जिम्मेवारी सम्हालेका थिए। सो कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्न सफल भए उनी।
राष्ट्र बैंकको छापमा ‘असतोमा सद्गमय’ निर्देशक वचन राख्न हिमालय शमशेरले नै प्रस्ताव गरेका थिए। ‘असतोमा सद्गमय’ को अर्थ हुन्छ, 'असत्य कामबाट सत्य कामतर्फ लैजाऊ'। अर्थतन्त्र चलाउँदा विकृति ल्याउनु भएन। आर्थिक अनियमितता गर्नु भएन। स्वच्छ किसिमले काम गर्नुपर्यो भन्ने नै त्यसको अन्तर्य थियो र हो पनि। त्यो निर्देशक वचनसहितको सिल चाँहि बालकृष्ण समकी छोरी ज्वालाले बनाएकी हुन्।
आफूलाई राजा महेन्द्रले नै गर्भनरमा नियुक्त गरेको हिमालय शमशेर बताउँछन्। महेन्द्रसँग उनको भेटघाट बाक्लै हुन्थ्यो। पछि महेन्द्रले नै उनलाई गर्भनरको ५ वर्षे कार्यकाल पूरा नहुँदै हटाए।
‘०१७ पुसमा राजा महेन्द्रले ‘कु’ गरिबक्सेपछि प्रशासनमा बहुदल, प्रजातन्त्रमा आस्था राख्नेहरू हटाउने निर्णय गरिबक्स्यो। ०१५ सालमा भएको निर्वाचनमार्फत् दुई तिहाइको बुहमतबाट कांग्रेस सरकारमा आएको थियो। धेरै सचिव, अधिकृत नियुक्ति भएका थिए। बिपी कोइराला, सुवर्णशमशेर राणाले नियुक्त गरेका सबैलाई उहाँले हटाइबक्सेको थियो,’ हिमालय शमशेर सम्झन्छन्, ‘त्यसमा म पनि बहुदल र प्रजातन्त्रमा विश्वास राख्ने भएकाले बर्खास्तीमा परें। त्यतिबेला त उपत्यका सानो ठाउँ। कसले केमा आस्था राख्छ भन्ने सबै थाहा हुन्थ्यो। म त राणाजी भएपनि राणा शासन अन्त्य गर्नुपर्छ भनेर क्रान्तिमा लागेको मान्छे हुनाले मेरो प्रजातन्त्रमा अडिक आस्था भएको थाहा पाएर नै मलाई हटाइयो।’
हिमालय शमशेरको कार्यकाल ५ वर्षको थियो। तर, उनले ४ वर्ष ८ महिना काम गरे। ४ महिना बाँकीमा छदैं उनी हटाइए।
उनले जागिर थालेको १५ वर्ष भएको थियो। २० वर्ष भएपछि पेन्सन पाउने प्रचलन थियो। राजा महेन्द्रले हिमालयका हकमा पाँच वर्ष सेवा अवधि थप गरिदिएका थिए। अहिले पनि उनी पेन्सन पाउँछन्।
राष्ट्र बैंकको स्थापनाअघि आम्दानी जति 'मुलुकी खाना'मा जान्थ्यो। देशको कुल आम्दानी खर्च लुकाउने गरिन्थ्यो।
मुलुकमा धेरै बैंक भएपछि त्यसको नियमन गर्न केन्द्रीय बैंकको स्थापना गर्ने चलन थियो विदेशतिर। तर, नेपालमा भने राष्ट्र बैंक खडा गर्दा नेपालमा बैंकको संख्या कम मात्र थियो। अन्य देशका केन्द्रीय बैंककोजस्तो परम्परागत जिम्मेवारी नेपाल राष्ट्र बैंकको नभएको हिमालय शमशेरको अनुभव छ।
झापादेखि कञ्चनपुरसम्म भारतीय मुद्रा नै चलनचल्तीमा थियो। भारतीय मुद्रालाई कानूनी रुपमा ग्राह्य पनि थियो। सरकारले पनि मालपोत भारूमै उठाउने, खर्च पनि भारुमै गर्थ्यो। राजा महेन्द्रले एउटै राज्यमा दुई वटा मुद्रा नचलाउने भन्दै तराईमा पनि नेपाली मुद्रा चलाउने सोच बनाए।
नेरु र भारुको सटही दर काठमाडौंमा ३-४ जना घुमन्तेहरूले आफ्नो स्वार्थमा प्रयोग गरेको हिमालय सम्झन्छन्। पेन्सन पाएर मानिसहरू आउँदा भारतीय नोट सस्तो गरिदिने र दशैंमा मालसामान पैठारी गर्नुपर्ने हुँदा त्यही भारुलाई बढी भाउ राखेर बेच्ने गरिन्थ्यो। यी दुवै विषय सम्बोधन गर्ने राजा महेन्द्रको सोच भएको उनी बताउँछन्।
नीजि क्षेत्रको पनि लगानी भएकाले नेपाल बैंकले त्यो काम गर्न मिल्दैन थियो। सरकारी अड्डाले पनि त्यो काम गर्न नमिल्ने हुनाले राजा महेन्द्रले नेपाल राष्ट्र बैंक खडा गरेर हिमालयलाई नै असाइनमेन्ट दिए। आफूले जिम्मेवारी पूरा गरेको उनको दाबी छ।
नेपाली मुद्रा चलाउनै सकस
२०१३ सालतिरको कुरा हो। हिमालय भर्खरै मात्र गभर्नर नियुक्त भएका थिए। तराईका नागरिकको बिहेबारी अध्ययनदेखि दैनिक उपभोग्य वस्तुको आयातनिर्यात भारततिरै हुन्थ्यो। सरकारले सुरुमै स्टेअर्डर जारी गरेर अब तपाईंहरूले नेपाली मुद्रा मात्र चलनचल्तीमा ल्याउनुहोस् भन्दा जनता मान्दैनथे।
उनीहरूलाई चाहिएका बेला नेरुबाट भारु र भारुबाट नेरु सटही गर्न मिल्ने अवस्था भएमा यसको कार्यान्वयन सहजै हुन्थ्यो। त्यो सुविधा दिन झापादेखि कञ्चनपुरसम्म सटही डिपो र राष्ट्र बैंकका शाखाहरू राख्न आवश्यक थियो।
अर्को विषय, उनीहरूलाई त्यसको सटही गर्दा कुन दरमा कसरी सहज गरिदिने दिने भन्ने पनि चुनौती थियो। कुन रेट राख्ने भनेर नेरु र भारुको माग र पूर्तिको अवस्था हेरेर सबै अध्ययन गर्न हिमालय शमशेरलाई ३ वर्ष लाग्यो। झापादेखि कञ्चनपुरसम्म विभिन्न स्थानमा शाखा उप-शाखा सटही डिपो राखेर उनले तथ्याङ्क बटुले। सबै अध्ययन गरिसकेपछि भारु सयको १ सय ६० राख्यो भने नेपालले धान्न सक्छ भन्ने निष्कर्ष निस्कियो।
तर, हिमालयको नेतृत्वमा राष्ट्र बैंकलेमा यसबारे अध्ययन गरिरहेको कसैलाई थाहा थिएन। अर्थमन्त्री सुवर्ण शमशेरलाई भने थाहा थियो। अध्ययनपछिको निष्कर्षमा अर्थमन्त्री सुवर्णशमशेर पनि सहमत भए।
अर्थमन्त्री सुवर्णशमशेर राजा महेन्द्रसँग विदेश गएको समयमा २०१६ साल चैत्र मसान्तमा प्रधानमन्त्री बिपी कोइरालाले संसदमा त्यसको घोषणा गरे, ‘२०१७ साल बैसाख १ गतेदेखि नेपालमा एउटै मात्र मुद्रा चलनचल्तीमा आउँछ। नेपालभर नेरुले मात्रै कानूनी मान्यता पाउँछ। भारु १ सय रुपैयाँ नेपालमा १ सय ६० हुनेछ।’
यो घोषणाले धेरैलाई आश्चार्यमा पार्यो। कार्यान्वयन हुनै सक्दैन भन्ने धेरै थिए। तर, कार्यान्वयन भयो।
‘रिजर्भ बैंक अफ इन्डियाबाट एक जना एडभाईजर नेपाल आएका थिए। उनी राष्ट्र बैंकमा बसेर काम गर्दथे। हामी यही काममा लागेका थाहा पाएपछि उनले यो कार्यान्वयन हुनै सक्दैन भन्थ्ये।
मैले बाजी राखेको थिएँ उनीसँग। ५ रुपैयाँ। हिमालय सम्झन्छन्, ‘कार्यकाल सकिएर उनी बीचमै इन्डिया गए। हामीले गरेको काम अन्ततः सफल भयो। पछि म कोलकत्ता गएको थिएँ। उनी मलाई ग्राण्ड होटलमा भेट्न आए र पाँच रुपैयाँ दिएर गए।’
यो कामका लागि केन्द्रीय कार्यालयमा रिसर्च विभागले काम गरेको हो। गोविन्द प्रसाद लोहनी रिसर्च प्रमुख थिए। राष्ट्र बैंकको कार्यालय मुख्यमुख्य स्थानमा थिए। विराटनगर, जनकपुर, वीरगञ्जदेखि कञ्चनपुरसम्मका विभिन्न स्थानमा शाखा र सटही डिपो राखेर काम सम्पन्न गरियो।
हामीले काम सुरु गर्दा महेन्द्र राजमार्ग पनि बनेको थिएन। तीन वर्ष अध्ययन गरेरै भारतीय र नेपाली रुपैयाँको दररेट राखेका थियौं। तर, त्यसको कार्यान्वयन गर्न त कैलालीदेखि झापासम्म शाखा, उपशाखा, सटही डिपोहरूमा भारु नेरुको स्टक राख्नुपर्दथ्यो। जुन दिन दररेट सार्वजनिक हुन्छ, नोट साट्न आएका दिन त्यही दरमा साट्नुपर्ने भयो। वितरण गरी सबैको माग धान्न हम्मेहम्मे पर्यो।
'त्यतिबेला इन्डियन राजदूतावासमा निवेदन दिएर यताबाट ट्रकका ट्रक नेपाली र भारु नोट पठाएर कैलालीदेखि झापासम्म स्टक पुर्यायौं। बहुतै गाह्रो भयो,' उनले थपे, 'तर, हामीले सफल व्यवस्थापन गर्न सक्यौं।'
'त्यतिबेलाको प्रशासनिक संरचना र स्रोत साधनलाई हेरेर यो कार्यान्वय हुनै सक्दैन भन्ने प्रशस्तै थिए। तर, कार्यान्वयन भएपछि निकै प्रशंसा पनि कमायौं,' हिमालय भन्छन्, 'नोट साट्न आउँदा स्टक सकियो भने पुनः वितरण गर्न उपाय निकालिसकेका थियौं।'
भारतीय रुपैयाँसँगको विनिमय दर लागू भएपछि त्यसको आलोचना गर्ने मान्छेहरू हुनु स्वभाविकै थियो। तीव्र आलोचनापछि नेपाली रुपैयाँ अवमूल्यन भयो। दर कम भएर भारतीय सय रुपैयाँको नेपाली १ सय ३५/३६ पनि भयो। तर, त्यो लामो समय टिक्न सकेन।
६३ वर्षसम्म पनि त्यही कायम छ। त्यसको महत्व त्यतिबेला आफूलाई थाहा नभएको उनी बताउँछन्। तर, पछि तराईकै मानिसहरू आएर भने, ‘हामी नेपाली नागरिक हौं भन्ने अनुभूति नै थिएन। किनभने हामी सबै भारुमै कारोबार गर्थ्यौं। हाम्रो विद्यालयमा पनि राजेन्द्रप्रसाद राष्ट्रपति र जवारलाल नेहरू प्रधानमन्त्री भनेर पढिराखेका थियौं। ए! हामी त नेपाली नागरिक रहेछौं भन्ने नेपाली मुद्रा चलनचल्तीमा आएपछि थाहा भयो।’
अर्को, लाहुरेहरूको तलबलगायत नेपालीले जति वैदेशिक मुद्रा कमाउँथे त्यो पहिले रिजर्भ बैंक अफ इन्डियामा जान्थ्यो। नेपाल सरकारलाई वैदेशिक मुद्रा चाहियो भने दूतावासमा पैसा पठाउनु पर्यो भनेर रिजर्भ बैंक अफ इन्डियालाई निवेदन पठाउँनुपर्थ्यो।
पछि बैंक अफ इंग्यान्डसँग कुरा गरेर त्यहाँ खाता खोलेपछि विनिमय दरमा पनि नेपाल स्वतन्त्र भयो। राष्ट्र बैंक खडा भएपछि माल अड्डालगायत ठाउँबाट नगद भुक्तानी हुनुको साटो चेकबाट रकम भुक्तानी हुन थाल्यो। ठूलो–ठूलो कारोबार गर्दा हजार–हजार, दश हजारका थैला गाढामा राखेर पठाउनुपर्ने, भरिया बोकेर पठाउनुपर्ने अवस्थाको अन्त्य भयो। अनि, नेपालको अर्थतन्त्रमा पनि आधुनिकीकरणको सुरुवात भयो।
राष्ट्र बैंकको स्थापनापछि नेपाली अर्थतन्त्रको एकीकरण प्रक्रिया सुरु भएको थियो। नेपाल भनेको त्यतिबेला पनि उपत्यका मात्रै होला मानिथ्यो। तर, पछि तराई पनि नेपाल नै रहेछ भन्ने तराईवासीहरूले अनुभूति गर्न पाएछन्, हिमालय स्मरण गर्छन्।
नेपाली नोट छापिन जुद्धशमशेरको पालादेखि नै सुरु भएको थियो। तर, बैंक खडा भएपछि त्यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थित गर्ने काम हिमालय शमशेरकै नेतृत्वमा सुरु भएको हो।
पहिले नेपाली नोट नासिक प्रिन्टिङ प्रेसबाट छापिन्थ्यो। पछि नोटको गुणस्तरीयता र डिजाइन पनि राम्रो बनाएर टेन्डरमार्फत बेलायतको डिडारु कम्पनीमार्फत छाप्न थालिएयो।
नोट निस्कासन गर्दा अपनाउनुपर्ने प्रक्रिया पनि निर्धारण भयो। नोटको सुरक्षा, अन्धाधुन्ध नोट छाप्न नपाइने, सय रुपैयाँको नोट निस्कासन गर्न ५० रुपैयाँको सुन, चाँदी, विनिमय दर राख्नुपर्नेलगायतको नियम बनाएर लालमोहर लगाइएको थियो।
चलनचल्तीमा आएपछि मैलिएका र धुलिएका नोटको रेकर्ड राख्ने र जलाउने, त्यसको सट्टा नयाँ नोट दिनेबारे पनि वैज्ञानिक तवरले नियम लागू गरियो। पछि राष्ट्र बैंकमा नोट निस्कासन विभाग खडा नै गरियो।
अहिले प्रशासनिक क्षेत्रको सेवा र कर्मचारीलाई लिएर निकै आलोचना हुन्छ। निकै कम स्रोत र साधनमा पनि लक्ष्य अनुरुपको काम हुनुमा 'लिडरसिप' नै मुख्य भएको हिमालयको अनुभव छ।
काम गर्ने व्यक्तिलाई ठूलो जिम्मेवारी सुम्पिएको छ, त्यो सफल पार्नुपर्यो भनेर हौसला प्रदान गरेको हुनाले अहिले पनि राष्ट्र बैंकमा काम गर्ने कर्मचारीहरू गर्व गर्छन्।
दुई हात फैलाउँदै उनले पनि गर्व गर्न छुटाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।