'उन्मुक्त पुस्ता' अभियानमा सामेल कवि प्रकाश गुरागाईंको कवितासंग्रह ‘खुट्टामा श्रीपेच’ हालै सार्वजनिक भएको छ। वैचारिक रूपमा प्रतिबद्ध कविको छवि बनाएका गुरागाईंले राजनीतिक चेतलाई कलात्मक तवरले कवितामा प्रस्तुत गर्छन्। व्यंग्यात्मक शैलीमा राजनीतिक विषयलाई पेचिलो प्रहार गर्ने कवि गुरागाईं समाजका सीमान्तकृतका आवाज कवितामार्फत भर्ने गर्छन्। पत्रकारिता र लेखनलाई एकसाथ अघि बढाउँदै गरेका गुरागाईंको कवितासंग्रहका विषयमा केन्द्रित भएर नेपाल लाइभले गरेको छोटो कुराकानी:
तपाईंले भर्खरै ‘खुट्टामा श्रीपेच’ कविता संग्रह ल्याउनुभयो। कविताको शीर्षकले तपाईंका कवितालाई कसरी न्याय गर्छन्? तपाईंले लेखिरहेका कवितासँग श्रीपेचको ऐतिहासिक सम्बन्ध पनि छ कि?
संग्रहमा ४१ कविता छन्। ‘खुट्टामा श्रीपेच’ पुस्तकको नाम त हो नै कुनै एउटा कविताको शीर्षक पनि हो। यसमा धेरै भाव, शैली र समयका कविता छन्। त्यसकारण एउटै शीर्षकले सबै कवितालाई न्याय गर्छ भन्ने हुँदैन। तर, यो नामले मेरा कविताको धारालाई भने न्याय गरेको छ जस्तो लाग्छ। श्रीपेचको ऐतिहासिकता बेग्लै छ।
यो एउटा सामन्तवादको बिम्ब हो। श्रीपेच कुनै मजदुर वा किसानले लगाउँदैन। यो लगाउने मान्छेले आफूलाई उच्च नै ठान्छ। महामानव ठान्छ। कवितामा भने मैले यसलाई फरक ढंगले प्रयोग गरेको छु। सामान्य मान्छे सिंहदरबार प्रवेश गरेपछि कसरी परिवर्तन भइरहेको छ भन्ने कवितामा उतारेको छु।
संग्रहका कविताहरूमा सीमान्तकृतको आवाजलाई मुखारित गर्ने कोसिस गर्नुभएको छ। पाठकको प्रतिक्रियालाई परै राख्ने हो भने त्यसमा आफू कति सफल भएको जस्तो लाग्छ?
कविताको सफलता र असफलता पाठक प्रतिक्रियालाई पर राखेर गर्न सकिँदैन। मेरा कविताले पाठकलाई प्रभावित गरेनन् वा असमानता, विभेद र अन्यायविरुद्ध बोल्न प्रेरित गरेनन् वा कविताले एकपटक सोच्न बाध्य पारेन भने त्यो सफल होइन। यसको अर्थ सबै कविता उत्तिकै शक्तिशाली हुन्छ भन्ने हुँदैन। त्यो पाठकको परिस्थिति, तत्कालीन अवस्था, सोच, समाज, पेसालगायतबाट पनि प्रभावित हुन्छ। पाठक मूल्यांकन गर्ने न्यायाधीश पनि हुन्। त्यसैले म पाठकलाई परै राखेर मेरा कविता यस्ता वा उस्ता भनेर आत्मप्रशंसा गर्न सक्दिनँ।
तपाईं उन्मुक्त पुस्ता साहित्यिक आन्दोलनको एक सदस्य हुनुहुन्छ। यस आन्दोलन व्यक्तिगत रुपमा तपाईंका लागि के हो? व्यक्तिगत रुपमा तपाईंहरूले उठाएको इस्यु उठिरहेकै थिए। तर तपाईंहरु संगठित रुपमै के कारणले आउनुभयो। यो आन्दोलन किन आवश्यक देख्नुहुन्छ?
उन्मुक्त पुस्ता सामूहिक रुपमा जे हो, व्यक्तिगत रुपमा पनि मेरो लागि त्यही नै हो। यो विभेद, अन्याय, शोषणविरुद्ध साहित्यमार्फत उठाइएको आवाज हो। पहिचानको पक्षमा उठाइएको आवाज हो।
अर्थात सांस्कृतिक परिवर्तनका लागि गरिएको साहित्यिक आन्दोलन हो। हो, यसअघि पनि यी मुद्दा यो वा त्यो रुपमा उठेका हुन्। हामीले कुनै नयाँ कुरा गरेको होइन। तर, मुद्दा उठाउने तरिका र लेख्ने तरिका भने नयाँ हो।
यसअघि विभेदमा परेका समुदाय, वर्ग वा जात आफू एक्लाएक्लै संघर्षमा थिए। हामीले एकीकृत संघर्ष गर्नुपर्छ भनेका छौ। हाम्रो कवितासंग्रह ‘आफर’ले पनि हाम्रो संघर्षको रुप स्पष्ट पारेको छ। दलित र गैरदलितले संयुक्तरुपमा विभेदविरुद्ध धावा बोल्दै लेखिएका कविताको संयुक्त संग्रह आएको नेपाली साहित्यको इतिहासमा नै यो पहिलो हो।
यो कृतिले वर्ष ०७५ को पहिचान पुरस्कार पनि पाएको छ। हाम्रो आन्दोलनको घोषणापत्र आफरमै पनि प्रकाशित छ। त्यसले हाम्रो आन्दोलन किन फरक छ भन्ने स्पष्ट पारेको छ।
तपाईंका कविताहरुले विशेषगरी दलितको विषयलाई निकै मजाले उठाएको छ। आफूभन्दा फरक समुदायको विषयलाई कविताको फ्रेममा हाल्दाका तपाईंका अनुभूति कस्ता छन्। के कारणले न्याय गर्न सकेँ जस्तो लाग्छ?
जातीय विभेदको बिउ रोप्ने कथित उपल्लो जाति हुन्। म पनि त्यही विभेद रोप्ने जातिको सदस्य। त्यसैले म विभेदमा परेको समुदायको पीडा अनुभूति गर्न सक्दिनँ। मात्र मेरो अनुमान छ। तर, उपल्लो जातिहरुले इतिहासमा गरेको विभेदका लागि दलितसँग क्षमा माग्नुपर्छ।
समानताको अभियानमा साथ दिनुपर्छ। त्यसकारण मेरा कविता दलितमाथि भएको विभेदलाई चिर्ने ढंगले लेखिएका हुन्। यो उन्मुक्त पुस्ताको आन्दोलनको प्रमुख विषय पनि हो।
तपाईंको यो पहिलो एकल कविता–किताब। योभन्दा पहिला ‘आफर’ संयुक्त संग्रह ल्याउनुभएको थियो। मुद्दाको हिसाबले सायद तपाईंका एकल र संयुक्त किताब मिल्छन्। तर शैलीगत, संरचनागत विषयमा एकल कविता–किताबमा कुनै नयाँ प्रयोग गर्नुभएको छ र?
आफरमा जातीय विभेदविरुद्धका कविता मात्र छन्। त्यसमा पनि विभेदको पिँधमा पारिएका दलित समुदायसँग सम्बन्धित कविता छन्। तर, मेरो पुस्तक खुट्टामा श्रीपेच कुनै विषय निर्धारण गरिएर लेखिएका कविताको संग्रह होइन। यसमा धेरै प्रकारका कविता छन्। शैलीमा पनि केही नयाँ प्रयोग गर्न खोजेको छु। जस्तो, अधिकांश कविताको पहिलो प्याराग्राफ तीन लाइनका छन्।
त्यस्तै अन्तिम कविता ‘भ्युटावर’मा नयाँ लेखनशैलीको प्रयोग गरेको छु। हुन त शैली भनेको प्रस्तुतिको तरिका मात्र हो। त्यो तरिका पनि मिठो भयो भने कविताको भावलाई बलशाली बनाउँछ। त्यस्तै केही कविताहरुमा पूर्वी भागको ऐतिहासिक, भौगोलिक र जातीय बिम्बहरु छन्। त्यसले मेरो भूगोल र संस्कृति जनाउँछ।
तपाईहरुको संयुक्त संग्रह ‘आफर’ले पहिचान पुरस्कार पायो। पुरस्कार आफरलाई नै किन दिइयो। कहीँकतैं आलोचना भएको पनि सुनिएको छ। त्यसलाई कसरी लिनुहुन्छ?
आलोचना कस्तो हो र के विषयमा हो त्यो त मलाई थाहा भएन। आफरलाई नै किन पुरस्कार दिइयो भन्ने त मलाई भन्दा दिने संस्थालाई सोध्नु उपयुक्त हुन्छ। मलाई लाग्छ उन्मुक्त पुस्ताले दलितको अधिकार र पहिचानको पक्षमा गरेको संघर्षका लागि दिइएको हो।
तपाईं १०/१२ वर्षअगाडि नै रेडियो नेपालको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम हुनुभएको थियो। यहाँ अधिकांश कविहरु एक/दुई वटा प्रतियोगिता जितेपछि कविता संग्रह ल्याउन हतार गरिहाल्छन्। तर तपाईंले यति लामो समय किन लगाउनुभयो?
प्रतियोगिता जित्नु र पुस्तक ल्याउनु फरक कुरा हो। प्रथम भएपनि मेरा कविता परिस्कृति थिएनन्। वैचारिक स्पष्टता पनि थिएन। त्यही कारण मैले प्रतियोगितामा प्रथम भएको ‘सगरमाथा सगरमाथा हो’ कविता यो संग्रहमा राखेको छैन। मलाई अब चाहिँ पुस्तक निकाल्दा ठिकै होला भन्ने लागेपछि प्रकाशन गरेको हुँ। यसमा साथीभाइको हौसला र प्रकाशकको उत्प्रेरणा पनि छ।
तपाईं नन–फिक्सन पनि लेखिरहनुभएको छ भन्ने सुन्नमा आएको छ। कविता लेखिरहेको एउटा कविलाई नन–फिक्सनतिर चाहिँ कसरी रुचि जाग्यो नि?
हो, म गैरआख्यानमा काम गरिरहेको छ। कविता र गैरआख्यान लेखनीको हिसाबले फरक भएपनि दुवै लेखकबाटै हुने काम हो। म पत्रकारितामा संलग्न भएको हिसाबले पनि दैनिक लेखन र सम्पादनमा संलग्न भएकै हुन्छु। यसरी समाचार लेख्दा लेख्दै गैरआख्यानको विषय दिमागमा आएको हो। तर, लेखिसक्न अलि समय लाग्छ। कम्तीमा ०७६ भरि चाहिँ मेरो यो पुस्तक आउँदैन।
अन्तिममा, यो कविता–किताब बजारमा ल्याउँदै गर्दा तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?
निश्चय नै खुसी लागेको छ। राम्रो प्रतिक्रिया पाइरहेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।